शुक्रबार, चैत १६, २०८०

बैंकका सीईओ सञ्चालक समितिमा जम्दैँ

नेपालखोज २०७६ मंसिर २८ गते ११:००

२८ मंसिर, काठमाडौं । बैंकर सुदेश खालिङ केही साता अघिमात्रै सिटिजन्स बैंकको सञ्चालकमा नियुक्त भए । लामो समय बैंकको कर्मचारी भएर काम गरेका खालिङ पछिल्लो समय लक्ष्मी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) थिए । सीईओको कार्यकाल सकिएपछि केही महिना विदेश पुगेका खालिङ अहिले बैंकको नीति निर्माण गर्ने तहमा पुगेका हुन् । खालिङ भन्दा अघि सिटिजन्स बैंककै सीईओको रुपमा लगातार २ कार्यकाल काम गरेका राजनसिंह भण्डारी अहिले सोही बैंकको अध्यक्ष भएका छन् ।

बैंकको सञ्चालक समिति व्यवस्थापिका अर्थात नीति बनाउने एउटा प्रमुख अंग हो । नेपालमा व्यवस्थापिका सांसदले बनाएको कानून कार्यान्वयन गर्न कार्यकारी अधिकारसहितको सरकार भएजस्तै बैंकमा प्रमुख कार्यकारी अधिृकत (सीईओ) हुन्छन् । सञ्चालक समितिले गरेका निर्णयहरु बैंकका सीईओले नै कार्यान्वयन गराउँछन् ।

तिनै कार्यकारी अधिकारसहित बैंकको नेतृत्व गरिरहेका बैंकरहरु आफ्नो कार्यकाल पूरा भएसँगै बैंकको बोर्ड (सञ्चालक समिति) मा जाने क्रम बढेको छ । सञ्चालक बैंकका लगानीकर्ताबाट चुनिन्छन् भने सीईओको नियुक्ती सञ्चालक समितिले गर्छ । एक व्यक्ति २ कार्यकालभन्दा बढी एकै बैैंकमा सीईओ हुन नपाउने कानूनी व्यवस्था छ । यसकारण पनि सीईओको पदावधि सकिनेवित्तिकै बैंकरहरु सञ्चालक समितिमा जाने गरेका हुन् ।

को–को पूर्वसीईओ बने सञ्चालक ?
खालिङ र भण्डारी मात्रै होइन धेरै बैंकका सीईओ आफ्नो कार्यकाल पूरा गरेपछि बैंकको सञ्चालक भएका छन् । सीईओको पदावधि सकिएपछि बैंकको सञ्चालक बन्नेहरुमा पृथ्बीबहादुर पाँडे, उपेन्द्र पौडेल, राधेश पन्त, कृष्णप्रसाद शर्मा, किशोर महर्जन, उदयकृष्ण उपाध्यायलगायत छन् ।
प्रमुख कार्यकारीबाट सञ्चालक समितिमा गएका पृथ्बीबहादुर पाँडे अहिले पनि नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष हुन् । उनले इन्भेष्टमेन्ट बैंकको कार्यकारी अध्यक्षको रुपमा लामो समय काम गरेका थिए । बैैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया)ले सञ्चालक समितिमा बसेको व्यक्ति कार्यकारी प्रमुख बन्न नसक्ने व्यवस्था गरेपछि सञ्चालक समितिमा मात्रै बसेका हुन् ।

कृष्णप्रसाद शर्मा
कानून बनाउने र कार्यान्वयन गर्ने व्यक्ति फरक हुनुपर्ने भन्दै बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनमा यस्तो व्यवस्था गरिएको छ । अर्का चर्चित बैंकर उपेन्द्र पौडेल अहिले नेपालको पहिलो ज्वाइन्ट भेञ्चरको बैंक नविलको सञ्चालक समितिमा छन् । वाणिज्य बैंकका सीईओहरुको छाता संस्था बैंकर्स संघको अध्यक्षसमेत भइसकेका उनी एनएमबी बैंकमा कार्यकाल सकिएपछि नविलको सञ्चालक बनेका हुन् ।

अर्का पूर्वबैंकर राधेश पन्त पनि अहिले बैंक अफ काठमाण्डूको सञ्चालक समिति सदस्य छन् । उनी बैंक अफ काठमाण्डू, कुमारी बैंक लगायतको कार्यकारी प्रमुख भइसकेका व्यक्ति हुन् । उनी लगानी बोर्डको समेत सीईओ थिए । कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत भइसकेका उदयकृष्ण उपाध्याय पनि युनाइटेड इन्स्योरेन्स कम्पनीको अध्यक्ष बनेका थिए । गत शुक्रबार मात्रै जनता बैंक र ग्लोबल आइएमई बैंक मिलेर बनेको नेपालकै ठूलो वाणिज्य बैंकको सञ्चालक समितिमा कृष्णप्रसाद शर्मा छन् । उनी पनि पूर्वसीईओ हुन् । नेपालको एकमात्रै पूर्णसरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको कार्यकारी प्रमुख भइसकेका शर्मा ग्लोबल आइएमई बैंकको सञ्चालक बनेका हुन् ।

ललितपुर पेट्रियट्स नामक क्रिकेट टिमको अध्यक्षसमेत रहेका किशोर महर्जन पनि सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत भइसकेका व्यक्ति हुन् । सीईओको कार्यकाल सकिएपछि उनले क्रिकेट क्लबको नेतृत्व गरे । उनी प्रोग्रेसिभ फाइनान्स कम्पनीको सञ्चालक समिति अध्यक्ष छन् । विकास बैंकका सीईओहरुको छाता संगठनको अध्यक्षसमेत भइसकेका भरतराज ढकाल मुक्तिनाथ विकास बैंकमा दुई कार्यकाल सीईओ भएर बाहिरिए । अहिले उनी सोही बैंकको अध्यक्ष बन्ने तरखरमा छन् ।

प्रतिक्रिया