बिहीबार, मंसिर ११, २०७७

वैदेशिक रोजगारीका नाममा हराउने बढे

नेपालखोज २०७६ पुष १ गते ७:१०

१ पुस, काठमाडौं । ‘मेरो श्रीमान् (सुप्ले राई) रोजगारीका लागि मलेसिया गएको १० वर्ष भो । दुई वर्षदेखि जिउँदो मरेको केही पत्तो छैन खोजिदिन प¥यो, म कहाँ जाउँ कसलाई भनौँ, यो भनिरहँदा सिन्धुलीकी सविता राईको गला अवरुद्ध मात्रै भएको थिएन आँखाबाट बरबर आँसु बगिरहेको थियो । अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसका अवसरमा नेपाल रेडक्रस सोसाइटी विपद् व्यवस्थापन विभाग र प्रवासी नेपाली समन्वय समितिले सोमबार राजधानीमा आयोजना गरेको कार्यक्रममा उहाँले आफ्नो पीडा सुनाउनु भएको हो ।

श्रीमान् सुप्ले मलेसियामा रहेकी फिलिपिन्स महिलासँग विवाह गरेर घरजम गरी बसेकाले सम्पर्कमा नआएको भन्ने सूचना श्रीमती सवितालाई थाहा छ तर कुन ठाउँमा के काम गर्छन् के कस्तो अवस्थामा छन् त्यो पनि थाहा छैन । तीन छोराछोरी र श्रीमतीलाई स्वदेशमा छोडेर उज्ज्वल भविष्यका लागि मलेसिया हानिएका सुप्ले एकाएक सम्पर्कविहीन भएपछि छोरोछोरीको लालनपालनको सम्पूर्ण जिम्मा अहिले सविताको थाप्लोमा छ । काठमाडौँको कोठा भाडा तिर्न नसकेर सडकमा आउनु पर्ने अवस्था आएको भन्दै सविताले भन्नुभयो, मेरो श्रीमान्लाई जसरी हुन्छ
नेपाल झिकाइदिनुहोस् ।

यस्तै गोरखाकी पूजा गुरुङको पीडा त सविताको भन्दा पनि अझै भयावह छ । भर्खर विवाह गरेकी श्रीमतीलाई भविष्यका ठूला सपना बाँडेर छ वर्षअघि साउदी गएका श्रीमान् (गणेश गुरुङ) छ महिनापछि सम्पर्कमै हुनुहुन्न । पूजाले श्रीमान्को अवस्थाबारे केही जानकारी नभएकाले उहाँलाई स्वदेश फर्काउन सरकार र सरोकारवाला निकायसँग सोही कार्यक्रममै अपिल गर्नुभयो । सविता र पूजा त प्रतिनिधि घटना मात्रै हुन । वैदेशिक रोजगारीका क्रममा विदेश गएर बेपत्ता भएका घटना धेरै छन । अझ पछिल्लो समयमा युरोप अमेरिकाको सपना देखेर लाखौँ रकम खर्चेर भएका घटना र सङ्ख्या अझै डर लाग्दो छ तर यसको आधिकारिक तथ्याङ्क कुनै पनि सरकारी गैरसरकारी निकायसँग छैन । यो खबर आजको गाेरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया