शुक्रबार, वैशाख ७, २०८१

संसदको हिउँदे अधिवेशन ११ गतेसम्मका लागि स्थगित

नेपालखोज २०७६ पुष ४ गते १७:१८

४ पुष, काठमाडौँ । प्रतिनिधिसभाको बैठक ११ गतेसम्मका लागि स्थगित भएको छ । आज शुक्रबारबाट सुरु भएको हिउँदे अधिवेशनको पहिलो बैठक पूर्वसांसद हरिवैरागी दाहाल, कमलाकुमारी घिमिरे, रामलखन महतो र रामेश्वर ढुंगेलको शोक प्रस्ताव पारित गरेसँगै स्थगित भयो ।

११ मिनेट चलेको बैठकको अध्यक्षता गरेकी उपसभामुख शिवमाया तुम्वाहाङ्फेले आरम्भमै राष्ट्रपति विद्यादेवी भण्डारीबाट अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाएकी थिइन् । त्यस्तै राष्ट्रपति कार्यालयबाट आएको मन्त्रिपरिषद् पुनःगठनसम्बन्धी पत्र पनि वाचन गरी सुनाएकी थिइन् ।

त्यसपछि पूर्वसांसद् ढुंगेल, महतो, घिमिरे, दाहालको निधनप्रति शोक प्रस्ताव पारित गरेसँगै शुक्रबारको बैठक सकियो । पूर्वसांसद दाहालको असोज ३ गते निधन भएको थियो ।

घिमिरेको कात्तिक ९ गते आफ्नै निवास भक्तपुरको लोकन्थलीमा निधन भएको थियो । महतोको ६६ वर्षको उमेरमा कात्तिक १५ गते निधन भएको थियो । ढुंगेलको पुस १ गते त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा निधन भएको थियो ।

प्रतिक्रिया