आइतबार, असार २२, २०८२

खण्डग्रास सूर्यग्रहण केहि बेरमा लाग्दै, ११ः३१ मा समाप्त हुने

नेपालखोज २०७६ पुष १० गते ८:०६

१० पुष, काठमाडौँ । खण्डग्रास सूर्यग्रहण केहिबेरमा लाग्दै छ । नेपाल पञ्चांग निर्णयक समितिका अनुसार अहिले बिहान ८ः४२ मिनेटमा ग्रहणले स्पर्श गर्नेछ । पश्चिम र नैऋत्य कोणको बीचबाट बिहान ग्रहण सुरु हुनेछ । बिहान १०ः०१ बजे मध्य हुने ग्रहण ११ः३१ बजे समाप्त हुने पञ्चांग निर्णयक समितिले जनाएको छ ।

नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले राससलाई बताए अनुसार, ग्रहण लाग्नुभन्दा चार प्रहर (१२ घण्टा) अघि अर्थात् पुस ९ गते बेलुकी ८ः४२ देखि बालक, वृद्ध र रोगी बाहेकले भोजन गर्नु हुँदैन । शास्त्रीय रूपमै यीबाहेकका व्यक्तिमा भोजन निषेध गरिएको उनको भनाइ छ ।

ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न भने शुभ हुन्छ भन्ने शास्त्रीय मान्यता छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम मानिन्छ । ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।

ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुङ्गुर भएर जन्मने, सिङ्गार पटार गरे कुष्ठ रोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने उल्लेखित धार्मिक ग्रन्थमा वर्णन गरिएको छ ।

सूर्य ग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्रग्रहणमा तीन प्रहर (नौ घण्टा) अघिदेखि सुतक लाग्ने धर्मशास्त्रविद्समेत रहेको गौतमले बताए । सुतक लागेपछि भोजन गर्नु नहुने धार्मिक विश्वास छ ।

ग्रहण हेर्नु कर्कट, तुला, कुम्भ र मीन राशि हुनेहरुका लागि राम्रो छ । बाँकी राशिकालाई शुभ फल नदिने समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख गरिएको छ । मेष राशि हुनेलाई माननाश, वृषलाई कष्ट, मिथुनलाई स्त्रीपीडा, कर्कटलाई सौख्य, सिंहलाई चिन्ता, कन्यालाई व्यय, तुलालाई श्रीप्राप्ति, वृश्चिकलाई क्षति, धनुलाई घात, मकरलाई व्यय, कुम्भलाई लाभ र मीनलाई सुख प्राप्तिको फल प्राप्त हुने जनाइएको छ ।

शुभ फल मिल्ने राशि भएकालाई पनि सूर्यग्रहण प्रत्यक्ष आँखाले भने नहेर्न समितिले आह्वान गरेको छ । कुनै भाँडामा पानी राखेर वा सुरक्षितयन्त्रका माध्यमबाट सूर्यग्रहण हेर्न सकिने छ ।

प्रतिक्रिया