शुक्रबार, वैशाख १४, २०८१

पर्यटक तान्न खोज्दै स्थानीय सरकार

नेपालखोज २०७६ पुष ११ गते १४:५०

११ पुष, काठमाडौं । प्रदेश नं ५ का स्थानीय सरकार आफ्ना पालिकालाई पर्यटकीय स्थल बनाउन धार्मिक तथा पर्यटकीय स्थलको प्रचार–प्रसार गर्न तथा त्यसका लागि चाहिने भौतिक संरचना निर्माण गर्न लागेका छन् ।

स्थानीय सरकारको यस कार्यलाई प्रदेश सरकारले पनि साथ दिएको छ । सङ्घीय संरचना लागू भएर स्थानीय बासिन्दाले गाउँमै सेवा पाउन थालेपछि सदरमुकाम सन्धिखर्कमा चहलपहल हराउँदै जान लागेको थियो । नगरपालिकामा पहिलेकै जस्तो चहलपहल बनाउन नगरपालिकाले विभिन्न गतिविधि गरिरहेको छ ।

सन्धिखर्क्भित्रका सांस्कृतिक एवं ऐतिहासिक क्षेत्रको संरक्षणसँगै पर्यटनका लागि आवश्यक संरचना निर्माणमा सन्धिखर्क नगरपालिकाले जोड दिएको छ । शान्ति बगैँचाको आधुनिकीकरण तथा व्यवस्थापन अभियान अन्तिम चरणमा पुगेको छ । अभियान शुरु भएको एक वर्षमै बगैँचाको मुहार फेरिएको छ । शान्ति बगैँचालाई पर्यटकीय गन्तव्य बनाउन लागिएको हो ।

सन्धिखर्क बजारको बीचमा रहेको शान्ति बगैँचामा आँपका रुखमात्र थिए । अहिले त्यहाँ बुद्धको मूर्ति राखिएको छ । सबै ठाउँमा फूल रोपण र पानीका फोहराको व्यवस्था गरी यसलाई उद्यान बनाउन थालिएको सन्धिखर्क नगरपालिकाका प्रमुख कमलप्रसाद भुसालले बताए । उनले शान्ति बगैँचालाई व्यवस्थित गरेर अशान्ति भएको समयमा बगैँचामा आएपछि मन शान्त हुने खालको बनाउन थालिएको बताए ।

प्रतिक्रिया