बिहीबार, वैशाख १३, २०८१

विलासितासँग बिक्री भएको विद्यार्थी आन्दोलन !

नेपालखोज २०७६ पुष १२ गते ८:५६

१२ पुस, काठमाडौँ । “जयन्तु संस्कृतम आल्दोलन” को विरासतसँग जोडिएको विद्यार्थी राजनीति शिक्षामा कर्मकाण्डमात्र नभइ राजनीतिक, भुगौल, अर्थशास्त्र जस्ता विषयहरु समावेश गरिनु पर्दछ भनि देखाउन शैक्षिक मुद्दा तथा मुलत जहानिय राणा शासनको निरकुशताको आम रुपमा विरोध गर्नु थियो ।

यससँगै राजा महेन्द्रले २०१७ पौष १ गते जननिर्वाचित सरकारलाई (अपदस्त ) “कु” गरी शिशु प्रजातन्त्रको घाटी रेटेपछि प्राय राजनीतिक दलका क्रियाकलाप निश्क्रिय भएकाबेला विद्यार्थी आन्दोलनले ०३६ सालको (आन्दोलन) जनमत संग्रह, ०४६ सालको बहुदलिय व्यवस्था पुनः स्थापनासँगै शैक्षिक तथा राजनीतिक मुद्दालिई निर्वाह गरेको भुमिका इतिहासमा नेपाली विद्यार्थी आन्दोलनको स्वर्णम काल खण्डका रुपमा लिइन्छ । त्यसपछिको समय घटनाक्रमसँगै ०५२ देखि ०६२ सम्मको विद्यार्थी आन्दोलन करिब औषत रुपमा अगाडी बढेको देखिन्छ ।

समयले केवल भित्ते पात्रोमात्र फेरेन भित्ताको रुप रङगनै परिवर्तन गरिदियो । आधुनिकता, बजार व्यवस्था र प्रचारवाद बढ्दै गयो । पूँजी मोह, पूँजी संचितकरण र सुविधा भोग जस्ता कारणबाट विद्यार्थी आन्दोलनले आफ्नो लय विगार्न थाल्यो ।

दिउँसो खुल्ला मञ्चमा घण्टौँसम्म चर्काे भाषण गर्ने विद्यार्थी नेताहरु सन्ध्याकालमा उनै पूँजीपतिका भान्सामा अतिथीका रुपमा सरिक भैरहेका छन् ।

कुरा यतिमा मात्र सिमित छैन यहाँ त निजी विद्यालयका सञ्चालकहरुसँग विद्यार्थी आल्दोलनका मुद्दा नै सोदोबाजी हुने, आफु नजिकका नेता तथा आफन्तका छोरा छोरीका लागि भर्ना कोटा माग गर्ने, विना विल भर्पाइ चन्दा माग गर्ने काम भैरहेका प्रशस्तै उदाहरण छन् । अझ् शिक्षामा लुटको व्यापारका सहयोगी पनि अहिलेको विद्यार्थी राजनीति भैरहेको देखिन्छ ।

विद्यार्थीका जायज माग र मुद्दामाथि आवाज नउठाएरै पन्छिरहेको वा कर्मकाण्डी रुपमा आवाज उठाउने रोगले ग्रस्त छ विद्यार्थी राजनीति । आफू निकटका व्यवसायिकालागि निजी क्षेत्रबाट शिक्षामा लगानी गर्ने नेताहरु समक्ष विचौलियाका रुपमा समेत काम गरिरहेको पाईन्छ विद्यार्थी राजनीति गर्नेहरुले । विश्वविद्यालयबाट सम्बन्धन तथा अनुमति माग गर्ने कुरामा चलखेलको काम अधिंकाश विद्यार्थी नेताहरुले नै गरिरहेको पाईन्छ ।

विद्यार्थी आन्दोलनका रुपमा जहिलेपनि सरकारसँग प्रतिपक्षीको भुमिकामा बस्नु पर्ने विद्यार्थी नेताहरु नै शिक्षा मन्त्री वा अन्य मन्त्रीको स्वकिय सचिवकालागि ठुलो कसरत गरिरहेका हुन्छन् । विद्यार्थी नेताहरु यसरी सरकार पक्षधर बन्नकालागि दौडिनुले समेत विद्यार्थी आन्दोलनको अबको बाटो कता जाँदैछ भन्ने प्रश्न चिन्ह उव्जाएको छ ।

नीतिगत तहमा बसी सर्वहारा वादि चिन्तन र चेतना अगाल्नुको सट्टा पूँजीवादी शैलीमा जीवन व्यथित गर्न नेताहरुबाट नीतिगत तहमा शिक्षामा भएका अनेकौ विकृती विसंगति विरुद्ध मौन देखिनु पनी सोचनिय पक्षका रुपमा रहेको छ ।

समाजशास्त्री प्रा.डा.चैतन्य मिश्रका अनुसार आजको विद्यार्थी आन्दोलनले विद्यार्थीका साझा सवालहरु मध्येका महत्वपुर्ण मुद्दा आज जुन शैलीमा जे पढाईरहेको छ त्यो आवश्यक हो की होईन ? हैन भने त्यो पढाउनुमा के राजनीति लुकेको छ ? मौजुदा पठन—पाठनले विद्यार्थीलाई वर्तमान समयमा सघाउँछ कि सघाउँदैन ? यस्ता विश्व विद्यालयसँग आम विद्यार्थीको जिवन जोडिएको छ कि छैन । जाँच कसरी लिइन्छ ? विद्यार्थीको ल्याकतको सही मूल्यांकन हुन्छ की हुदैन ? शिक्षक कक्षामा पढाउन जान्छन्की जाँदैन्न ? शिक्षक कक्षमा आएपनि कस्तो पढाउँछन् ? पुस्ताकालय र प्रयोगात्मकमा आवश्यक सामाग्री छन् की छैनन् ? यि प्रश्न विद्यार्थी राजनितिका मुख्य विषय हुन् । तर प्राध्यापक डा. मिश्रले भनेका सबै मुद्दाका सवालमा अहिलेको विद्यार्थी राजनीतिको चरित्रमा पुरै धुमिल बनिसकेको छ ।

आजको विद्यार्थी आन्दोलनले यी तमाम सवालको चाङमा आफूलाई विराजमानमात्र गराउने की सवालको जवाफ खोज्ने ? निरन्तर रुपमा विश्वविद्यालयमा बढ्दो विद्यार्थी भर्नादर, विश्वविद्यालयको पाठ्यक्रम समय अनुकुल भए नभएको वार्षिक कार्यपात्रो अनुसार विश्वविद्यालयमा काम कारवाही भए नभएको परिक्षा, परिक्षफल प्रकाशन, छात्रवास, पुस्ताकालय आदीका समस्याहरु के आज शिक्षा मन्त्रीसँगै अन्य मन्त्रीका स्वकिय सचिव (पि. ए.)पदसँगै साटिएका हुन् त ?

२०४६ पछि शैक्षिक क्षेत्रमा सबैभन्दा ठुलो परिवर्तन आएको भनिएकै क्षेत्रमा ठुलो मात्रामा निजी क्षेत्रको लगानी भित्रिनुले शिक्षामा बढेको विकृति र विद्यार्थी आन्दोलनको अवस्थालाई प्रस्ट पारेको छ ।

यही पौष १ र २ गते नयाँ पत्रिका राष्ट्रिय दैनिकले अग्रपृष्ठमा छापेको समाचार “महिनावारी हुँदा कोठा वाहिर कक्षा” भनि जुम्ला जिल्लाको समाचार प्रकाशन गर्दा अझै आकलन गर्न सकिन्छ कि हाम्रो शैक्षिक बहसको कडी कहाँबाट सुरुवात गर्ने । यसले विद्यार्थी आन्दोलनका नेता कार्यकर्ता, संगठन, शिक्षा क्षेत्रका आम सरोकारवाला समेतलाई जिस्काइरहेको देखिन्छ ।

विद्यालय तहमा घट्दो विद्यार्थी भर्नादर, बढ्दो कक्षा दोहोरिनेको संख्या, शिक्षक—विद्यार्थी अनुपात, सरकारी विद्यालय प्रति विद्यार्थीहरु र अभिभावकहरुको घट्दो आकर्षण, कमजोर शिक्षा प्रणाली जस्ता पक्षहरु किन आम विद्यार्थी आन्दोलनको चिन्ता र चासो को विषय हुन नसकेका हुन् ?

सुधारको पक्षमा लामा—लामा सुची बोकी हिड्ने विद्यार्थी नेताहरुले पटक—पटक शैक्षिक क्षेत्रमा हुने भष्ट्रचारका सवालमा हामी कसैसँग झुक्दैनौँ भन्दै आएका छन् । के ति विद्यार्थी संगठन र विद्यार्थी नेताहरुले चिकित्साशास्त्र अध्ययनरत विद्यार्थीका आवाज सुन्न पर्दैन ?

परिक्षाको समयमा सेतो “एप्रोन” ड्रेस लगाएर परिक्षा बहिस्कार गर्न पर्ने बाध्यता किन विद्यार्थी आन्दोलको आजको मुद्धा हुन सकेन्न ?

सरकारले एक अध्ययन समिति बनाई चिकित्साशास्त्र अध्यायन गर्न शुल्क समायोजनको सुझाव दिई सोही आधारमा राज्यले निर्धारण गरेको शुल्कमा विद्यार्थी पढ्न नपाएको गुनासो सडकमा मजदुर समेतले सुन्दा विद्यार्थी संगठन र तिनका नेता अनि सरकारले किन देख्न र सुन्न सकेन । यतिमात्र होईन समस्या समाधानको साटो प्रहरी प्रशासनको वलमा विद्यार्थीलाई निर्घात कुटपिट हुने गर्छ । के यो विद्यार्थी आन्दोलनका मतियार हौँ भन्नेले देख्नु अनि सुन्नु पर्ने मापन भित्र पर्दैन ? शैक्षिक सरोकारका विषयमा कसैसँग कुनै पनी किसिमले चुप लागेर बस्दैनौँ भन्दा आजको बौद्धिक समाजले “स्याल हुइया” भन्ने र यसलाई टिप्पणी गर्न नपाउने ?

देशभरीका विभिन्न १४ मेडिकल कलेजहरुले पछिल्लो ३ वर्षमा तिन अर्व रुपैयाँ चिकित्साशास्त्र अध्ययन गर्ने विद्यार्थीहरुबाट ठगी गरेको कुरा विभिन्न सुत्रबाट जानकारी हुँदासमेत न त यस विषयमा विद्यार्थी आल्दोलनले कुनै मुर्त गतिविधि अघि सारेको छ, त राज्य तथा सरकार नै यसलाई गम्भिर रुपमा लिन्छ । बरु आन्दोलनरत विद्यार्थीहरुलाई राज्यले प्रहरी प्रशासनबाट बल प्रयोगगरी कुटपिट गर्दा लाग्छ “चोर लाई चौतारी साधुलाई सुली” जस्तै त भएन ?

हरेक शैक्षिक सत्रसंगै निजी शैक्षिक संस्थाले उठाउने मनपरी शुल्क, वर्षेनी परिवर्तन हुने पाठ्यक्रम, विभिन्न शिर्षकका शुल्क यति मात्रै नभएर पाठ्यक्रम, विद्यालय पोसाक अन्य शैक्षिक सामाग्रीहरु विद्यालयले तोकेकै स्थानबाट खरिद गर्नु पर्ने अभिभावकलाई बाध्यता । निजी शैक्षिक संस्थाका विद्यार्थी वहान तथा भवन मर्मतसमेतको शुल्क विद्यार्थीको नामबाट असुल्नु शैक्षिक क्षेत्रमा शैक्षिक माफियाहरुको नाङ्गो दादागिरी हो भने शिक्षा मन्त्रालय, विद्यार्थी संगठनहरु त्यसका रमिते ।

कर्म काण्डी रुपमा विरोधको भाषमा आउने एक थान विज्ञप्ति, चन्दा लेनदेनको शैलीबाट मथ्थर हुँदै आएका दृष्ठान्त छन् भने निरिह शिक्षा मन्त्रालय र संसदीय समितिमा तिनै शैक्षिक माफियाको बोलावट चल्छ । त्यसैले यहाँनिर “खाए खा नखाए घिच” को अवस्थामा पुगेका विद्यार्थीहरु र तिनका अभिभावकहरुले के सोच्ने ?

दुई वटा शक्क्ति एक आपसमा लडेपनि थिचिने, माडिने दुब्बो (घाँस) नै हो दुई शक्क्ति एक आपसमा माया प्रेममा बाधिएपनि माडिने दुब्बो (घाँस ) नै हो । त्यसैले अबको विद्यार्र्थी राजनीति र ति संगठनका नेताहरु कस्कालागि ? केका लागी जवाफ कहिले दिने ?

आजको समयमा आएर शैक्षिक क्षेत्रका युवाहरुबाटै यस्ता तमाम सवालमा मौन बस्नु बाध्यता की अनिवार्यता ? बाध्यता वा अनिर्वायताको विद्यार्थी राजनीतिसँग नैतिक सम्बन्ध कस्तो छ ? विद्यार्थी नेता कार्यकर्ताहरुले यसको जवाफ दिन पर्दछ । विलासिताको सम्बन्धसँग नजिकको नाता गाँसेर विद्यार्थीका मुद्दालाई बेचियको हो वा के हो ? यस बारे प्रष्ट पार्नुपर्छ विद्यार्थी राजनीति गरिरहेको ताज लिनेहरुले । विद्यार्थी राजनीति गर्नेहरुको दिनाचर्याले त विद्यार्थीका मुद्दासँगको सौदाबाजी चलिरहेकोमा शंका नगर्ने ठाउँ दिदैन ।

शैक्षिक आनदोलनको मसियारका रुपमा आफूलाई चित्रण गर्न विद्यार्थी संगठनका विचौलिया बनेका नेताहरु विहानदेखि बेलुकासम्म क्यापसका क्यान्टिन र चिया पसलमा विद्यार्थी आन्दोलनको चर्को आदेश छाड्दै केही थान कार्यकर्तासँग बसिरहेका देखिन्छन् । जसलाई अचेत आजिवन विद्यार्थी नेताका नामले समेत पुकारेको सुनिन्छ । ति र तिनको संगठनका विद्यार्थी नेताहरुको जिवन शैली हेर्दा लाग्छ कि यी नेपाली विद्यार्थी आन्दोलन भित्रका नेता होईनन् कुनै साउथ फिल्मका खलपात्र हुन् ।

किन कि दिनभर कुनै अर्थोपार्जनका गतिविधिमा संग्लन नरही आफ्ना छोरा छोरी तथा भाई—भतिजाहरुलाई काठमाडौँका महङ्गा निजी विद्यालयमा अध्ययन गराउने,

वास्तविक रुपमा औषत कमाई हुने नेता कार्यकर्ताहरुको सामान्य यात्रा हवाइजहाजबाट हुनु, महङ्गा होटलहरुमा खाजा नास्ता तथा नेता कार्यकर्ताहरुका जन्मदिन तथा विवाह उत्सव मनाउनु,

आफ्नो गुटगत स्वार्थ प्रति गर्न आफ्नो पक्षका नेता कार्यकर्ताको उत्सव स्थल तिर्न महङ्गा होटलहरुका देखिनु, औषत कमाई हुने नेता कार्यकर्ताहरुको हातमा आधुनिक विशेषताका मोवाइल तथा ल्यापटप र सवारीसाधनको प्रयोग हुनुले आजको विद्यार्थी आन्दोलनका ति नेताहरुको आर्थिक चरित्रका सवालमा प्रश्न उठ्छ की उठ्दैन ?

हामी कसकालागि र हाम्रो लक्ष्य तथा उद्देश्य के ? भन्न भन्दापनी विद्यार्थी आन्दोलनको बलमा आफूलाई राजनीतिक रुपमा स्थापितभई नव धनाढ्यका रुपमा उदाई शैक्षिक मुद्दा र बहसलाई सौदावाजी गर्ने नेता तथा शैक्षिक माफियाहरुबिच सेतु (बिचौलिया)को रुप धारण गर्र्नु आफ्नो मातृपार्टीकालागि सत्तारोहणाको सिढीे बन्ने प्रवृतिले अबको विद्यार्थी आन्दोलनको भविष्य कतातिर जान्छ ? भन्ने चिन्ता र चासो गम्भिर रुपमा उठेको छ ।

विद्यार्र्थी आन्दोलनको विरासतबाट प्राप्त स्वतन्त्र विद्यार्थी युनियनको चुनाव हरेक २ वर्षमा हुनुपर्ने । कतिपय विश्वविद्यालय तथा क्याम्पसमा त १२— १५ वर्ष यतादेखि चुवान भएको छैन । पछिल्लो पटक भएको स्ववियू निर्वाचनले पनि आफ्नो निर्वाचित विद्यार्र्थी नेताहरुको कार्यकाल सकाएर धेरै अगाडी आइसक्यो पुनः अर्को चुनाव हुने कुनै संकेत देखिदैन । यसको दोषी को ? के विद्यार्र्थी आन्दोलन विगठनको दिसातिर लागेको हो त ?

आजको विद्यार्थी आन्दोलनले राष्ट्रिय राजनीतिको चिन्ता र चासो समेत राख्न पर्छ । राष्ट्रिय राजनीतिले उनिहरु आफ्नो र पछि आउने पुस्ताका जिवनको बाटोलाई निर्धारण गर्छ । यो भन्दैमा राष्ट्रिय राजनीति भनेको विद्यार्थीले गर्ने राजनीतिको सम्पुर्ण पक्ष होइन । विद्यार्थी राजनीतिको मुख्य पाटो त विद्यार्थी राजनीति नै हो । विकट गाउँवस्तीमा विद्यालय छन् कि छैन्न ? यदी विद्यालय छन् भने ति विद्यालयमा विद्यार्थी जान्छन्, जादैन्न ? लगायत शैशिक्षक गुणस्तर र समग्र व्यवस्थापनका पक्षबारे आजको विद्यार्थी आन्दोलन संगठनहरु र तिनका नेताकार्यकर्ताहरुको चिन्ता र चासोसँग सरोकारका विषय हुनुपर्नेमा यस विषयमा ध्यान नगएको देखिनुले यसका पक्षहरु प्रतिको विश्वास गुम्दैगएको अवस्था छ ।

त्यसैले इतिहासका पानाहरुमात्र रटाउने कि तिनका नेता कार्यकर्ताहरुले त्यो गर्भिला इतिहासलाई झन् उचाई दिई आजको विद्यार्थी आन्दोलनलाई थप स्वर्णिम बनाउने भन्ने तिर ध्यानाकर्षण हुन जरुरी देखिन्छ ।

प्रतिक्रिया