बिहीबार, वैशाख १३, २०८१

अत्यावश्यक औषधिको संख्या बढाउँदै सरकार

नेपालखोज २०७६ पुष १३ गते ७:४९

१३ पुष, काठमाडौं । सरकारले अत्यावश्यक औषधिको संख्या बढाउने भएको छ । त्यसका लागि औषधि व्यवस्था विभागले विज्ञहरूसँग छलफललाई अघि बढाएको छ । सरकारले अत्यावश्यक औषधिको सूची बढाएर ३९२ पु¥याउनेगरी तयारी थालेको हो । विज्ञहरूसँगको परामर्शमा औषधिको सूची संख्या थपको प्रारम्भिक खाकासमेत तयार भएको औषधि व्यवस्था विभागका निमित्त महानिर्देशक पानबहादुर क्षेत्रीले बताए ।

विभागका अनुसार हाल अत्यावश्यक औषधिको संख्या ३५९ रहेको छ । सो संख्यामा रहेका औषधिहरूको संख्या केही नयाँ थप्ने र केही हटाइने भएको छ । यद्यपि, अन्तिम रूप भने दिइएको छैन ।

विभागका अनुसार, नयाँ सूची तयार गर्दा अधिकांशलाई देखिने रोग, सर्वसुलभ र गुणस्तरीयतालाई ध्यान दिइनेछ । विश्व स्वास्थ्य संगठनको मार्ग्निर्देशनअनुसार औषधिको नयाँ सूची संशोधन गर्न सुझाव दिएको थियो । तर, ती सूचीकृत अत्यावश्यक औषधिमध्ये केही स्वास्थ्य संस्थामा नपाइएको देखिएको छ । यसकाले उपभोक्ताहरू मारमा परेका छन् ।

अत्यावश्यकीय सूचीमा रहेको मुख्यतः एन्टिरेबिज भ्याक्सिन, सर्पले टोकेपछि प्रयोग गरिने एन्टिस्नेक्स भेनमको नेपाली बजारमा अभाव खड्किँदै आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले अत्यावश्यकीय औषधिहरूको अभाव खड्किन नदिन सरकार लागिपरेको बताए । उनले भने, ‘राष्ट्रिय उत्पादनलाई बढावा दिने सरकारको नीति छ । अत्यावश्यकीय औषधिमा नेपाललाई आत्मनिर्भर गराउने गरी सरकार लागि परेको छ ।’

प्रतिक्रिया