शुक्रबार, वैशाख १४, २०८१

आतंकवादी गतिविधिको वित्तीय लगानी निवारणमा प्रहरीले सघाउने

नेपालखोज २०७६ पुष १७ गते ८:०६

१७ पुष, काठमाडौँ । काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरीबीच १२ बुँदे सम्झौता भएको छ । सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्ने राष्ट्रिय लक्ष्यमा सहयोग पु¥याउने उद्देश्यले प्रहरी र विभागबीच सम्झौता भएको हो ।

बुधबार गृह मन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा र गृहसचिव प्रेमकुमार राईको उपस्थितिमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक रूपनारायण भट्टराईबीच १२ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको हो । कार्यक्रममा दुई पक्षबीच सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी तथा सम्बद्ध कसुरको प्रभावकारी विश्लेषण, अनुसन्धान, समन्वय तथा सहकार्य गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर भएको नेपाल प्रहरीका प्रवक्ता डीआईजी शैलेश थापा क्षत्रीले जानकारी दिए ।

उनले यस समझदारीसँगै प्रहरीले आतंककारी गतिविधिबाट आर्जन भएको सम्पत्तिका विषयमा छानबिन गर्न सक्ने बाटो खुलेको बताए । उनले यस सम्झौतालाई अझ प्रभावकारी बनाउन विभागसँग थप सहकार्य, क्षमता अभिवृद्धिलगायतमा सहकार्य गर्नेसमेत प्रस्ट पारे ।

सम्पत्ति शुद्धीकरण अुनसन्धान विभागका महानिर्देशक रूपनारायण भट्टराईले प्रहरीको संगठनात्मक संरचना बलियो भएकाले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्ने राष्ट्रिय लक्ष्यमा सहयोग पु¥याउनेमा विभाग विश्वस्त रहेको बताए । उनले राष्ट्रिय उद्देश्यमा प्रहरीको काममा सफलता मिल्ने बताए । उनले आउँदा दिनमा प्रहरीसँगको सहकार्यमा सम्पत्ति शुद्धीकरण अगाडि बढ्नेसमेत जानकारी दिए ।

विभागले अहिलेसम्म प्रहरीको केन्द्रय अनुसन्धान ब्युरो, सहकारी विभाग, धितोपत्र बोर्डलगायत २२ वटा संस्थासँग सम्पत्ति शुद्धीकरणसम्बन्धी विभिन्न सम्झौता गरिसकेको छ । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को परिच्छेद ४ दफा ८(१) मा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी कसुर निवारण गर्ने सम्बन्धमा अन्तर निकायबीच समन्वय गर्न सकिने प्रावधान राखिएको छ । त्यसै प्रावधानअनुसार अन्तरनिकाय संस्थाबीच समझदारी गरिएको विभागले जनाएको छ ।

प्रतिक्रिया