शुक्रबार, वैशाख १४, २०८१

गुल्मीका किसान पैँचो पसलतिर आकर्षित बन्दै

नेपालखोज २०७६ पुष १७ गते १०:०७

१७ पुष, गुल्मी । बारीमा कुहिएर नष्ट हुने फर्सी, अम्बा कुभिण्डो, गोलभेँडा र काँक्रा किसानकै घरदैलोमा पुगेर खरिद गरिदिन थालेपछि यतिबेला गुल्मीका किसान पैँचो पसलतिर आकर्षित बन्दै गएका छन् । गाउँमा उत्पादन भएका र बजार पाउन नसकेका तरकारी र फलफूललाई गाउँमा खुलेकोे पैँचो पसलले किनिदिँदा गुल्मीका थुप्रै किसानको आर्थिक अवस्थामा समेत ठूलो परिवर्तन आएको छ ।

पैँचो पसलका कारण नै यहाँका कतिपय किसान घरमै कृषि व्यवसाय गरी लाखौँ रुपैयाँ कमाउन सफल बनेका छन् । “शुरुमा पैँचोको विरोध गरेँ, यसले के गर्न सक्ला र भन्ने लागेको थियो, तर म पनि विस्तारै पैँचोसँग जोडिन पुगेँ, यस वर्ष रु दश लाख ९५ हजारको कारोवार पैँचोसँग गरेको रहेछु, मोटरसाइकल चढ्न र छोराछोरी पढाउन कुनै समस्या छैन, यसपटक पनि उत्कृष्ट किसानको रूपमा सम्मानित बन्न सफल बनेँ”, छत्रकोट–४ रुक्सेका अगुवा कृषक रामकृष्ण कँडेलले भन्नुभयो ।

गाउँमै उत्पादन भएको कृषिजन्य सामग्रीलाई सङ्कलन गरेर एकमुष्ट जिल्लाभित्र र जिल्ला बाहिरको बजारमा बिक्री गर्ने उद्देश्यले गत पाँच वर्षअघि गुल्मीको रुरुक्षेत्र गाउँपालिकाअन्तर्गत बलेटक्सारमा पैँचो पसल सञ्चालन गरिएको हो । पैँचोले गाउँमा उत्पादन भएको सामग्री पैँचोस्वरुप खरिद गरिदिनुका साथै घरखर्चमा आवश्यक पर्ने अरु बजारका सामग्री किसानलाई बिक्री गर्ने गर्दछ । पैँचोबाट सामान नलगेमा उसले सोझै किसानलाई पैसा उपलब्ध गराउने भएका कारण अहिले धेरैभन्दा धेरै कृषकलाई पैँचो पसलको प्रेरणाका कारण व्यावसायिकतातर्फ थप आकर्षित बनाएको छ ।

भिन्नभिन्न पेशामा आबद्ध ४५ युवाले शुरु गरेको उक्त पैँचोले जिल्लाभित्र र बाहिर गरेर नौ वटा शाखा सञ्चालन गरेको छ भने उक्त शाखाअन्तर्गत ३०० कर्मचारी र १२ हजार किसान आबद्ध छन् । शुरुमा रु दुई करोड लगानीबाट शुरु भएको पैँचो पसलमा अहिले रु ३० करोड लगानी भइसकेको छ । यसले सिन्की, मस्यौरा, कोदोको पीठो, जाम, सस, अचारलगायतका २७ वटा ब्राण्ड उत्पादन गरी स्वदेश तथा विदेशसम्म निर्यात गर्दै आइरहेको छ ।

पैँचोले प्रत्यक वर्ष आफ्नो वार्षिकोत्सवको अवसर पारेर गाउँपालिकाकाका उत्कृष्ट किसान, उत्कृष्ट शाखा कर्मचारी, उत्कृष्ट सङ्कलन केन्द्र, कृषिउपज सङ्कलक, वितरण विभाग, लेखा, बजार, शाखा प्रबन्धक, सर्वोकृष्ट किसान र कर्मचारीलाई सम्मान गरी उनीहरुलाई थप हौसला प्रदान गर्ने कामसमेत गर्दै आइरहेको छ ।

 

प्रतिक्रिया