बिहीबार, वैशाख ६, २०८१

बजेट ब्रिफकेस मै सिमित युवा परिचालन वर्ष, १० लाख युवा प्रभावित

नेपालखोज २०७६ पुष २२ गते १६:०७

२२ पुस, काठमाडौँ । सरकारले १० लाख युवालाई परिचालन गर्ने लक्ष्यसहित  ‘युवा परिचालन वर्ष’ योजनाको लागु  गरेको त छ तर यसको गति हालसम्म पनि शुन्य  छ । साउनदेखि नै युवा परिचालन  कार्यक्रम योजना लागु गरिएको भएतापनि यसको कार्यान्वयन पाटोको गति भने शुन्य देखिन्छ । १० लाख युवाको भविष्यसँग जोडिएको कुरामा सरकार गम्भिर नबन्दा यसको प्रत्यक्ष प्रभावमा युवाहरु परेका छन् ।  युवा परिचालन वर्षको गति शुन्य भैरहदाँ सरकारका अधिकारी भने गैरजिम्मेवार जवाफ दिदै छुट्टै बजेट नभएर योजना सञ्चालनमा समस्या भएको बताउछन् ।

युवा तथा खेलकूद मन्त्रालयले दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) र युवा परिचालन वर्षका लागि छुट्टै बजेट अभावका कारणले सो कार्यक्रम अझै सञ्चालन हुन नसकेको मन्त्रालयका अधिकारीको भनाई छ । मन्त्रालयका युवा परिचालन तथा परामर्श शाखा प्रमुख एवम् उपसचिव कृष्णप्रसाद बस्याल युवा परिचालन वर्षलागि छुट्टै बजेट विनियोजन नभएकोले के कसरी युवालाई परिचालन गर्न भन्नेमा समस्या आएको बताउछन् ।

छुट्टै बजेट नभएपछि मन्त्रालयको पहिले सञ्चालन भएको युवासम्बन्धी कार्यक्रममा नै समावेश गरेर परिचालन वर्र्ष सञ्चालन गर्ने योजना रहेको छ । “परिचालन वर्र्ष भनेर छुट्टै नै बजेट आएको छैन, त्यसैले हामीले कुन क्षेत्रमा कसरी युवालाई परिचालन गर्ने भन्ने समस्या भयो”, उनले भने, “अब भने पहिले गरिने युवासम्बन्धी कार्यक्रममा नै परिचालन वर्र्षका कार्यक्रमलाई समेटेर सञ्चालन गर्ने तयारीमा रहेका छौँ ।”

योजनाको शुन्य स्थिति भएतापनि मन्त्रालयसँग परिचालन वर्षमा १६ देखि २४ वर्र्ष उमेर समूहका १० लाख युवालाई कृषि उत्पादनमा युवा, पर्यटन प्रवद्र्धनमा युवा, सार्वजनिक शिक्षा सवलीकरणमा युवा, वातावरण संरक्षणमा युवा, अन्धविश्वास लैङ्गिक हिंसा जातीय विभेद तथा छुवाछूतविरुद्ध युवा, उद्यमशीलतामा युवा र सुशासनमा युवा कार्यक्रम गरेर परिचालन गर्ने कागजी योजना छ ।

उपसचिव बस्यालका अनुसार साउनदेखि नै युवा परिचालनका कार्यक्रम सञ्चालन भइरहेका भए पनि युवाका क्षेत्रमा विशिष्टकृत कार्यक्रम सञ्चालनमा भने बजेट अभावले समस्या भएको हो । अहिले युवासम्बन्धी कार्यक्रममा नै परिचालन वर्र्षलाई समेट्ने निर्णय गरेसँगै विशिष्टकृत कार्यक्रमको पहिचान गरिएको छ ।

मन्त्रालयका सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा गठित युवा परिचालन कार्यक्रम मस्यौदा समितिले युवासँग काम गर्ने मन्त्रालय, सङ्घ सस्थाका प्रतिनिधिसँग छलफल गरेर परिचालन वर्र्षमा के–कस्ता विशिष्टकृत कार्यक्रम सञ्चालन गर्ने भनेर प्रतिवेदन बल्ल तयार पारेको छ । सोही प्रतिवेदनका आधार युवालाई परिचालन गरिने तयारी रहेको उपसचिव बस्यालले जानकारी दिए ।

सरकारले राष्ट्रिय युवा नीति–२०७२ र युथ भिजन–२०२५ सहित १० वर्षे रणनीतिक योजनामा समेटिएका युवाका कुरालाई लक्षित गरेर परिचालन वर्ष सञ्चालन गर्ने योजनामा रहेको छ । नीतिमा सार्थक सहभागिता, क्षमता र नेतृत्व विकासका माध्यमबाट युवालाई राष्ट्रिय विकासको मूलधारमा समाहित गर्दै समृद्ध, आधुनिक र न्यायपूर्ण नेपाल निर्माण गर्ने युवाको भूमिका तथा उनीहरुमा रहेको अन्तर्निहित क्षमतालाई गुणात्मक बनाउनुरहेको छ ।

यस्तै युथ भिजनले युवाको शिक्षा, रोजगारी, स्वास्थ्य र सामाजिक सुरक्षा, सहभागिता र नेतृत्व विकास तथा खेलकूद र मनोरञ्जन क्षेत्रमा विकास गर्ने लक्ष्य लिइएको छ । यसैगरी विपद् व्यवस्थापन तथा स्वयंसेवकीय कार्यमा युवा परिचालन, परम्परागत सीपको विकास तथा संरक्षणमा युवा र स्वस्थ्य तथा खेल सचेतनामा युवालाई परिचालन गर्नेछ ।

राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले युवालाई कुन–कुन क्षेत्रमा परिचालन गर्ने भन्नेमा मन्त्रालयले योजना बनाएकाले चाँडै नै कार्यक्रम शुरु गरिने बताए । उनले कार्यविधि र कार्यक्रम बनाउन समय लागेकाले युवालाई परिचालन गर्न ढिला भएको जानकारी दिए। “यस वर्ष हामीले परिचालन वर्षको विषयवस्तु मात्र तय गर्ने छौँ”, उनले भने, “अर्को वर्र्षदेखि सधैँभरि युवालाई सामाजिक काममा लगाउनका लागि दीर्घकालीन योजना बनाएका छौँ।”

उनले यही पुस मसान्तसम्म युवालाई परिचालन गर्ने क्षेत्र पहिचान गरेर माघमा केन्द्रमा तथा फागुनमा प्रदेश र सबै स्थानीय तहमा परिचालन वर्षको सन्देश दिँदै कार्यक्रम सञ्चालन गरिने जानकारी दिए । सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेटमार्फत युवा परिचालन वर्ष घोषणा गरेको थियो ।

प्रतिक्रिया