बिहीबार, वैशाख १३, २०८१

२० करोड रुपैयाँ घुस मागको आरोपमा राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष विरुद्ध उजुरी

नेपालखोज २०७६ पुष २९ गते १५:११

२९ पुस, काठमाडौँ । राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष रहेका श्रीकृष्ण गिरीले अकुत सम्पत्ति कमाएको भन्दै सम्पत्ति शुद्धीकरण र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

गिरीले भ्रष्टाचार तथा घुस लिने कार्य गरी अकुत सम्पत्ति आर्जन गरेको दाबी गर्दै झापास्थित बिएण्ड सी मेडिकल कलेजका संस्थापक दुर्गाप्रसाद प्रसाईंले गिरीविरुद्ध उजुरी हालेका हुन् । गिरीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको शिक्षाध्यक्ष रहेको समयमा, स्वास्थ्य सेवा बीमा बोर्डमा कार्यकारी निर्देशक रहँदा र हाल आयोगको उपाध्यक्ष रहँदा पनि घुस लिई अकुत सम्पत्ति आर्जन गरको प्रसाईको आरोप छ ।

त्यस्तै राष्ट्रिय चिकित्सा शिक्षा आयोगमा उपाध्यक्ष हुन योग्यता नै नपुगेपछि गिरीले झुठा विवरण पेश गरी नियुक्ति लिन सफल भएको प्रसाईंको आरोप छ । आफूले एमबिबिएस कार्यक्रम सञ्चालनका लागि सम्बन्धनको सिफारिस गर्न गिरीसमक्ष निवेदन दिएकोमा २० करोड रुपैयाँ घुस माग गरिएको प्रसाईंले उजुरीमा उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया