बिहीबार, चैत १५, २०८०

१९९० सालको भूकम्प सम्झना गर्दै भूगोल पार्कमा स्मृति सभा

नेपालखोज २०७६ माघ २ गते १२:३०

माघ २, काठमाडौँ । १९९० साल माघ २ गते र त्यसपछिको भूकम्पमा परी दिवंगतहरुको स्मृतिमा विहिबार बिहान भूगोल पार्कमा स्मृति सभा सम्पन्न गरियो । सभामा गृहमन्त्री रामबहादुर थापा, महानगरका प्रमुख बिद्यासुन्दर शाक्य, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, महानगरका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु तथा जनप्रतिनिधि र बिपद व्यवस्थापनका क्षेत्रमा काम गर्ने संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति   थियो ।

स्मृति सभालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले नागरिक सचेतना र विपद व्यवस्थापन गर्ने कानुनी प्रबन्धबाट सम्भावित क्षति कम गराउन सकिने धारणा राखे । प्रकृति र प्राकृतिक संरचनामा मान्छेले दख्खल दिइरहेका छन् । त्यसैकारण कहिलेकाहीँ अप्रत्याशित जोखिम व्यहोर्नु पर्ने अवस्था छ । यो अबस्थाबाट बच्न र बचाउने उत्तम उपाय भनेकै सुरक्षित भवन र यसप्रतिको साझा प्रतिवद्धता हो, सभामा आफ्ना भनाइ राख्दै मन्त्री थापाले २०७२ सालको भूकम्पबाट क्षति भएको भौतिक संरचनाको पुननिर्माणलाई सरकारले प्राथमिकता दिएको बताए ।

सभामा महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले — सकेसम्म विपतमा कसैले पर्नु नपरोस् भनेर सचेतना बढाउन तथा विपत्ति आइपरिहाले क्षति कम गराउन महानगरले वडास्तरीय विपद् क्षति व्यवस्थापन तथा नागरिक सुरक्षा समिति गठन गरेको जानकारी दिए । हामीले भवन निर्माण संहिताको कार्यान्वयनलाई कडाइ गरेका छौं । महानगरभित्र निर्माण हुने सरकारी वा निजी जुनसुकै प्रकारका भवन पनि नक्सा स्वीकृत नगराई निर्माण गर्न गराउन नपाउने व्यवस्थालाई कडाइ गरेका छौं । सरकारी भवन स्वीकृत गर्दा लागेको दस्तुर अनुदानका रुपमा फिर्ता गराउने गरेका छौं भने व्यवसायिक भए सरकारी भवनलाई पनि अन्य सरह घरजग्गा कर, सम्पत्ति कर र व्यवसाय कर लिने गरेका छौं । मेयर शाक्यको भनाइ थियो । महानगरले सम्भावित क्षति न्युनीकरणका लागि वडास्तरीय विपद् क्षति व्यवस्थापन सीप सिकाइ र क्षमता विकास गर्ने कामलाई अघि बढाएको छ । सभामा बोल्दै महानगरको विपद् व्यवस्थापन समितिका संयोजक नीलकाजी शाक्यले भने वडा तहमा गठन गरिएका विपद् व्यवस्थापन तथा नागरिक सुरक्षा समितिमार्फत नागरिकलाई सुरक्षित महसुस गराउने कामले तीब्रता पाइरहेको छ ।

भूगोल पार्कको स्मृति सभापछि गृहमन्त्री थापाले भृकुटीमण्डपमा आजैबाट शुरु भएको भूकम्प सुरक्षा प्रदर्शनीको उद्घाटन गरे । प्रदर्शनीमा नेपाली सेना, नेपाल प्रहरी, शशस्त्र प्रहरीले विपद् क्षति व्यवस्थापनका अनुभव, सामाग्री तथा उपकरण प्रदर्शनमा राखेका छन् भने सहरी विकास तथा भवन निर्माण बिभागले भवन निर्माण संहिता सम्बन्धि जानकारीमुलक सामाग्रीको प्रदर्शन गरेको छ । यस्तै भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल र ख्वपः इञ्जिनियरिङ् कलेजले भूकम्पको कम्पनबाट जमिन र संरचनामा पर्ने प्रभावलाई प्रयोगात्मक प्रदर्शनी राखेका छन् । त्यस्तै नेपाल रेडक्रस सोसाइटीले विपद्का समय जोखिम कम गराउन हुने खोज तथा उद्धारलगायत क्रियाकलाप सम्बन्धि जानकारीमुलक सामाग्रीहरुको प्रदर्शन गरेको छ । त्यस्तै राष्ट्रिय अपाङ्ग महासंघले आपतका समयमा शारीरिक अवस्था दुर्बल भएका मानिसहरुमा पर्ने समस्या सम्बन्धि अनुभव आदानप्रदान गर्ने सामाग्रीहरु प्रदर्शन गरेका छन् । प्रदर्शनीमा निर्माण सामाग्री उत्पादन गर्ने कम्पनीहरु पनि सहभागी छन् ।

प्रदर्शनीमा नेपाल प्रहरीले ग्याँसबाट लागेको आगो निभाउने विधिहरु प्रदर्शन गरेको थियो । यसमा ग्याँसको पाइपमा लागेको आगो, सिलिण्डरको मुखमा सल्किएको आगो, मानिसको शरीरमा लागेको आगो नियन्त्रण गर्ने घरेलु उपाय देखाइको थियो भने फायर इस्टिङ्ग्वीसरको प्रयोग गरेर आगो निभाउने सीप देखाइएको थियो ।

१९९० साल माघ २ गतेको विनाशकारी भूकम्पले पु¥याएको क्षति सम्झना गर्दै अबका पुस्ताले यस प्रकारको क्षति व्यहोर्नु नपरोस् भनेर सजग गराइ राख्न यो दिवस मनाउने गरिएको छ । यस प्रकारको सम्झनासँग विगतका गल्ती नदोहो¥याउने प्रतिवद्धता जोडिएको छ । त्यस विनाशकारी भूकम्पले सिकाएको पाठबाट सुरक्षित बस्ती निर्माणमा पुस्तालाई सहभागी गराउने उद्देश्य राखेर २०५५ सालदेखि हरेक बर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो । यो २२ दिवस हो । यस बर्षको नारा “भूकम्पबाट सुरक्षित पूर्वाधार, दिगो सुरक्षा र समृद्धिको आधार ” रहेको छ ।

यस बर्षको मूल कार्यक्रम भक्तपुरमा आयोजना हुँदैछ ।

प्रतिक्रिया