बिहीबार, वैशाख १३, २०८१

जनकपुरमा मुख्यमन्त्री राउतसहित अन्य मन्त्री माथि ‘जुत्ता’ प्रहार

नेपालखोज २०७६ माघ ३ गते १३:५३

३, माघ, जनकपुर । मुख्यमन्त्री सहित आधा दर्जन मन्त्रीलाई जुत्ता हानेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादव, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामनरेश राय र समाजिक विकास मन्त्री नवलकिशोर साहले आ–आफ्ना मातहतका मन्त्रालयले उपभोक्ता समितिमार्फत भौतिक विकास निर्माण कार्य सम्पन्न गरे पनि हालसम्म भुक्तानी नदिएको भन्दै उपभोक्ता समितिले शुक्रबार जनकपुरमा प्रदर्शनसहित उनीहरूको राजीनामा माग गरे । यहि क्रममा ४ जनाले मन्त्रीहरुलाई जुत्ता हानेको अरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

तर प्रदर्शनकारीहरुले मुख्यमन्त्री सहित अन्य मन्त्रीलाई नै जुत्ता हानेका नभई उनिहरुको तस्वीरमा जुत्ता प्रहार गरेर सांकेतिक विरोध जनाएका हुन् । उपभोक्ता समितिले मुख्यमन्त्री राउतदेखि अन्य मन्त्रीहरुलाई सार्वजनिक स्थलमै जुत्ता हान्न थालेपछि प्रहरीले धरपकड थालेको थियो ।

शान्तिपूर्ण रुपमा पदर्शन तथा विरोध जनाइरहँदा प्रहरीले हस्तक्षेप गरेको हो । प्रहरीले रोशन सिंह राणा, रोशन ठाकुर, विमलेश चौधरी र शंकर साहलाई तत्कालै पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषा लगेको छ ।

गत आर्थिक वर्षमा विभिन्न मन्त्रालय र प्रदेश सांसदमार्फत वितरण गरिएका ८४२ योजनामध्ये करिब ८७ करोड रुपैयाँ भुक्तानी हुन बाँकी छ । प्रदेश सरकारले बक्याौता रकम भुक्तानी नगरेको भन्दै केही दिन देखि निरन्तररुपमा उपभोक्ता समितिहरु आन्दोलनमा उत्रेका छन् ।

यसअघि उपभोक्ता समितिहरुले प्रदेशसभा घेराउ गरेर प्रदर्शन, पूर्वाधार विकास कार्यालयमा तालाबन्दी समेत गरेका थिए ।

उपभोक्ताहरुको बक्यौता रकम भुक्तानीबारे मुख्यमन्त्री लालबाबु राउतको तर्फबाट सरकारले स्पष्ट धारणा ल्याउनुपर्ने माग गर्दै सभामुख सरोजकुमार यादवले जवाफ दिन प्रदेश सरकारलाई रुलिङसमेत गरेको थियो । तर पनि सरकार यस विषयमा केही बोल्न नसकेपछि प्रदेशसभा अहिले राष्ट्रियसभा सदस्यको निर्वाचनको लागि अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

प्रतिक्रिया