शनिबार, वैशाख ८, २०८१

भारतसँगका थाती विषय टुङ्गो लगाउने समय आएको छ : प्रम

नेपालखोज २०७६ माघ ७ गते १३:४६

७ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीचका थाती रहेका द्विपक्षीय विषय कूटनीतिक संवादबाट टुङ्गो लगाउने समय आएको बताएका छन् । विराटनगरस्थित एकीकृत भन्सारचौकीको आज भारतीय समकक्षी नरेन्द्र मोदीसँगै भिडियो कन्फरेन्समार्फत उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आपसी सम्बन्ध नयाँ उचाइमा पुगेकाले यसका आधारमा आपसी सहमति र साझेदारीका विषयलाई ‘एक्सन’मा उतार्ने समय आएको स्पष्ट गरे ।

सोका लागि सम्बन्धित मन्त्री र मन्त्रालयले कार्यसूची तय गर्ने जनाउँदै प्रधानमन्त्री ओलीले नेपाल र भारत इतिहास, भूगोल र संस्कृतिका हिसाबले नजीकका छिमेकी भएका नाताले आपसी सहकार्यलाई वृद्धि गर्नुपर्नेमा जोड दिए। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले नेपालले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को सोच झैँ भारतीय प्रधानमन्त्री मोदीको ‘सबका साथ, सबका विश्वास’ को नारा रहेको उल्लेख गर्दै विगतमा आफू भारत भ्रमणमा जाँदा वीरगञ्जस्थित एकीकृत जाँचचौकी तथा पाँच महिनाअघि मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाको संयुक्त उद्घाटन गरिएको स्मरण गरे ।

प्रधानमन्त्री ओलीले भूकम्पछिको पुनःनिर्माण तथा हाल गोरखा र नुवाकोटमा निजी भवन निर्माणमा गरिएको सहयोगका लागि भारत सरकारलाई धन्यवाद समेत दिए । प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यस्थितिबारे चासो दिई शीघ्र लाभको कामना गरेकामा पनि भारतीय समकक्षीलाई धन्यवाद दिँदै आफ्नो स्वास्थ्य सुधँदै गएको जानकारी बताए । भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणमा आउन पुनःनिमन्त्रणा दिँदै उनले आफूहरु स्वागत गर्न तत्पर रहेको बताए ।

प्रतिक्रिया