शुक्रबार, चैत १६, २०८०

अर्थतन्त्र गौरव गर्न लायक बाटोमा छ : अर्थमन्त्री डा खतिवडा

नेपालखोज २०७६ माघ ७ गते १६:४२

७ माघ, काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले मुलुकको अर्थतन्त्र सुदृढ, सरल र स्थायी मार्गमा अघि बढिरहेको बताएका छन् । कृषि विकास बैंक लिमिटेडको ५३औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको अर्थतन्त्र गौरव गर्न लायक राम्रो बाटोमा रहेको बताए।

मुलुकको आर्थिक वृद्धि ६ देखि ८ प्रतिशतको बीचमा हुने उल्लेख गर्दै अर्थमन्त्री खतिवडाले भने,“अर्थतन्त्र भनेको जहिले पनि उकालो–ओरालो नै हो, सधैँ सरल र सिधा बाटोमा हिँड्दैन, हाम्रो भूगोल जस्तै अर्थतन्त्रको प्रवृत्ति हुन्छ ।”नेपालको समग्र वित्तीय प्रणाली र बैंङ्किङ प्रणाली दक्षिण एशियामा सबैभन्दा सुदृढ प्रणालीको रुपमा स्थापित रहेको बताउँदै उनले भने “निष्क्रिय कर्जा पत्याउनै नसक्ने गरी तल छ, त्यो स्वागतयोग्य हो ।”

विगतमा २२ प्रतिशतसम्म पुगेको मूल्यवृद्धि अहिले ६ प्रतिशतमा सीमित रहँदा पनि मूल्यवृद्धि आकासियो भन्ने तर्क कस्तो हो ? भन्ने प्रश्न गर्दै अर्थमन्त्री डा खतिवडाले नेपालको २० वर्षको औसत मूल्यवृद्धि १० प्रतिशत भन्दा माथि रहेको जनाए । विवेकपूर्ण ढङ्गले अर्थतन्त्रको व्याख्या गर्न आवश्यक रहेको बताउँदै उनले भने “अर्थतन्त्रका यथार्थ सूचकलाई बुझेर छलफल गरियो भने सकारात्मक बाटोमा हिँड्न सकिन्छ ।

नेपाल राष्ट्र बैंकका डिपुटी गर्भनर चिन्तामणि सिवाकोटीले मुलुकको गार्हस्थ उत्पादनमा महत्वपूर्ण योगदान रहेको कृषि क्षेत्र उपेक्षित भएको भन्ने गुनासोलाई सम्बोधन गर्न बैंकले यसक्षेत्रमा लगानी केन्द्रित गर्न आग्रह गरे । बैंकका सञ्चालक समितिका अध्यक्ष क्षेत्रबहादुर सेजुवालले बैंकले हाल ग्राहकको आवश्यकता र मागलाई ध्यानमा राखी सबै प्रकारका वाणिज्य बैङ्किङ सेवा प्रदान गर्दै आएको जानकारी दिए ।

प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले कृषि क्षेत्रलाई नछोड्ने अरु क्षेत्रलाई जोड्ने नीतिका साथ बैंकले मुलुकका २७४ शाखालाई सूचना प्रविधिमा जोडेर काम गरिरहेको बताए । पूर्वअध्यक्ष श्रीकृष्ण उपाध्यायले ‘नेपाली जनताको घर आँगनको बैंक, कृषि विकास बैंक’ भन्ने नारालाई सफल तुल्याउन बैंकलाई आधुनिक र अग्रणी बैंकको रुपमा स्थापित गर्ने ढङ्गबाट कार्यक्रम बनाएर अघि बढ्न पदाधिकारी र कर्मचारीलाई सुझाव दिए ।

बैंकले गत पुस मसान्तसम्म कूल १२७ अर्ब निक्षेप र ११७ अर्ब प्रवाह गर्न सफल भएको छ । अघिल्लो वर्षको तुलनामा निक्षेप १८ अर्ब र कर्जामा रु १४ अर्ब वृद्धि भएको बैंकले जनाएको छ । बैंकले सहुलियतपूर्ण कृषि कर्जातर्फ दुई हजार ५०० बढी ग्राहकलाई रु ५ अर्ब भन्दा बढी लगानी गरेको छ ।

प्रतिक्रिया