शुक्रबार, वैशाख १४, २०८१

नेपालमा अहिले लगानी मैत्री वातावरण छैन

नेपालखोज २०७६ माघ ७ गते १९:०५

पछिल्लो समयमा सरकारले व्यवसायीहरुमाथि हेने दृष्टिकोण नकारात्मक भएको भन्दै व्यवसायीहरु रुष्ट बनिरहेका छन् । साधारण विषयमा पनि व्यवसायी एवं व्यापारी माथि सरकारले धरपकड गर्न थालेको आरोप पनि लाग्दै आईरहेको छ । व्यवसायीहरुका फरक फरक पेशागत संस्थाहरु भएपनि संघसंगठनहरुले काम गर्न नसकेको र व्यक्तिगत स्वार्थमा केन्द्रित भए भन्ने चर्चा चलिरहेको छ । सरकारले व्यवसायीहरुवीचको दरार देखिएको बेला नेपाल चेम्वर अफ कमर्शका केन्द्रीय सदस्य समेत रहेका चितवन चेम्वर अफ कर्मशका अध्यक्ष दीर्घमान श्रेष्ठसँग नेपालखोजले गरेको कुराकानीको अंश ः

० चितवन चेम्बर अफ कमर्शले अहिले के गरिरहेको छ ?

चितवन चेम्बर अफ चेम्वर्स अफ कमर्श आफैमा एउटा राष्ट्रिय स्तरमा पुरानो व्यवसायिक संगठन भएका कारण पनि चितवनमा सक्रियताका साथ काम गर्न थालको एक वर्ष भयो । हामीले यस समयअवधिमा जिल्लाका व्यवसायीहरुको हकहितका लागि काम गर्दै आईरहेको छौं ।

० पुरानो व्यवसायीहरुको संस्था भएपनि निकै पछाडि परेको छ भन्छन् नि ?

चेम्बरले राजधानीलाई आफ्नो कार्यक्षेत्र बनाएकोले बाहिरबाट हेर्दा यसलाई कमजोर देखिएको हुनसक्छ । तर, देशमा संघीयता लागू भईसकेपछि यसले आफूलाई पनि विस्तार गरिरहेको छ । हामी पछाडि परेका छैनौ देशभरका हाम्रा शाखाहरुले काम गरिरहेका छन् । चेम्बरले ६९ वटा जिल्लामा आफ्नो संगठन बनाएर आफूलाई सकृय बनाईरहेको छ । हामी प्रचार भन्दा पनि काम बढी सक्रिय भएकाले पनि त्यस्तो भान भएको हुन सक्छ ।

०व्यवसायीहरुका संगठनका पदाधिकारीहरु नेतृत्व तहमा पुगे पछि व्यक्तिगत स्वार्थमा लाग्छन् भन्ने आरोप छ ? के भन्नुहुन्छ तपाइँ ?
सवै संस्था वा संगठनमा त्यस्तो हुँदैन केही केहीमा भए होला वा यदाकदा यस्तो भएको हुनसक्छ तर प्राय पदाधिकारीहरु व्यवसायीहरुकै हितको लागि लागेको मैले पाएको छु । अपवादको रुपमा केही तपाईले भनेजस्तै पनि हुनसक्छ । तर हामीले संस्थाको नेतृत्वदायी भूमिकामा बसेर कहिल्यै पनि व्यक्तिगत स्वार्थका पछि लागेनौं ।

० वर्तमान सरकारले व्यवसायीहरुलाई हेर्ने दृष्टिकोण सकारात्मक भएन पेलिरहेको छ भन्छन् नि ?

वास्तवमा हामीले सोचेका थियौं, यो राजनीतिक परिवर्तन पछि अब सरकारको ध्यान आर्थिक क्रान्तितर्फ हुन्छ होला । देशले स्थिर सरकार पाईसकेको अवस्थामा सरकारले व्यवसायीहरुलाई प्रोत्साहन गर्ला भन्ने अपेक्षा गरेका थियौँ । तर, हाम्रो अपेक्षामा सरकारले ठेस पु¥यायो । स्वदेशी या विदेशी लगानीकर्ताहरुले नेपालमा लगानी गर्न किन डराइरहेका छन् भन्ने कुरामा सरकारले ध्यान दिन सकेन संघियताको कारणले झनै धेरै कुराको भार व्यवसायीहरुले व्यहोर्नु परिरहेको छ । नीतिगत स्थिरता र उद्योग÷व्यवसायमैत्री कानुनको ल्याउन सकेन जसले लगानी गर्ने वातावरण झन् कमजोर बन्दै गएको देखिन्छ ।

0 लगानीको वातावरण कमजोर छ भन्नु भो । अहिले त व्यपारीहरु नै नेता भएका छन्, मन्त्री भएका छन् अझ सहज हुनुपर्ने हैन ?

त्यो त हो । तर सरकारका पक्षबाट हामीले आश्वासन त हामीले पाएका छौं, सुन्छौं तर जति हामीले अपेक्षा गरेका थियौँ त्यो पुरा हुन सकेन । संघियताका कारण झन धेरै ठाउँमा कर तिर्नुपरेको छ । स–साना कुराहरुमा पनि व्यवसायीहरुलाई प्रहरीले नियन्त्रणमा लिने जस्ता समस्याहरु बढ्दै गईरहेको छ । यसले व्यवसायीहरुलाई त्रासको वातावरण बनाएको देखिन्छ । व्यवसायीहरुबाट गल्ती भएका छन् भने कानून बमोजिम जरिवाना गराएर या सतर्क गराएर समाधान गर्दा हुने विषयमा पनि जर्वजस्ती धरपकड गरेर व्यवसायीहरुलाई निरुत्साहित गर्न खोजिएको छ । बाहिरबाट हेर जस्तो सहत अवस्था छैन ।

० तर सरकारले त कर छल्नेलाई व्यवसायीलाई कारबाही गरेको भनेको छ नि ?

केही त्यस्ता घटना पनि होलान्, कर अनिवार्य रुपमा तिर्नुपर्छ भन्ने पक्षमा हामी पनि छौँ, असल नागरिकको हैसियतमा यो हाम्रो दायित्व पनि हो । तर सरकारले करलाई रहर बनाउनुपर्यो यहाँ त कर डर बनिरहेको छ । हामीले तिरेको कर सहि ठाउँमा सदुपयोग भएको महशुस हामीलाई भयो भने त्यसले हामीमा उत्साह ल्याउँछ । मुलुक सञ्चालन गर्न, सरकार सञ्चालनका लागि कर आवश्यक छ त्यसमा हाम्रो पनि सहयोग रहन्छ, करको दर भन्दा पनि दायरा फराकिलो पारेर जानुपर्छ ।

० अहिले स्वयं अर्थमन्त्री पनि अर्थतन्त्र सम्बन्धी धेरै विज्ञ हुनुहुन्छ ? यस्तो अवस्थामा देशको अर्थतन्त्र बलियो हुनुपर्ने हैन ?

वास्तवमै उहाँ अत्यन्तै विद्धान हुनुहुन्छ । उहाँले चरणवद्ध तरिकाले समस्याहरु समाधान त गरिरहनुभएको छ तर पनि माटो सुहाउँदो देश सुहाउँदो कर नीति भएन भन्ने हाम्रो भनाई हो ।

० नीति भएन भने त चेम्वर जस्ता संस्थाहरुले सरकारलाई घच्घच्याउनु पर्ने थियो होला नि ?

अवश्य पनि, हामीले पटक पटक सरकारको ध्यानाकर्षण गरेका छौँ, हाम्रो साधारणसभामा मन्त्रीज्यूले पनि हामीलाई बचनबद्धता जाहेर गर्नुभएको छ । आशा गरौँ आगामी दिनमा उहाँहरुको कदमले मुलुकको आर्थिक क्रान्तिमा टेवा पुग्नेछ ।

० तर तपाइँहरुकै सहकर्मी जो अहिले मन्त्री बन्नु भएको छ उहाँले त व्यपारीहरुलाई ज्वाई पालेजस्तो पाल्नुपर्छ भन्नुभएको छ, यसको मतलव के हो ?

जसरी हामीले ज्वाईलाई सम्मान र सत्कार गर्छौँ व्यापारीहरुलाई पनि यस्तै सम्मान गर्नुपर्छ भन्न खोजिएको हो । देशमा तिनखम्बे अर्थतन्त्र छ, सरकार, निजी क्षेत्र र सहकारी यसमध्ये पनि निजी क्षेत्रलाई विशेष प्रोत्साहन गर्नुपर्छ भन्ने मन्त्रीको भनाई हो भन्ने हामीले बुझेका छौं । त्यसलाई अन्यथा लिनु पनि हुँदैन ।

० अहिलेको अवस्थामा नेपाली व्यवसायीहरु र लगानीकर्ताको ठ्याक्कै समस्या के हो ?
नेपालमा अहिले लगानीमैत्री वातावरण छैन । अर्को कुरा स्थिर नीति पनि छैन । उत्पादनसँग सम्बन्धित क्षेत्र र उर्जाको क्षेत्रमा व्याजदर सुनिश्चित हुन सकेको छैन । व्याजदरका हुने परिवर्तनले व्यवसायीहरुमा समस्याहरु आईरहेका छन्, ऋण पनि उद्योग मैत्री छैन । करोडौँको कार किन्न जाने हो भने नागरिकताको भरमा सबै काम सकिन्छ तर कुनै उत्साही युवा केही काम गरौँ भनेर बैंक जाने हो भने यति धेरै धाउनुपर्छ कि उसमा निराशा पैदा भईसक्छ । यी कुराहरुमा सुधार गर्न आवश्यक छ ।

० यसलाई कसरी सुधार गर्न सकिएला ?

यसका लागि बैंक लगायतका वित्तिय निकायहरुको प्रणालीलाई उद्योग मैत्री बनाउनुपर्छ, नयाँ जोस र उत्साह भएका युवाहरुलार्ई प्रोत्साहन गर्ने किसिमका कार्यक्रमहरु ल्याउनुपर्छ । झन्झटिला प्रक्रियाहरुलाई सहज बनाउदै लैजानुपर्छ र मात्र यो सुधारको दिशामा उन्मुख हुन्छ । अनुत्पादक क्षेत्रमा गरिने लगानी र उत्पादनयुक्त क्षेत्रमा गर्ने ऋण लगानीमा विशेष व्यवस्था हुनु जरुरी छ । यसका लागि सरकारले विशेष नीति बनाएर कार्यान्वयनमा नै ल्याउनु पर्दछ ।

प्रतिक्रिया