शनिबार, जेठ ५, २०८१

टोखामा पाँच वटा पार्क निर्माण हुँदै

नेपालखोज २०७६ माघ १५ गते १४:२१

काठमाडौँ । काठमाडौँको उत्तरी क्षेत्र टोखामा पाँचवटा पार्क निर्माण हुने भएको छ । टोखा नगरपालिकाले चालु आवमा दुई पार्क निर्माण गर्न शिलान्यास गरेर काम थाले पनि आगामी वर्षसम्म पाँचवटा पार्क निर्माण गर्न लागेको हो ।

टोखा नगरपालिकाले नगरपालिकाभित्रको बढ्दो जनसङ्ख्यालाई लक्षित गरेर आरामका लागि पार्क बनाउन लागेको हो । काठमाडौँ महानगरपालिकाले काठमाडौँभित्र रहेका १० वटै नगरपालिकालाई पार्क निर्माणका लागि रु एक÷एक करोड वितरण गरेपछि टोखा नगरपालिकाले पनि पार्क निर्माण कार्यलाई प्राथमिता दिएको हो ।

नगरपालिकाका प्रमुख प्रकाश अधिकारी टोखा नगरपालिका–१ बौडेश्वरमा रु तीन करोड ३२ लाख लगानीमा ‘चिल्ड्रेन पार्क’ निर्माण गर्न लागेको बताए। “बालबालिकालाई खेल्नदेखि आराम गर्नमिल्ने गरी निर्माण गर्न लागिएको पार्क २०७७ असार मसान्तमा सक्ने लक्ष्य राखेका छौँ”, उनले भने ।

यस्तै टोखा नगरपालिका–५ मा रु एक करोड ५६ लाख लागतमा कल्की मन्दिर पार्क निर्माण गर्न लागेको छ । उक्त पार्क निर्माणको शिलान्यास कार्य सम्पन्न भइसकेको नगरपालिका प्रमुख अधिकारी बताउछन् । उक्त पार्क पनि २०७७ असार मसान्तसम्म सम्पन्न भइसक्छ ।

टोखा नगरपालिकाले तीनवटा पार्क निर्माणका लागि भने डिपिआर गरेर बोलपत्र आह्वान गर्ने क्रममा छ । टोखा–३ झुडोलमा निर्माण हुने झुडोल पार्क, टोखा–८ मा बन्न लागेको जालपा पार्क र टोखा–१० मा निर्माण हुन लागेको महिन्द्रेश्वर पार्कका लागि बोलपत्र आह्वान गर्ने काम हुँदैछ ।

नगरपालिकाले झुडोल पार्क निर्माणका लागि रु १० लाख, जालपा पार्क निर्माणका लागि रु ५० लाख र महिन्द्रेश्वर पार्क निर्माणका लागि रु १५ लाख वजेट विनियोजन गरिसकेको छ ।

प्रतिक्रिया