मंगलबार, वैशाख ३०, २०८२

पहिलो अनलाइन अन्तरिक्ष वक्तृत्वकला सम्पन्न

नेपालखोज २०७६ माघ १५ गते १५:१२

काठमाडौँ । नेपालमा पहिलोपटक आयोजना गरिएको अन्तरिक्ष वक्तृत्वकला प्रतियोगितामा एसओएस हरमन मावि पोखरामा कक्षा १२ मा अध्ययनरत सौगात केसी प्रथम भएका छन् ।

सातौँ राष्ट्रिय विज्ञान दिवसको अवसर पारेर नेपालमा पहिलोपटक माध्यमिक तहका विद्यार्थीलाई लक्षित गरी ‘मुनः गेटवे टू द स्टार्स’ शीर्षकमा राष्ट्रिय अनलाइन अन्तरिक्ष वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा देशभरका माविबाट उल्लेख्य सहभागिता रहेको आयोजक नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) ले जनाएको छ ।

प्रतियोगितामा न्यू होराइजन इङलिस बोर्डिङ स्कुल बुटवलमा कक्षा १० मा अध्ययनरत स्मारिका न्यौपाने दोस्रो, धनुषा क्याम्पस जनकपुरमा कक्षा ११ मा अध्ययनरत वीरचन्द्र कमाती तेस्रो भएका सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । प्रतियोगिताका लागि गत असोज १ देखि मङ्सिर १४ गतेसम्म अनलाइन आवेदन खुला गरिएको थियो । त्यस अवधिमा देशभरबाट प्राप्तमध्ये उत्कृष्ट १० आवेदनलाई सोसाइटीले आफ्नो युट्युब च्यानलमार्फत सार्वजनिक गरेको थियो ।

त्यस्तै सार्वजनिक गरिएका भिडियोलाई ५०५ जनमतका आधारमा र ५०५ निर्णायक समितिको मूल्याङ्कनबाट विजेता घोषणा गरिएको उनले बताए । सार्वजनिक गरिएका भिडियोमा गत पुस १ देखि १५ गतेसम्म जनमत लिइएको थियो । प्रथम, द्वितीय तथा तृतीय हुने विद्यार्थीले क्रमश : रु दश हजार, रु पाँच हजार र रु तीन हजार नगद, ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । विजेतालाई २०७७ साल भदौ ९ गते राजधानीमा आयोजना हुने तेह्रौँ नासो दिवसमा पुरस्कार प्रदान गरिने जनाइएको छ ।

प्रतिक्रिया