शुक्रबार, वैशाख ७, २०८१

सरकार जनताले बोल्न पाउने अधिकार खोस्दै छ

नेपालखोज २०७६ माघ १६ गते १९:२६

नेकपाको नेतृत्वको दुई तिहाई जनमतको सरकारले मुलुक हाँकिरहँदा जनता अझै पनि खुशी हुन सकेका छैनन । सरकारले गरेका कामहरु विवाद रहित हुन सकेको छैन । तर प्रतिपक्षी दलका रुपमा रहेको नेपाली कांग्रेस सरकारलाई सजग गराउने भन्दा पनि आफ्नै आन्तरिक कलहबाट बाहिर निस्कन सकेको देखिँदैन । सरकारको कामकार्वाही र प्रतिपक्षी भूमिका निर्वाह गर्न नसकेको आरोप लागिरहेका बेला नेपाली कांग्रेसका तर्फबाट प्रदेश सांसद रहेका पूर्व राज्यमन्त्री दिपक खड्कासँग वैकुण्ठप्रसाद भण्डारीले गरेको कुराकानीको अंश ः

० नेपालमा पछिल्लो राजनीतिक घटनाक्रमले प्रतिपक्षी दल नेपाली काग्रेसले हरायो, आफ्नो भूमिका निर्वाह गर्न सकेन भन्ने आरोप छ नि ?
होइन, नेपाली कांग्रेसलाई नेपाली जनताले प्रतिपक्षी दलका रुपमा नै निर्वाचित गराएर पठाउनु भएको हो । हामीले संसदमा प्रतिपक्षी दलकै भूमिका निर्वाह गरिरहेका छौं । नेपाली कांग्रेस प्रजातान्त्रिक अभ्यासमा विश्वास गर्ने भएका कारण हामीले गरेका हरेक काम साधारण कार्यकर्तासम्म पुग्न गर्दछ । त्यसकारण पनि यो अवस्थाको आशंका गरिएको हुनु पर्दछ । सरकारले गरेका जनता विरोधी कामका विरुद्ध हामीले संसदबाट आवाज उठाईरहेका छौं । सरकारले ल्याएका जनविरोध नीतिहरुको विरोध विधिसम्मत रुपमा गरेका छौं । हामी तोडफोड र हिंसामा विश्वास नगर्ने भएका कारण पनि त्यस्तो देखिएको हुन सक्छ ।

० तर जनताले थेग्न नसक्ने गरी महंगी बढिरहेको छ, जनतामा सन्त्रास बढिरहेको छ कांग्रेस खै त बोलेको ?
बोलीरहेका छौं । संसदमा कुरा उठाईरहेका छौं । अल्पमत र बहुमतको सरकार बनाउने खेलका कारण देशमा विकास हुन सकेन भनेर जनताले कम्युनिष्ट पार्टीलाई बहुमत मात्र होइन दुई तिहाई नै दिनु भएको छ । जनताले दुई तिहाई मत किन दिनु भएको हो भन्ने कुरा सरकारमा बस्नेहरुले बुझ्नु पर्यो । के जनताले यही अवस्था देख्न र भोग्नका लागि सरकारलाई दुई तिहाई मत दिएको हो त ? सरकारले जनतालाई गर्ने व्यवहार यही हो त ? हामीले सडकमा होइन सदन मार्फत सरकारलाई प्रश्न गरिरहेका छौं । अन्याय अत्याचार बढिरहेको छ । कांग्रेस चुप लागेर बसेकै छैन संघदेखि प्रदेशसम्म हामीले आवाज उठाईरहेका छौं तर हाम्रो आवाजको सुनुवाई सरकारले गरेको छैन ।

० सरकारले प्रतिपक्षी दलको आवाज सुनेन भन्दा पत्याउँछन् जनताले ?
जनतालाई थाहा छ । वर्तमान सरकारको रवैया दादागिरी । सरकार तानाशाही रुपमा अगाडि बढिरहेको छ । जनताले बोल्न पाउने अधिकार खोस्दै छ । चौथो अंगका रुपमा रहेका पत्रकारिता क्षेत्रलाई अंकुश लगाउने प्रयास गरिरहेको छ । त्यसका विरुद्ध नेपाली कांग्रेसले चौतर्फी रुपमा विरोध गरिरहेका छ । हो हामीले हाम्रा आवाजहरुलाई भीडमार्फत पोखेनौ विधिसम्मत रुपमा राखेका छौं त्यसैले सरकारले दवाईरहेको छ ।

० कांग्रेसको आन्तरिक कलहका कारण त्यसको फाईदा सरकारले लिएको छ भन्छन नि त ?
एक किसिमले हेर्ने हो भने त्यो पनि हो । हरेक राजनीतिक दलहरुको आआफ्नै कलह र आन्तरिक द्वन्द्व छ । नेपाली कांग्रेसभित्र पनि भएको होइन । अरु दलहरुको कलह भित्रै लुकाईन्छ दवाव दिएर पनि तर नेपाली कांग्रेसको कुनै पनि विषय तल्लोतहसम्मका कार्यकर्तासम्म पुग्ने भएकाले त्यसले ठूलो रुप लिएको जस्तो देखिन्छ । हामी एकलौटी र निरंकुशता लाद्ने पार्टी होइनौ । सम्पूर्ण कार्यकर्ता पाटीका नेताहरुवीच वहश छलफल गरेर नै समस्याको समाधान गर्ने र निष्कर्षमा पुग्ने गरेका कारण त्यस्तो देखिएको हो । त्यसलाई कसैले कांगे्रसको कमजोरीका रुपमा लिन्छ भने त्यो उसकै लागि दूर्भाग्य हुन्छ ।

० त्यही भएर विद्यार्थी संगठनका कार्यकर्ता एक आपसमा झगडा गरेका हुन् ?
त्यसरी पनि लिनु हुँदैन । राजनीतिमा जो कोही पनि माथि पुग्छु भन्ने सोचले अगाडि बढिरहेको हुन्छ, संघर्ष गरिरहेको हुन्छ । त्यो आफूले गरेको संघर्ष र परिणाम पाउँदिन कि भन्ने आशंकाका भरमा देखिएको आक्रोश हो भनेर हामीले बुझ्नु पर्दछ । घरभित्रै त दाजुभाई दिदी बहिनीवीच द्वन्द हुन्छ भने यो त ठूलो पार्टी हो ।

० प्रसंग परिवर्तन गरौ, एमसीसीका बारेमा कांग्रेसको धारणा के हो ?
नेपाली कांग्रेसले आधिकारिक रुपमा नै भनिसकेको छ । एमसीसी नेपालका आवश्यक हो र छ । मुलुकको आर्थिक समृद्धिका लागि विदेशी दातृनिकायहरुले गर्ने सहयोग नेपाललाई अत्यन्तै आवश्यक छ । हामीले यस्तो सहयोगका विपक्षमा बोल्नु नै वेकार छ । अझ भन्ने हो भने सडक, जलविद्युत, पर्यटन क्षेत्रमा यस्ता लगानी अझ आउनु पर्दछ । एमसीसीको विरोध गर्नुको कुनै तुक छैन । सरकारले सहज रुपमा यसलाई ल्याउनु पर्दछ भन्ने हाम्रो धारणा हो ।

० तर आर्थिक सहयोगसँगै अमेरिकी सेना नेपाल भित्रिन्छ भन्ने कुरा के हो त ?
कुनै पनि मुलुकको विकासका लागि आर्थिक सहयोग वा परियोजना दिनु फरक कुरा हो एमसीसीसँग अमेरिकी सेना भित्रन्छ भन्ने उचित होइन । सेना त विविन्न समयमा भित्र्याउने कुरा आएको थियो नि । त्यो त हामीले गर्ने निर्णय नेपालमा कुनै पनि हालतमा अरु देशको सेना भित्रँदैन भन्ने कुरा ढुक्क भए हुन्छ । नेपाललाई वास्तविक रुपमा नै समृद्ध नेपाल बनाउनलाई वाधा दिनेहरुले अहिले सेना भित्रिन्छ भन्ने हौवा फैलाएका मात्र हुन् ।

प्रतिक्रिया