शनिबार, वैशाख २२, २०८१

जाजरकोटका सबै पालिका पूर्ण खोपयुक्त हुँदै

नेपालखोज २०७६ माघ १८ गते ११:४०

१८ माघ, जाजरकोट । आगामी जेठभित्र जाजरकोटका सबै पालिकालाई सुनिश्चिततासहित पूर्ण खोपयुक्त पालिका घोषणा गरिने भएको छ । जिल्ला पूर्ण खोप समन्वय समितिको शनिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

जिल्लाका सबै वडा पूर्ण खोपयुक्त घोषणा भइसकेका छन् । जेठ मसान्तभित्र नगर तथा गाउँपालिकालाई पूर्ण खोपयुक्त घोषणा गरेर असारभित्र जाजरकोटलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्ने निर्णय भएको खोप समन्वय समितिका अध्यक्ष जिल्ला समन्यव समितिका संयोजक मनबहादुर रावलले बताए ।

हालसम्म ५६ जिल्ला पूर्ण खोपयुक्त घोषणा भइसकेका छन् । रोगको दरमा कमी ल्याउने, अपाङ्गता हटाउने र बाल मृत्युदरमा कमी ल्याउने उद्देश्यसाथ सरकारले निःशुल्क खोप दिने व्यवस्था मिलाएको हो ।

अहिले १५ महिनामुनिका बालबालिका र गर्भवती महिलालाई विभिन्न ११ प्रकारका सरुवा रोगविरुद्ध खोप लगाउने गरिएको छ । जरकोटका २३० खोप केन्द्रबाट खोप लगाउने व्यवस्था मिलाइएको स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख टीकाराम जैसीले बताए ।

पूर्ण खोपयुक्त पालिका घोषणा गर्न १५ महिनामुनिका सबै बालबालिकाले खोप लगाएको हुनुपर्ने र कोही छुटेको भए २३ महिनाभित्र खोप लगाएर पूर्ण खोपको सुनिश्चितता भएपछि मात्र पूर्ण खोपयुक्त पालिका, जिल्ला घोषणा गर्न मिल्ने प्रावधान रहेको निमित्त प्रमुख जैसीले बताए ।

राष्ट्रिय जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण सन् २०१६ अनुसार २८ दिनभित्र प्रतिहजारमा बालमृत्युदर २८, एक वर्ष्भित्र प्रतिहजार ३२ र पाँच वर्ष्भित्र बालमृत्युदर ३९ प्रतिहजार रहेको छ । जाजरकोटको तथ्याङ्क नभए पनि राष्ट्रिय तथ्याङ्कको दोब्बर हुनसक्ने अनुमान छ ।

प्रतिक्रिया