शुक्रबार, वैशाख १४, २०८१

रक्षात्मक ओली !

नेपालखोज २०७६ माघ २० गते ११:५८

काठमाण्डौ । पार्टी एकता भएपश्चात सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटीको दोश्रो पूर्ण बैठक सकिएको छ । स्पष्ट बहुमतको सरकार भएतापनि उल्लेखनीय कार्य गर्न नसकेको भनी पार्टीपंक्तिमै आलोचना हुँदै गर्दा पार्टी तथा सरकारको नेतृत्व गरिरहेका नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली केन्द्रीय कमिटीको बैठकमा मनोवैज्ञानिक रुपमा कमजोर रुपमा प्रस्तुत भएको उनको भावभंगीले देखाउँथ्यो । विगतमा स्पष्ट वक्ता र खरो रुपमा उत्रिने स्वभावका ओली यसपालीको केन्द्रीय कमिटीको बैठकमा भने उनीभित्र सशंय र त्रास चुलिँदै गएको छ भन्ने स्पष्ट देखिन्थ्यो ।

केन्द्रीय कमिटीको बैठकको एजेण्डा तयार पार्न बसेको सचिवालय बैठकमा समेत उनले केन्द्रीय कमिटीको बैठकमा आफूले बोल्न पाउनुपर्ने माग गरे । किनकी केन्द्रीय कमिटीको बैठकमा सरकार र उनीमाथि थुप्रै आलोचना थोपरिने पूर्व आंकलन उनले गरेका हुन सक्दछन् । सायद यसैले पनि होला, उनले बैठकको उद्घाटन सत्रमा एमसीसी र यती समूहका बारेमा सरकारमाथि उठेका विभिन्न बिषयमा बोल्न पाउनुपर्ने माग गरेका थिए । उनले भनेका थिए, ‘बुधबार हुने केन्द्रीय कमिटीको बैठकमा मैले बोल्न पाउनुपर्यो । मैले सरकारको बचाउ गर्न पाउनुपर्यो ।’ उनको आग्रहलाई सचिवालय बैठकले स्वीकार गर्दै प्रधानमन्त्री ओलीलाई बैठकको उद्घाटनमा बोल्ने अवसर दियो । जसलाई उपयोग गर्दै ओलीले २ घण्टा सम्बोधन गरे ।

उद्घाटन सत्रमा उनले गरेको सम्बोधनमा अधिकांश समय सरकारको बचाउ गर्नमा नै केन्द्रित भए । उनले एमसीसी नेपालको समृद्धिका निम्ति आवश्यक भएको बताए । त्यति मात्र होइन, उनले एमसीसी प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसकै पालामा अगाडि सारिएका कारण यसलाई सबैको समर्थन रहेको तर्क पनि गरे । सरकारका राम्रा कामलाई जनसमक्ष लैलान नसकिएको बताउँदै ओलीले यतीसँग आफू र पार्टीको कुनैपनि साइनो नरहेको तर्क गरे । पार्टीको सैद्धान्तिक र वैचारिक धारमा भन्दा पनि सरकारका सामु देखिएका चुनौतीहरुलाई केलाउने र त्यसलाई बचाउ गर्ने कार्यमा नै ओली केन्द्रीत भए । २ घण्टा लामो सम्बोधनका क्रममा अधिकांश समय उनले सरकारको बचाउ मात्र गरे । कतिपय बेला प्रतिपक्षले मात्र होइन आफ्नै पार्टीभित्रबाट समेत सरकारलाई समर्थन र सहयोग नभएको भन्दै उनले केन्द्रीय कमिटी बैठकमा सहभागी केन्द्रीय सदस्यहरुलाई कन्भिन्स गर्ने कोसिस गरे । यसबाट उनमा पछिल्लो पटक राजनीतिक रुपमा होइन, सांगठानिक रुपमा पार्टीभित्र कमजोर महसुस गर्न थालेको भाव प्रष्ट देखिन्थ्यो । उनीभित्र एक खालको संशय र त्रास छछल्किएको थियो ।

सामान्यतया कम्युनिष्ट पार्टीमा जनवादी केन्द्रीयता हावी हुने गर्दछ । तर अहिले केन्द्रीय नेतृत्व आफ्ना पार्टीका सदस्यहरुबाट समेत सशंकित हुन थालेको संकेत देखिएको थियो । खासगरी विगतमा माथिल्लो तहका नेताहरुबाट कार्यकर्ताहरु डराउने अवस्था विद्यमान थियो भने अहिले कार्यकर्ताबाट नेताहरु पनि डराउने मनोविज्ञान ओलीको बोलीमा प्रष्ट देखिन्थ्यो । खासगरी कम्युनिष्ट पार्टीमा नेतृत्वको कार्यशैली चित्त नबुझे पनि बोल्न सक्ने हिम्मत कार्यकर्ताहरुसँग हुँदैनथियो । अहिलेपनि अधिकांश कार्यकर्ता आफूभन्दा शीर्ष नेताको आलोचना गर्न डराउँछन् । तर केन्द्रीय कमिटीको बैठकमा प्रधानमन्त्री बोल्दै गर्दा उनीपनि मनोवैज्ञानिक रुपमा कार्यकर्ताहरुसँग डराइरहेको भान हुन्थ्यो । उनले बैठकमा भने, ‘मेरो सम्बन्धमा कुनै आलोचना छ, सुझाव छ, टिप्पणी छ भने त्यो पनि कुरा गर्न सकिन्छ । र, त्यसलाई सच्याउन सकिन्छ ।’ उनको अभिव्यक्ति बैठकमा सहभागी केन्द्रीय कमिटी सदस्यहरु अधिकांशका लागि आश्चर्य पार्ने खालको थियो । तर, त्यसरी आलोचना गर्दा ‘आन्दोलनलाई नोक्सान पर्न नहुने’ ओलीले सुझाए । उनले भने, ‘त्यस प्रकारका वैयक्तिक असन्तुष्टिहरु या आक्रोशहरु या विरोधहरुले आन्दोलनमा प्रभावित गर्ने गरी जानु वाञ्छनीय हुँदैन । म साथीहरुलाई आग्रह गर्न चाहन्छु, हाम्रो सफलता हाम्रो युनिटीमा छ ।’

ओलीले यस्ता अभिव्यक्ति अत्यन्तै कम सन्दर्भमा मात्र दिने गरेका छन् । खासगरी पार्टी एकिकरण भएपश्चात आफ्नै पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिएपश्चात सांगठानिक रुपमा आफू कमजोर भएको मनोविज्ञान सार्वजनिक हुँदै आएका हुन् । विगत केही समययता आफ्नै पार्टीका पूर्वसहयोद्धाहरु वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल लगायत कतिपय सन्दर्भमा बामदेव गौतम समेत ओलीको दूरीमा रहन थालेपनि उनले पार्टीभित्र आफूलाई असहयोग हुन थालेको अनुभूति गर्न थालेका थिए । यसको पछिल्लो उदाहरण प्रतिनिधि सभाका सभामुख चयन प्रक्रियामा समेत सचिवालय बैठकमा ओली अल्पमतमा परेबाट स्पष्ट हुन्छ । ओली चाहन्थे जुनसुकै हालतमा पनि सभामुख पूर्व एमालेको भागमा पर्नुपर्छ । यसको निम्ति उनले आफ्ना विश्वासशिला पात्र पूर्व सभामुख सुवासचन्द्र नेवाङलाई अगाडि सारेका थिए । तर अर्का अध्यक्ष प्रचण्डले वर्तमान सभामुख अग्निप्रसाद सापकोटालाई अगाडि सारेपछि पूर्व एमालेकै नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल तथा वामदेव गौतमले समेत ओलीलाई साथ नदिएपछि उनी आफ्नो रणनीतिमा पहिलोपटक नराम्ररी पराजित भएको महसुस गरेका थिए । तत्पश्चात पनि आफू पार्टी सचिवालयमा नै कमजोर हुन थालेपछि राजनीतिक रुपमा समेत असुरक्षित हुन सक्ने पूर्वानुमान गरेर ओलीले सरकारका काम कारबाहीप्रति आउन सक्ने सम्भावित आलोचनालाई बचाउन गर्ने ध्येयले केन्द्रीय कमिटीको बैठकमा बोल्ने अनुमति मागेका थिए ।

आफ्नो बचाउ गर्ने क्रममा ओलीले सरकारले राम्रो काम गरिरहेको तर्क गरे । उनले एमसीसी र यती होल्डिङसँग जोडेर विभिन्न सञ्चार माध्यममा आएका समाचारको खण्डन गर्दै भने, ‘पूर्वसभामुख कृष्णबहादुर महराले एमसीसी पारित गर्नुपर्छ दसी म सँग छ ।’ उनले व्यापारिक घराना यती होल्डिङसँग कुनैपनि मितेरी साइनो नरहेको हुँदा व्यापारिक घरानाको विवादमा आफूहरु नपर्ने समेत तर्क गरे । उनले बैठकको सुरुमा यसो भन्नुको कारण यतीका बिषयमा लिएर केन्द्रीय समितिमा सरकारको कडा आलोचना हुने सम्भावना देखेर नै हो भन्न सकिन्छ । त्यसको साथै एमसीसी पारित गर्नको निम्ति केन्द्रीय कमिटीले स्वीकृति नदेलाकि भन्न संशय ओलीमा विद्यमान रहेको देखिन्थ्यो ।

केन्द्रीय कमिटीको बैठक सम्पन्न उन्मूख हुँदै गर्दा ओलीले आंकलन गरेका धेरै बिषयहरु बैठकमा उठे । त्यसमा केन्द्रीय कमिटिका सदस्यहरु मात्र होइन, अर्का पार्टी अध्यक्ष पुष्पकमल दाहालले पनि सरकारले सोचेको अनुसार काम गर्न नसकेको भन्दै सरकारको घुमाउरो शैलीमा आलोचना गरे । उनले ‘उल्लेख्य सफलताका बाबजुद जनताका आशा र अपेक्षा पूरा गर्न सरकारले ६ वटा विषयमा सुधार गर्न विशेष ध्यान दिनु आवश्यक रहेको’ बताएका छन् । सरकारले ठूल्ठूला कुराहरुमात्रै गरेर नपुग्ने भन्दै स–साना कुराहरुमा पनि ध्यान जानुपर्ने प्रचण्डको भनाइ थियो ।

उनले भने, ‘स–साना काम र योजनामा सरकारको ध्यान कम जाने गरेको जन गुनासोलाई पनि सरकारले गम्भीरतापूर्वक लिन जरुरी छ । उदाहरणका लागि ठूला र नयाँ राजमार्गको निर्माणको कुरा गर्दा सहर बजारका खाल्टा पुर्ने, धूलो, हिलो रोक्ने र स–साना सुधार र मर्मतका काम नछुटुन् ।’

प्रचण्डले भनेको थिए, ‘फाष्ट ट्रयाक र सडक विस्तारको कुरा गर्दा आज भइरहेका सडकमा दिनदिनै हुने गरेको दुर्घटना र जनधनका क्षति रोक्न नीति योजना र कार्यक्रम निर्माण एवम् बजेट विनियोजनमा पनि सरकारको ध्यान जान जरुरी छ ।’

केन्द्रीय कमिटीको निचोडका रुपमा दुवै अध्यक्षको जितका रुपमा लिएको छ । यद्यपि, पार्टी एकिकरण भएपनि अझै भावनात्मक रुपमा दुवै पार्टीका नेता कार्यकर्ताहरु भावनात्मक रुपमा एक हुन सकिरहेका छैनन् भन्ने बुझाइ केन्द्रीय कमिटीमा प्रस्तुत अभिव्यक्तिहरुबाट प्रष्ट देखिन्छ । जसमा दुईवटा ठूला कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा ल्याएर दक्षिण एशियाकै ठूलो कम्युनिष्ट शक्ति बनाउने श्रेय प्राप्त गरेको केपी शर्मा ओली आफ्नै पार्टीमा कमजोर हुँदै गएका हुन त भन्ने प्रश्न पनि सँगै उब्जिन थालेको छ । ओलीले भर्खरै सम्पन्न केन्द्रीय कमिटिको बैठकमा अगाडि सारेका रणनीतिमा औसत रुपमा सफल नै भए भन्न सकिन्छ ।

प्रतिक्रिया