बिहीबार, वैशाख ६, २०८१

हेटौँडामा पक्की सडक निर्माण तीव्र

नेपालखोज २०७६ माघ २१ गते १६:१२

हेटौँडा । वाग्मती प्रदेशको राजधानी हेटौँडा कायम भएपछि हेटौँडा उपमहानगरपालिकाले नगरक्षेत्रभित्र पक्की सडक निर्माण प्रक्रियालाई द्रुत गतिमा अगाडि बढाएको छ । हेटौँडा उपमहानगर क्षेत्रमा रहेको कच्ची तथा ग्राभेल र भत्किएर पुनःनिर्माण गर्नुपर्ने अवस्थामा रहेका पक्की सडकलाई भत्काउँदै पक्की बनाउने योजनाअन्तर्गत काम धमाधम शुरु गरेको छ ।

उपमहानगर क्षेत्रमा उपभोक्ता समिति तथा ठेकेदारमार्फत सडक निर्माण कार्य प्रारम्भ गरिएको हो । उपमहानगरपालिकाका अनुसार हेटौँडा–५ को भैरवरोड चिसापानी सडकमा स्ल्याब ढलान शुरु भएको छ । कूल रु ३० लाख ८३ हजारको लागतमा सो सडक निर्माण हुन लागेको हो ।

त्यस्तै हेटौँडा–१ पाथीभरास्थित पाथीभारा मन्दिर नजीक रु २३ लाख २७ हजारको लागतमा स्ल्याब ढलान शुरु भएको छ । त्यस्तै हेटौँडाको राप्ती पुलबाट पाथीभारा मन्दिर र आसपास क्षेत्रमा जान–आउन सहज होस् भन्ने उद्देश्यले १७५ मिटर लम्बाइको स्ल्याब ढलान गर्न लागिएको छ । त्यसैगरी हेटौँडाका सबिकका ११ वटा वडामा सडक कालोपत्र गर्ने, स्ल्याब ढलान गर्ने र नाली बनाउने काम द्रुत गतिमा भइरहेको उपमहानगरले जनाएको छ ।

यस सन्दर्भमा हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले सडकको कामलाई प्राथमिकताका साथ अगाडि बढाएको र सडक निर्माण गरेर हेटौँडालाई व्यवस्थित पार्ने बताउनुभयो । हेटौँडा–४ का रामप्रसाद आचार्यले हेटौँडा पहिले जस्तो नभएको बताउँदै बसाइँसराइ तीव्र भएकाले शहरी बसोबास व्यवस्थित र पूर्वाधारयुक्त बनाइनुपर्ने बताए ।

यसैबीच नेपाल तेक्वान्दो सङ्घ मकवानपुरद्वारा रु ४५ लाखको लागतमा हेटौँडामा तेक्वान्दो कभर्ड हल निर्माण कार्य शुरु गरेको छ । हेटौँडा–४ कर्राको श्रमिक पथमा सो हल निर्माण शुरु गरिएको हो । सङ्घका अध्यक्ष रत्न बज्राचार्यका अनुसार करीब ६० जना अट्ने क्षमताको ३२ मिटर चौडाइ र ४५ मिटर उचाइको सो हल निर्माण हुने जानकारी दिनुभयो । कभर्ड हल निर्माणका लागि हेटौँडा उपमहानगरपालिकाले समेत रु सात लाख उपलब्ध गराउने जनाइएको छ ।

प्रतिक्रिया