शुक्रबार, वैशाख ७, २०८१

धमाधम रुख फडानी

नेपालखोज २०७६ माघ २७ गते १४:२२

जाजरकोट । राष्ट्रिय वन ५८ र सामुदायिक वन ३६ प्रतिशत रहेको जाजरकोटमा बिनापुर्जी रुख काट्ने क्रम जारी छ । जाजरकोटमा २८४ वटा सामुदायिक वन समूह छन् । सोभन्दा बाँकी सबै राष्ट्रिय वन रहेको छ ।

गाउँ, गाउँका सामुदायिक वनका समूहसँग मिलेर आधुनिक मेशिन प्रयोगबाट रुख काटेर बिक्री गर्ने क्रम बढेको छ । सामुदायिक वन समूहको भेला तथा बैठकबाट अनुमति लिई सो निर्णय डिभिजन वन कार्यालयमा पेश गरी डिभिजन वन र समूहको निर्णयबाट संयुक्त टाँचा लगाएर उपयुक्त मानिएको रुख काट्न पाउने नियम भएपछि यहाँ रुख काट्ने कार्य चलिरहेको छ ।

अधिकांश स्थानीयवासी सामुदायिक वन समूहसँग पुर्जी लिएर रुख काट्दै गरेको पाइएको छ । आइतबार मात्र कुशे गाउँपालिकाबाट डिभिजन वन कार्यालयले १२ काठ तस्करलाई पक्राउ गरी सदरमुकाम ल्याएको छ । स्थानीय तहको व्यवस्थाका कारण झन सामुदायिक वन समस्यमा परेको छ । अनुमतिबिना जथाभाबी रुख काट्नेलाई कुनै पनि हालतमा नछाडिने डिभिजन वन जाजरकोटका प्रमुख महेश कुमाईले जानकारी दिए । वन कार्यालय मातहातका कर्मचारी सदरमुकाम बस्दै आएका छन् ।

गाउँमा वन्यजन्तु चोरी निकासी, काठ फडानी धेरै भए पनि कर्मचारी स्थानीय तहबाट सदरमुकाम आई व्यक्तिगत काममा व्यस्त हुने गरेको पाइएको छ । गाउँगाउँमा सामुदायिक वन तथा राष्ट्रिय वनमा चोरी, निकासी भए पनि कर्मचारी भने फिल्डमा नखटिदा समस्या बढेको गुनासो छ । दरबन्दीअनुसारका कर्मचारी नहुँदा काम गर्न समस्यामा परेको र स्थलगत खटिए पनि काठ तस्करसँगै मिल्ने हो कि भन्ने आशङ्का उब्जेको स्थानीयवासीको आरोप छ ।

प्रतिक्रिया