शुक्रबार, वैशाख ७, २०८१

धनयुद्धको रुपमा परिणत जनयुद्ध दिवस नेकपाको होइन पूर्व माओवादीको हो

नेपालखोज २०७६ फागुन २ गते ११:१२

‘एक जुगमा एक दिन एक चोटी आउँछ, उलट, पुलट, उथल पुथल हेरफेर ल्याउँछ’ गोपाल प्रसाद रिमालले लेखेका यी हरफहरु निकै चर्चित भए । क्रान्ति गर्नेहरुले निकै गाए । गीतले भने जस्तो मुलुकमा उलटपुलट होइन व्यक्तिको रुप हेरफेर मात्र भयो । साम्यवाद ल्याउने भन्दै २०५१ साल फागुन १ गते शुरु गरिएको जनयुद्ध २५ वर्षमा आईपुग्दा धनयुद्धमा परिणत भएको छ ।

देशमा आफूल परिवर्तन गरी गरिव, निमुखा जनताको भाग्य परिवर्तन गछौं भन्दै आश्वासन दिनेहरुले आफ्नो र आफ्ना सन्तानको आमूल रुपमा भाग्य परिवर्तन गरिदिए पच्चीस वर्षको वीचमा । हिजो हात्तिछाप चप्पल र काँधमा बन्धुक भिरेर जंगली रुपी गाउँमा छिर्नेहरु २५ वर्षमा आईपुग्दा जनयुद्धलाई  धनयुद्धका रुपमा अन्तर्राष्ट्रियकरण (विश्वको धनी कम्युनिष्ट पार्टीमा गनिएकाले) गर्न सफल भए ।

हो, तिनै वास्तविक रुपमा जनयुद्धमा होमिएकाहरु धेरै शहिद भए, साँच्चैनै जनताको परिवर्तनको सपना देखेर आफ्ना प्राण आहुति पनि गरे । जनयुद्धमा नै होमिएर धेरै बालबालिकाले अभिभावक गुमाए । हजारौ चेलीका सिन्दुर पछिए ।

हजारौं न्यायो काख र बुढेसकालको आश गुमाए ।  हजारौंको संख्यामा अझै पनि अपाङ्ग भएर बसेकाहरु यतिखेर गाउँको गोठमा खल्च्याङ्ग खल्च्याङ्ग गर्दै दुईचारवटा बाख्रा स्याहर्दै होलान् ।

साम्यवाद ल्याउँछ भनेर भोकै भोकै जनयुद्धमा होमिएकाहरु यतिखेर दूइचार हजार कमाउनका लागि र आफ्ना सन्तानको हातमुख जोर्नका लागि खाडीमा पसिना चुहाईरहेका छन् । सायद कति त जनयुद्धमा प्राण आहुति नगरेपनि परिवर्तन पश्चात खाडीको गर्मीमा पुगेर प्राण त्यागेका पनि छन् । हो हामीले यस्तै जनयुद्ध चाहेको थियौ ? केही व्यक्ति जनयुद्धबाट धनयुद्धमा परिवर्तन होउन् । साम्यवाद ल्याउने नाममा राजसीठाँटमा रहुन् !

यतिखेर नेकपाको केन्द्रीय कार्यालयमा भव्य रुपमा २५ औं जनयुद्ध दिवस मनाईरहँदा पूर्वघोषित कार्यक्रम अनुसार पूर्व एमालेका अध्यक्ष केपी शर्मा ओली गएनन् । एमालेबाट माले हुँदै फेरि एमालेमा फर्केर माओवादीसँग कुम जोड्न चाहने बामदेव गौतम पुष्पकमल दाहाल उर्फ प्रचण्डसँग कुम जोडेर जनयुद्ध अन्यथा नलाओस् धनयुद्ध (९० प्रतिशत पूर्व माओवादी निकै धनी बनेकाले) मनाउन पुगेका छन् ।

हो, यो पूर्व माओवादीले भन्ने गरेको जनयुद्ध दिवस प्रत्येक नेपालीले मनाउनु पर्दथ्यो साँच्चै चीनमा जस्तो कम्युनिष्ट पार्टी भईदिएको भए । मुलुकको आमूल परिवर्तनका लागि काम गरिदिएको भए । २५ वर्षको अवधिमा छिमेकी कम्युनिष्ट राष्ट्र चीनले गरेको विकास र परिवर्तन देखेर अभ्यास गरेको भए । दक्षिण कोरियाले गरेको महेनत आम लडाकु र जनतालाई सिकाएको भए ! तर, त्यसो गरेनौ हामीले दलाली गर्नमा नै अभ्यस्त भयौ ।

पूर्व मन्त्री समेत रहेका पूर्व माओवादी नेता टोपबहादुर रायमाझीको शब्दमा भन्ने हो भने देश तीनवटा (राजनीतिक दलाल, मान्छे दलाल र जग्गा दलाल) दलालले चलाए । पूर्व माओवादी र पूर्व एमाले समाहित भएर नेकपा बने ।

तर जनयुद्ध दिवस यतिखेर पूर्व माओवादीको मात्र हो भन्ने कुरा खड्गप्रसाद ओलीले पुष्टि गरिदिएका छन् । कम्युनिष्टहरु कमाउनिष्ट बनेपछि साम्यवाद कागजमा मात्र आयो । जनयुद्धको सपना धनयुद्धमा गएर परिणत भयो । हो, माओवादीबाट प्रताडित हिजोका एमालेहरुले नेकपा भित्र बसेर पनि जनयुद्ध मनाउन सक्दैनन् ।

रुखका हाँगामा झुण्ड्याएर मारिएका शिक्षकका मित्रहरुले यो दिवसलाई स्वीकार गर्न सक्दैनन् । छोराछोरी मारिएका बाउ आमाले जनयुद्ध नै शब्दकोषबाट हटाउन चाहन्छन् । अनाहक जर्वजस्ती घरबार लुटिएकाहरु, दुखम् सुखम् गाउँमा खेती गरेर दुईछाक जोहो गर्दा गर्दै मध्यरातमा साम्यवादीहरुले आफ्दै दैलोबाट गलहत्याइएका व्यक्तिहरु फागुन १ सुन्नै चाहँदैनन् । त्यसैले होला पूर्व एमालेहरुले भनिरहेका छन फागुन १ गतेको जनयुद्ध दिवस हाम्रो होइन यो त पुर्व माओवादी कमरेडहरुको हो ।

हो कमरेडहरुले मनाउने जनयुद्ध रातारात धनयुद्धमा परिणत भयो । मुलुकको आमूल परिवर्तन गर्छु भनेर वन्दुक सिरानीमा राख्नेहरुलाई सोधौ त, देशमा परिवर्तन भयो ? बन्दुक त नोटमा रुपान्तरित भईसकेको छ । जसरी जनयुद्ध धनयुद्धमा रमाईरहेको छ ।

हो पक्कै परिवर्तन भएको छ । चप्पल लगाउनेहरु अर्वपति बनेका छन् । जनताले महंगीको वासना लिनु परेको छ । जनताको प्रतिनिधि शासक बनेको छ । जनता उसको दास बनिरहेको छ । एउटा राजा फालेर ७ सय ६१ राजा पाल्नु परेको छ । तीन तहको सरकार, संघीयता जनतालाई ‘चोक्टा खान गएकी बुढी, झोलमा डुवेर मरी’ भने जस्तै भएको छ ।

प्रतिक्रिया