शुक्रबार, वैशाख १४, २०८१

भागवत कथा कि मनोरञ्जन ?

सुनील सापकोटा २०७९ जेठ ४ गते ८:३७

विगत केही वर्षदेखि हिन्दु धर्मभित्र दुई-चार ठाउँबाहेक प्रायः धेरै ठाउँमा धर्मका सम्बन्धित समाजका केही टाठाबाठा मानिसले समाजमा भागवत कथाको नाउँमा सामाजिक हितका लागि काम गर्ने भनी चन्दा उठाइ सामाजिक काम कम र अर्थ संकलन ज्यादा गरी आफ्नो आर्थिक स्वार्थ पूरा गरेको देखिन्छ ।

त्यस्तै अचेल घरमा व्यक्तिगत रुपमा भागवत लगाउँदला पनि ठूलो आवाजमा माइक घन्क्याएर, नाच-गान , खानपिन गराइ थुप्रै मानिस बोलाएर धेरै खर्च गरी बडो तामझामका साथ भागवत लगाउँदा आफ्नो समाजमा सान प्रतिष्ठा पनि बढने र पितृहरु सीधै तर्ने भन्ने जुन चलन छ त्यसमाथि केही छोटो भनाइ राख्नुपर्‍यो भनेर मात्र लेख्न खोजेको हुँ ।

म प्रायः के देख्छु भने अचेलका भागवत वाचक पण्डितहरुले ज्ञान होइन मनोरञ्जन पस्की रहेका छन् । भागवत सुन्नेहरु कथामा ध्यान दिएर सुन्नेतिर होइन कि नाच-गानतिर बढी रमाएको देख्छु । कतिपय भागवत लागेको ठाउँहरुमा त फुहड हिन्दी र नेपाली सिनेमाको गीत र ती गीतहरुमा अश्लील देखिने किसिमको नाचहरु पनि नाचेको देखें । कतिपय भागवत कथा भएको ठाउँमा त व्यास आसनमै पाण्डित र महिलाहरुसमेत साथै नाचेको देखें । अझ भजनहरु पनि भड्किलो फिल्मी गीतको लय र संगीतमा गाएको देख्छु ।

अचेल भागवत कथामा मात्र होइन धार्मिक सत्संग हुने स्थान स्थानहरु र मठ मन्दिरका पूजा पाठ हुने स्थलहरुको पनि त्यही हाल छ । लाउडस्पिकरको ठूलो-ठूलो आवाजमा गीत गाउने र होहल्ला गरी छरछिमेकलाई ‘डिस्टर्भ’ गरी उनीहरुको घरका रोगी, वृद्ध र केटाकेटीहरुको ‘निँद हराम’ गर्ने । हामी हिन्दू धर्मावलम्बीको धर्म यही हो त ?

मैले हिन्दु धर्मको विरोध गरेको होइन । म पनि हिन्दु हुँ । आस्तिक नै हुँ । हाम्रो रुढीवादी चलनहरु र परम्परागत संस्कारहरु अचेल समयसापेक्ष नभएको हुँदा त्यसलाई आजको समयअनुकूल गर्नुपर्‍यो मात्र भनेको हुँ ।

हाम्रो हिन्दू धर्म एउटा यस्तो धर्म हो, जो विश्वका अरु धर्मभन्दा बढी मानवीय र उदार छ । यो एउटा यस्तो धर्म हो जसमा ईश्वरलाई मान्ने आस्तिक र ईश्वरलाई नमान्ने नास्तिक दुवै एकै-ठाउँमा अटाउन सक्छन् । समाजमा सदियौंदेखि मिलेर बसेका पनि छन् । ल त अरु धर्ममा त्यो धर्मको विरोध गरेर त्यही धर्म मान्ने मानिस त्यो धार्मिक समाजमा मिलेर एक्लै बसिरहुन् त । त्यस्तालाई त्यो समाजले बस्नै दिँदैन वा टिक्न दिँदै दिँदैन ।

अन्त्यमा, मेरो बुझाइमा हिन्दु धर्मले अध्यात्मिक साधनाका आफ्ना हरेक पथहरुलाई उचित मान्छ र कसैलाई पनि जबरजस्ती आफ्नो धर्ममा ल्याउने काम र हस्तक्षेप गर्दैन । विश्वमा अन्य धर्मावलम्बीहरुको पनि सम्मान गर्छ । यो दुनियाँमा हिन्दु धर्मजस्तो उदार र विचारको स्वतन्त्रता सम्भवत: अन्य कुनै धर्मावलम्बीले पाउँदैनन् । हो… धर्मलाई कमाइ गर्ने साधन ठान्ने केही ब्राह्मणहरु, मनुवादी पण्डितहरु, पुजारी, पुरोहित, केही बदमास सन्त, महन्त भनाउँदाहरुले चाहिँ पाप र पुण्य, स्वर्ग र नर्कको भय र त्रास देखाइ अनपढ सोझालाई ठगी रहेको चाहिँ पाइन्छ ।

प्रतिक्रिया