शनिबार, वैशाख १३, २०८२

वेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले अनुसन्धान थाल्ने

नेपालखोज २०७६ फागुन ६ गते १७:२९

काठमाण्डौ । वेपत्ता पारिएका व्यक्तिको छानविन गर्न गठित आयोगमा नयाँ पदाधिकारीले जिम्मेवारी लिएसँगै द्वन्द्वकालीन घटनाका उजूरीहरुको प्रारम्भिक अनुसन्धान सुरु भएको छ ।

आयोगमा २५ सय ६ उजूरी छन्, जसमध्ये ६५ जिल्लाका उजूरीहरुको प्रारम्भिक अनुसन्धान भइसकेको छ । अहिले आयोगमा नयाँ पदाधिकारी आएसँगै अनुसन्धान अधिकृत तोकेर बाँकी ११ जिल्लाका उजूरीहरुको अनुसन्धान थाल्न लागिएको हो ।

मंगलबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका अध्यक्ष युवराज सुवेदीले भने, ‘हामीले सबै उजूरी खोलेका छौं र अनुसन्धान अधिकृत तोकेर रोल्पामा चारवटा टोली पठाउँदैछौं ।’

प्रारम्भिक अनुसन्धानपछि आयोगमा परेका उजूरीहरु कति द्वन्द्वकालका हुन् कति होइनन् भन्ने खुल्नेछ । आयोगका अनुसार सुरुमा ३१ सय उजूरी परेका थिए ।

तर, प्रारम्भिक अनुसन्धानका क्रममा कतिपय सशस्त्र द्वन्द्वका क्रममा वेपत्ता भएको नभई भारततिर गएको पाइएको छ भने कतिपय जीवित भेटिएका छन्, जसको सूची सार्वजनिक गर्ने तयारी भइरहेको आयोगले जनाएको छ ।

राजनीतिक भागवण्डाका आधारमा आयोगका पदाधिकारी नियुक्त गरिएको भन्दै द्वन्द्व पीडितसम्वद्ध संघ संस्थाले विरोध गरेका छन् । तर, आयोगका अध्यक्ष सुवेदीले आफूहरु स्वतन्त्रतापूर्वक संविधान, कानून र अन्तराष्ट्रिय परम्पराअनुसार काम गर्ने गरी आफूहरु आएको बताए । भैरवनाथ गण, चिसापानी ब्यारेक र खारा घटनाको पनि अनुसन्धान गर्ने भन्दै उनले भने, ‘यदि कसैले विश्वसनीय उजूरी आयो भने हामी उत्खनन गरेर देखाउन पनि तयार छौं ।’

प्रतिक्रिया