शुक्रबार, चैत १६, २०८०

नेपाल विद्युत प्राधिकवरण : उद्योगको विद्युत् महसुलमा १५ प्रतिशतसम्म वृद्धि गर्न प्रस्ताव

नेपालखोज २०७६ फागुन ९ गते ८:१४

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् नियमन आयोग समक्ष औद्योगिक क्षेत्रको विद्युत् महसुलमा १५ प्रतिशतसम्म वृद्धि गर्न प्रस्ताव गरेको छ ।

विद्युत् प्राधिकरणले प्रस्ताव गरेर प्रतिक्रियाका लागि सार्वजनिक गरिएको विवतरण अनुसार, टीओटी (टाइम अफ डे) ६६ केभीमार्फत आपूर्ति गर्ने उद्योगका लागि डिमान्ड चार्जतर्फ प्रतियुनिट २४० रुपैयाँबाट २७५ अर्थात १५ प्रतिशतसम्म बढाउन प्रस्ताव गरिएको छ ।

इनर्जी चार्जतर्फ पिक टाइमअन्तर्गत साँझ ५ देखि ११ बजेसम्म प्रतियुनिट ९.३० बाट १०.५०, अफ पिक समयमा ४.१५ लाई ५.४० र सामान्य समयमा ७.५ लाई बढाएर ८.५५ प्रस्ताव गरिएको छ । विगतमा डेडिकेटेड फिडर लिएका ग्राहकलाई दोब्बर दस्तुर तोके पनि यसबारे सार्वजनिक विवरणमा कुनै उल्लेख छैन ।

त्यसैगरी ३३ केभी भोल्टेजका उद्योगका लागि डिमान्ड चार्जतर्फ २५० रुपैयाँबाट २९० अर्थात १६ प्रतिशत, पिक समयमा प्रतियुनिट १०.२० बाट ११ रुपैयाँ, अफ पिक समयमा ५.२५ बाट ५.६५ र सामान्य समयमा ८.४० बाट ८.९५ रुपैयाँसम्म बढाउन प्रस्ताव गरिएको छ ।

प्रस्तावअनुसार, ३३ केभी भोल्टेजको कमर्सियलअन्तर्गत डिमान्ड चार्ज यथावत् राखिएको छ भने पिक समयमा ४.८८ प्रतिशत, अफ पिक समयमा ५.१९ प्रतिशत र सामान्यमा ६.५५ प्रतिशत बढाउन प्रस्ताव गरिएको छ ।

सिँचाइ र नकमर्सियल ग्राहकको डिमान्ड चार्ज यथावत् राखिएको छ भने सामुदायिक खानेपानी आपूर्तिको डिमान्ड चार्ज २२० रहेकोमा निःशुल्क गरिएको छ भने इनर्जी चार्ज बढाइएको छैन ।

प्रतिक्रिया