मंगलबार, वैशाख ११, २०८१

पुस्तकमा बढाएको कर हटाउन त्रिभुवन विश्वविद्यालयले पठायो प्रधानमन्त्रीलाई पत्र

नेपालखोज २०७६ फागुन ११ गते १३:५०

काठमाडौँ । पुस्तक आयातमा सरकारले लगाएको कर हटाउन माग गर्दै त्रिभुवन विश्वविद्यालयले प्रधानमन्त्री केपी ओलीलाई पत्राचार गरेको   छ । विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त वास्कोटाले पठाएको उक्त पत्रमा प्रधानमन्त्रीलाई कुलपतिको रुपमा समेत सम्बोधन गरिएको छ । यसैगरी सोही पत्रको वोधार्थ र कार्यार्थ शिक्षा मन्त्रीलाई पनि दिईएको छ । शिक्षा मन्त्री गिरिराजमणि पोखरेल विश्वविद्यालयका पदेन सहकुलपति हुन् । अर्थ मन्त्रालयलाई पनि उक्त पत्रको वोधार्थ र कार्यार्थ दिईएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दर्ता गराईएको उक्त पत्रमा पुस्तकमा कर लगाउने सरकारको निर्णय पुनरावलोकन गर्न आग्रह गरिएको छ । विश्वविद्यालयका अधिकांश पाठ्यपुस्तक विदेशबाट आयात हुन्छन् । कर लगाइए पछि विद्यालय तहदेखि उच्च शिक्षाको पाठ्यपुस्तकको अभाव भएको विक्रेताहरुले बताउँदै आएका छन् ।

उच्च शिक्षाका प्राविधिक धारका अधिकांश पुस्तक विदेशबाटै आयात हुने गर्छन् । तर सरकारले चालु आर्थिक वर्षको बजेटबाट विदेशमा मुद्रण भई देशमा आयात हुने पुस्तकमा १० प्रतिशत भन्सार महसुल लगाउन थाले पछि विदेशी पाठ्यपुस्तक सजिलै नपाउने र पाईहालियो भने पनि महँगो हुने भन्दै विद्धत वर्ग सहित विद्यार्थीले गुनासो गर्दै आएका छन् । पुस्तकमा बढाएको करको विरोधमा सरोकारवालाहरुले पटक पटक बैद्धिक विरोधका विभिन्न कार्यक्रम पनि गर्दै आएका छन् ।

१० प्रतिशत कर लगाउने सरकारी निर्णयका कारण चालु आर्थिक वर्षको ६ महिनामा पुस्तक आयात ३४ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया