बिहीबार, वैशाख १३, २०८१

द्वन्द्व प्रभावितको वृत्तचित्र प्रदर्शन

नेपालखोज २०७६ फागुन १३ गते १९:३८

रुपन्देही । नेपालको १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा भएका घटनाका प्रभावितलाई समेटेर तयार पारिएको वृत्तचित्र आज बुटवलमा प्रदर्शन गरिएको छ ।

द्वन्द्वपीडित साझा चौतारीको आयोजना तथा न्यायका लागि द्वन्द्वपीडित समाज नेपालको प्राविधिक सहयोगमा नेपालको १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा भएका गम्भीर मानवअधिकार उल्लङ्घनका पीडित तथा प्रभावितको पीडा, सङ्घर्ष अधिकार तथा आवश्यकतासम्बन्धी प्रतिनिधिमूलक घटना समेटिएर बनाइएको वृत्तचित्र प्रर्दशन गरिएको हो ।

कार्यक्रममा प्रदेश नं ५ का प्रदेशसभा सदस्य थानकुमारी थापाले वृत्तचित्रमा वास्तविक द्वन्द्व प्रभावितको पीडा झल्किएको बताउँदै सरकारले तदारुकताका साथ समस्याको हल गर्नुपर्ने बताइन् । उनले द्वन्द्व प्रभावितको स्वास्थ्य उपचार, रोजगारी र शिक्षाको सुनिश्चिताका लागि प्रदेश सरकारले योजना बनाएकाले यसले राहात मिल्ने विश्वास व्यक्त गरिन् ।

बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले तत्कालीन सरकार र विद्रोही पक्ष जिम्मेवार भएर द्वन्द्वका घटनाको यथार्थ विवरण सार्वजनिक गर्नुपर्ने धारणा राख्दै विवरणकै आधारमा पीडितलाई न्याय दिनुपर्ने बताइन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानून तथा संवैधानिक महाशाखाका सचिव राजेन्द्र थापाले द्वन्द्व प्रभावितको समस्या समाधानका लागि सरकारले योजना बनाएर काम थालेको बताए ।

प्रतिक्रिया