मंगलबार, वैशाख ४, २०८१

राष्ट्रिय गौरवका आयोजनाको गति बढाउँदै सरकार

नेपालखोज २०७६ फागुन १७ गते १४:१०

काठमाडौँ । सरकारले राष्ट्रिय गौरवका आयोजनाको पूर्वाधार विकासका कामलाई तीव्रता दिएको छ । मध्यपहाडी राजमार्ग, हुलाकी सडक, उत्तरदक्षिण राजमार्ग, गल्छी–रसुवागढी सडक, मदन भण्डारी राजमार्ग, कालिगण्डकी करिडोरलगायत आयोजनाको पूर्वाधार निर्माणमा सरकारले विशेष चासोका साथ काम गरिरहेको छ ।

सात महिनामा सडक विभागअन्तर्गत सञ्चालित आयोजनामा २४.१३ प्रतिशत पूँजीगत खर्च गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सङ्गठन सुधार र नीतिगत व्यवस्थापनलाई चुस्त पार्दै सञ्चालित आयोजनाको भौतिक प्रगतिलाई परिणाममुखी बनाउन लागेको छ ।

समृद्धिको आधार नै पूर्वाधार भएको उल्लेख गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले राष्ट्रिय गौरवका आयोजनाको पूर्वाधार निर्माण कार्य तीव्रत्तररुपमा अघि बढेको जानकारी दिए ।

सङ्घीयता कार्यान्वयनसँगै केही सडक प्रदेश र स्थानीय सरकारको क्षेत्रमा परे पनि ८० मार्गको १५ हजार किलोमिटर सडक क्षेत्र हेर्ने जिम्मेवारी मन्त्रालयको छ । मन्त्रालयअन्तर्गत ३३ सडक डिभिजन कार्यालय छन् ।

आवश्यकमात्रामा कर्मचारी नहुँदा केही समस्या भने यथावत् रहेको मन्त्रालयले जनाएको छ । कतिपय काम एउटा मन्त्रालयले मात्रै गर्न नसक्ने भएकाले अन्तरमन्त्रालयबीच समन्वय गरी आयोजनालाई गति दिने काम जारी रहेको जनाइएको छ ।

प्रतिक्रिया