कोरोना : यसरी सक्रिय छन् सुरक्षा निकाय
काठमाडौँ । राष्ट्र र जनताको सुरक्षाका लागि अहोरात्र मैदानमा खटिने राज्यका सुरक्षा निकायमाथि यतिखेर नयाँ र फरक किसिमको जिम्मेवारी थपिएको छ । देशमा आइपर्ने जस्तोसुकै महामारी र बिपत्तिमा पनि नागरिक सुरक्षाको मुख्य जिम्मेवारी लिएर मैदानमा खटिने सुरक्षा निकायको काँधमा अहिले भने महामारीको विरुद्धमा लड्नुपर्ने जिम्मेवारी थपिएको हो ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) बिरुद्ध नेपालमा पनि रोकथाम तथा नियन्त्रणका लागि गरिएका पूर्वतयारीको काममा काँधमा काँध मिलाएर देशका अरु सबै निकायजस्तै सुरक्षा निकाय पनि लागिपरेका छन् । यो भाइरसबाट हुनसक्ने सम्भावित सङ्क्रमणलाई रोक्न मुलुकका अन्य क्षेत्रमा जस्तै यस प्रदेशका सुरक्षा निकायले पनि आ–आफ्ना कार्य र क्षेत्रबाट भरपूर रुपमा सघाएका छन् ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबल वर्तमान सङ्कटको अवस्थामा कोरोना भाइरसको सङ्क्रमणका बारेमा नागरिकलाई सचेतना फैल्याउने, आवश्यकताअनुसार नागरिकको उद्धार गर्ने, सरकारले घोषणा गरेको लकडाउन कार्यक्रमको पालना गराउने काममा छन् । सुरक्षाकर्मीहरु अहिले नागरिकको सुरक्षासँगै हातमा कोरोना नियन्त्रणसम्बन्धी सचेतनामुलक पर्चा र माइकसहित यस भाइरसबाट बच्न चेतनामुलक सन्देश सुनाउदै र पर्चा वितरण गर्दै खटिएका देखिन्छन् ।
यस क्षेत्रमा शान्ति सुरक्षाका अतिरिक्त छिमेकी मुलुक भारतबाट फर्किएका सर्वसाधारणलाई उद्धार गरी नेपालमा उनीहरुको गन्तव्यमा पुर्याउने र क्वारेन्टाइनमा राख्ने, सरकारले लागू गरेको लकडाउनको बारेमा नागरिकलाई जानकारी दिने र यस घोषणाको पालना गर्न प्रेरित गर्ने तथा अत्यावश्यक खाद्यान्न तथा स्वास्थ्य सामग्रीको आपूर्तिमा सहजिकरण गर्ने जिम्मेवारी निर्वाह गर्ने भूमिकामा सुरक्षाकर्मी रहेका छन् ।
नेपाली सेनाको मध्यपश्चिम पृतनाको मुख्यालय बुटवलमा छ । मध्यपश्चिम पृतना अन्तर्गत दुई वटा बाहिनी, ११ वटा गण र यस अन्तर्गत युनिटहरु, दुई वटा गुल्म र सैन्य सेवा केन्द्र रहेका छन् । मध्यमध्यपश्चिम अन्तर्गतको नेपाली सेनाका सबै इकाइहरुमा लकडाउन भन्दा पहिले देखि नै कोरोनाको सङ्क्रमणसँग जुध्न अपनाउनुपर्ने विधिका बारेमा प्रारम्भिक आन्तरिक कार्य थालिएको पश्चिम पृतना मुख्यालयका पृतनापति उपरथी सीताराम खड्का बताउनुहुन्छ ।
नेपाली सेनाले यस खालको बिपद्का बेला सुरक्षात्मक र ब्यवस्थापकीय कार्यमा मुख्य भुमिका निर्वाह गर्दै आएको छ । यस्तै सरकारले घोषणा गरेको लकडाउनको प्रभावकारी कार्यान्वयनमा सहयोग, आवश्यक सुरक्षा कार्य र नियन्त्रणसँगै जनचेतनाका कार्यक्रमलाई समेत साथसाथ लिएर गएको पृतनापति उपरथी खड्का बताउनुहुन्छ । यस्तो विपद्को समयमा खाद्य तथा स्वास्थ्य सामाग्रीको ढुवानी र सैन्य सुरक्षामा समेत नेपाली सेनाको भुमिका रहने उहाँ बताउछन्।
मध्यपश्चिम पृतना अन्तर्गत रहेका सबै सैन्य निकायहरुमा अहिलेसम्म १४ स्थानमा क्वारेन्टाइन निर्माण गरी त्यहाँ ४०० भन्दा बढी शैया राखिएको छ । यस्तै १४ वटै स्थानमा आइसोलेसन निर्माण गरी ती ठाउँमा १०३ भन्दा बढी आइसोलेसन बेड बनाइएको छ । नेपाली सेनाको कुनैपनि सदस्य यो अवधिमा बिदाबाट फर्केको छ भने उसलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने ब्यवस्था गरिएको र सेनाको कुनैपनि सदस्यलाई ज्वरो, रुघाखोकी लागेमा चिकित्सकको सिफारिसमा आइसोलेसनमा राख्ने व्यवस्था गरिएको छ । यसका लागि सेनाका १० चिकित्सक सहित ५४४ स्वास्थ्यकर्मी परिचालित छन् ।
यस प्रदेशअन्तर्गत नेपालगञ्जमा नेपाली सेनाको ५० शैयाको सैन्य अस्पताल रहेको छ । उक्त अस्पतालमा आवश्यकता अनुसारको सेवा उपलब्ध गराउन सकिने समेत उपरथी खड्का बताउनुहन्छ । यस्तै नेपाली सेना मध्यपश्चिम पृतना अन्तर्गतका निकायले प्रदेश र स्थानीय सरकार सँगको समन्वयमा १४४ स्थानमा क्वारेन्टाइन निर्माण गरी त्यसको सुरक्षाको समेत व्यवस्थापन गरिएको उपरथी खड्का बताउछन् ।
उता प्रदेश नं। ५ मा नेपाल प्रहरीका झण्डै ९ हजार ५०० जनशक्ति परिचालित छन् । प्रदेशका १२ जिल्लामध्ये मुख्य हेडक्वाटर प्रदेश प्रहरी कार्यालय दाङको तुल्सीपुरमा रहेको छ । यस्तै संघीय प्रहरी कार्यालय रुपन्देहीको भैरहवा, प्रादेशिक प्रहरी तालिमकेन्द्र बुटवल, नेपाल प्रहरीको दङ्गा प्रहरी गण नवलपरासीको भुमहीमा र ५ नं। प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलमा रहेको छ ।
नेपाल प्रहरीको प्रदेशका सबै प्रहरी संरचनामा रहेका जनशक्ति यो महामारीको सङ्क्रमण नियन्त्रणका लागि राज्यका स्थानीय प्रशासन तथा अन्य निकायसँग समन्वय गरेर आवश्यकता अनुसार परिचालित भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक नवराज पोखरेल बताउछन् । उहाँले यस अवधिमा प्रहरीले जनताको सुरक्षासँगै कोरोना सङ्क्रमण नियन्त्रण कार्यक्रमलाई समेत अगाडि बढाएको बताउछन् ।
सुरक्षाकर्मी सेवामा परिचालित हँुदा उनीहरुलाई समेत सङ्क्रमणको उत्तिकै जोखिम छ । फिल्ड वा कार्यालयमा खटिँदा पनि सकेसम्म सरसफाइलाई पुर्ण पालना गर्ने र सेनिटाइजरको प्रयोगमा जोड दिइएको तथा फिल्डमा खटने प्रहरी जनशक्तिलाई पिपिइको व्यवस्था गर्ने प्रयास भइरहेको उनी बताउछन् । त्यसैगरी प्रहरी कोरोना सङ्क्रमितको उपचारका लागि निर्माण गरिएका आइसोलेशन र क्वारेन्टाइनमा समेत सुरक्षाका लागि परिचालित हुनुपरेको पनि उनी बताउछन् ।
यस प्रदेशमा नेपाल प्रहरीको अस्पताल समेत सञ्चालनमा रहेको छ । नेपालगञ्जमा सञ्चालित उक्त अस्पतालबाट कोरोना सङ्क्रमितका लागि उपचार सेवा उपलब्ध गराउने तयारी प्रदेश सरकारले गरेको छ । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक पोखरेलले आवश्यक पर्दा जुनसुकै बेलापनि सेवा सञ्चालन गर्न सकिने अवस्थामा अस्पताल र त्यहाँको जनशक्तिलाई तयारी अवस्थामा राखिएको बताउछन् ।
यस प्रदेशस्थित कपिलबस्तुको चन्द्रौटामा सशस्त्र प्रहरी बलको प्रदेश बाहिनी रहेको छ । प्रदेश बाहिनीअन्तर्गत यस प्रदेशका जिल्लाहरुमा सशस्त्र प्रहरी गण र गुल्म रहेका छन् । यस प्रदेशमा नवलपरासीको बर्दघाटमा सशस्त्र प्रहरी बल नेपाल, सिमा सुरक्षा तालिम शिक्षालय समेत रहेको सशस्त्र प्रहरी प्रदेश बाहिनीका सूचना अधिकृत सशस्त्र प्रहरी उपरीक्षक तीर्थ पौडेल बताउछन् । यस प्रदेशमा सशस्त्र प्रहरीका झण्डै ४ हजार ५०० को जनशक्ति परिचालित रहेका छन् ।
उहाँकाअनुसार सशस्त्र प्रहरी पनि यो महाबिपत्तिको सामनाका लागि सरकारले घोषणा गरेको लकडाउनको पूर्ण कार्यान्वयनका लागि परिचालित हुने, नेपाल भारत सिमा क्षेत्रमा सिमा नाका बन्दगर्ने जस्ता कामका साथै स्थानीय प्रशासन र स्थानीय तहहरुसँगको समन्वयमा जनचेतनामुलक कार्यमा सहकार्य गर्ने काममा समेत परिचालित भएको छ ।
सशस्त्र प्रहरी बलको पनि यस प्रदेशमा फिल्ड अस्पतालको रुपमा बाँकेको कोहलपुरमा ५० शैयाको अस्पताल सञ्चालनमा छ । उक्त अस्पतालमा पनि कोरोना सङ्क्रमितको उपचारका लागि अहिलेसम्म कुनै तयारी छैन । तर महामारीको अवस्था आइहालेमा आवश्यक सेवा दिनेगरी तयारी हुने समेत उनी बताउछन् ।
विश्वमै महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरसको नियन्त्रणका लागि सुरक्षाकर्मीले सबैखाले चुनौतीमा आफु सुरक्षित रहेर नागरिकलाई उद्धारगर्ने कार्यमा अहिले देखि नै पूर्ण तयारीका साथ लाग्नुपर्ने सुझाव मानवअधिकार तथा सुरक्षाको क्षेत्रमा कार्यरत अधिवक्ता शिवप्रसाद गौडेलको छ । उनले यस्ता महामारी जस्ता घटनामा चिकित्सक र सुरक्षा निकायका व्यक्तिहरुको भूमिका अग्रपंक्तिमा रहने भएकाले महामारीसँगकार्यमा अहिले देखि नै पूर्ण तयारीका साथ लाग्नुपर्ने सुझाव मानवअधिकार तथा सुरक्षाको क्षेत्रमा कार्यरत अधिवक्ता शिवप्रसाद गौडेलको छ ।
प्रतिक्रिया