शुक्रबार, वैशाख १४, २०८१

जिल्ला प्रशासन कार्यालय काठमाडौंले नै गरिरहेछ ‘लकडाउन’को अवज्ञा

नेपालखोज २०७६ चैत २० गते १३:५६

काठमाडौं । कोराना भाईरस संक्रमण रोक्नका लागि नेपाल सरकारले मुलुकभर लकडाउने गरेको आज १० दिन वितिसकेको छ । जनतालाई कोरोना संक्रमणबाट बच्नका लागि सरकारले सुरक्षित रुपमा घरभित्रै बस्नका लागि आग्रह गरिरहेको पनि छ । अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन आग्रह गरिरहेका बेला लकडाउनको अवज्ञा सरकारी कार्यालय त्यसमाथि पनि कानून पालन गराउने जिल्ला प्रशासन कार्यालयले नै गरिरहेको छ ।

जिल्ला प्रशासन कार्यालयको निर्देशनका सडकमा सुरक्षार्थ खटिएका प्रहरीहरुले दैनिक उपभोग्य सामग्री खरिद गर्न निस्केका नागरिकहरुलाई दुई घण्टा सडका उभ्याएर दुख दिईरहेको छ एकातिर भने अर्कोतिर त्यही जिल्ला प्रशासन कार्यालय सरकारले बनाएको मापदण्ड विपरित कार्यालयमा पास वितरणका नाममा भीड जम्मा गरिरहेको छ ।
काठमाडौं जिल्ला प्रशासन कार्यालय ववरमहल अगाडि सयौंको संख्याको भीड देखिन्छ । जवकी एक व्यक्ति र अर्को व्यक्तिको दुरी करीव १ मिटर हुनु पर्ने भनिएको छ । प्रशासन कार्यालयले पास वितरण गर्ने नाममा गराएको भीडबाट कोरोना संक्रमण फैलिने सम्भावना झन बढी देखिएको छ । नियमित जिल्ला प्रशासन कार्यालयमा पासका लागि भीड जम्मा गर्ने काम तत्काल नरोकिने हो भने र जथाभावी रुपमा पास वितरण गर्ने हो भने सरकारले गरेको लकडाउनको कुनै अर्थ राख्दैन ।

विगतमा दिनहरुमा भन्दा आज सडकमा पहेँलो पास टाँसेर हिड्ने सवारी साधन निकै बढेको देखिन्छ । विशेष गरी निजी महंगा सवारी साधनहरुले पास पाईरहेका छन् । लकडाउनका अवस्थामा अस्पताल, सुरक्षासँग सम्वन्धित, सञ्चार, दैनिक उपभोग्य सामग्रीका ढुवानीका साधन बाहेक अरु सवारी निकै बढ्न थालेका छन् । लामो दुई हप्ताको लकडाउन अवधिका कारण पहुँच पु¥याएर पास लिने सवारी कुदाउनेहरु पनि प्रशस्त देखिएका छन् ।

तर विरामी लिएर जाने र कतिपय अत्यावश्यक काममा हिडेकाहरुलाई पनि विना पास बाहिर निस्केको भन्दै उनीहरुले प्रयोग गरेका मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिईरहेको अवस्था छ । काठमाडौं जिल्लाभरी सञ्चालन हुने सवारी पासका लागि जिल्ला प्रशासन कार्यालय बबरमहल नै पुग्नु पर्ने अवस्था हुनु र त्यहाँ भीडभाड हुनुले कोरोना संक्रमणको चुनौती थपिएको छ ।

वर्तमान संक्रमण अवस्थामा सवारी सञ्चालनका लागि नजिकको प्रहरी चौकी र स्थानीय सरकारको संयुक्त रोहवरमा अत्यावश्यक पास उपलब्ध गराउने व्यवस्था गरिने हो भने संक्रमण रोक्नका लागि पक्कै मद्दत पुग्ने थियो कि ।

जिल्ला प्रशासन कार्यालयका प्रमुखले उपलब्ध गराएको सवारी पास विशेष कामका लागि सदुपयोग हुनु पर्नेमा निकै नै दुरुपयोग भएको देख्न सकिन्छ । यसले पासका वितरणका नाममा सरकारको लकडाउनको अवज्ञा जिल्ला प्रशासन कार्यालय काठमाडौंले गरिरहेको छ भन्दा अत्युक्ति होला कि ?

प्रतिक्रिया