शुक्रबार, वैशाख ७, २०८१

लकडाउन अझै बढ्न सक्ने संकेत

नेपालखोज २०७६ चैत २२ गते १७:५४

काठमाण्डौ । सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा शनिवार एकैपटक ३ जनामा कोरोना संक्रमण पुष्टी भएपछि सरकारले लकडाउनको समय बढाउन सक्ने संकेत गरेको छ ।

पहिलोपटक नेपालभित्रै रहेका एक व्यक्तिबाट अर्काे व्यक्तिमा कोरोना सरेको पाइएकाले लकडाउनलाई अझै कडाइका साथ पालना गर्न सरकारले आग्रह गरेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न भनेर सरकार चैत्र ११ गते एक साताको लागि लकडाउनको घोषणा गरेको थियो । यसको प्रभावकारितालाई ध्यान दिँदै चैत्र २५ गतेसम्मका लागि दोश्रो पटकको लकडाउन चलिरहेको छ ।

आज सुदूरपश्चिममा एकैपटक ३ जनामा कोरोना संक्रमण पुष्टी भएपश्चात नेपालमा कोरोना संक्रमण दोश्रो चरणमा प्रवेश गरेको सरकारले बताएको छ । यस अवस्थामा हाल चालू रहेको लकडाउनलाई अझै कडाइका साथ लागू गर्दै अर्काे साता पनि लकडाउन गर्ने मनस्थितिमा सरकार पुगेको छ ।

सरकारले १४ दिन क्वारेन्टाइनमा बसिसकेकाहरुलाई पनि अझै केही दिन क्वारेन्टाइनमा बसिदिन समेत आग्रह गरेको छ ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले कैलाली र कञ्चनपुरका तीन व्यक्तिमा कोरोना पोजेटिभ देखिएको घटनाले नेपाल संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको बताएका छन् ।

पछिल्लो पटक जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ४१ र २१ वर्षका दुई जना पुरुष तथा ३४ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । ४१ र २१ वर्षका पुरुषहरु भारतबाट आएका हुन् भने ३४ वर्षीया महिला कैलालीस्थित घरमै रहेकी थिइन् ।

उनीहरुलाई आ–आफ्ना जिल्लाको क्वारेन्टाइनमा बसेको बेला नमूना लिएर परीक्षण गर्दा तीनैजनामा संक्रमण पोजेटिभ पाइएको हो । उनीहरु सबैको अहिले सेती अञ्चल अस्पताल धनगढीमा उपचार भइरहेको छ ।

कैलालीकी ३४ वर्षीया महिला अर्का एक युवककी भाउजू हुन् । यसले नेपालमै रहेको एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना सरेको पाइएकाले नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको डा. देवकोटाले बताए ।

प्रतिक्रिया