मंगलबार, वैशाख ११, २०८१

लकडाउनका कारण वित्तिय क्षेत्रमा संकट, के भन्छन् पवनकुमार गोल्यान ?

नेपालखोज २०७७ वैशाख ९ गते २२:०५

यतिखेर विश्व कोभिड १९ (कोरोना भाईरस) को त्रासमा छ । विश्वमहामारीका रुपमा फैलिएको यो भाइरसका कारण अधिकांश देश लकडाउनको अवस्था देखिन्छ । जसका कारण विश्वभर आर्थिक मन्दीका संकेतहरु देखिन थालेका छन् । त्यसबाट नेपाल पनि अछुतो रहन सक्दैन । विश्वभर देखिएको आर्थिक मन्दीको संकेत र नेपालमा करीव १ महिनादेखि शुरु भएका लकडाउनको यो परिवेशमा नेपाली बैक तथा वित्तिय संस्था कसरी अगाडि बढ्लान् भन्ने विषयमा बैक तथा वित्तिय संस्था परिसंघका अध्यक्ष पवनकुमार गोल्यानसँग नेपाल खोजका लागि बैकुण्ठ भण्डारीले गर्नु भएको कुराकानीको अंश :

० कोरोना संक्रमणसँग शुरु भएको लकडाउनका बैकिङ्ग क्षेत्रमा निकै चुनौती थपिएको छ भन्छन् नि ?

बैकले उद्योगदेखि पर्यटन, स्थानीय व्यवसायदेखि कृषि क्षेत्रसम्म लगानी गरिरहेको अवस्था छ । लकडाउनका कारण अहिले यी सवै क्षेत्र समस्यामा छन् । बैकले लगानी गरेका क्षेत्र समस्यामा आएपछि स्वत रुपमा बैकहरु समस्यामा पर्ने भए । अरु क्षेत्र समस्यामा आउने बैकिङ्ग क्षेत्र समस्या नआउने भन्ने कुरा सम्भव नै छैन । अव यसको असर कहिलेसम्म पर्दछ भन्ने कुरा यकिन गर्न सकिने अवस्था छैन । नेपालमा मात्र होइन विश्वमा पनि कसैले सोच्न सक्ने अवस्था देखिएको छैन ।

० वाणिज्य वैकहरुलाई नेपाल राष्ट्र बैकले समेत सकारात्मक रुपमा नहेरिरहेको अवस्थामा लकडाउनले झन् प्रभावित बनाएको छ । अव अगाडिको बाटो के हो ?

अवको बाटो भनेको हामीले सोच परिवर्तन गर्नु नै हो । बैक नयाँ ग्रहबाट आएको पनि होइन सिस्टममा नै चलिरहेको संस्था हो । अव हाम्रा सेवाग्राही रहे मात्र हामी रहन्छौं भन्ने सोच सहित दुवै पक्षको सहकार्यका अगाडि बढ्नु पर्ने हुन्छ । हाम्रो भनाई के छ भने सम्पत्ति शुद्धिकरणको डरले बैकिङ्ग सिस्टममा नआएको पैसा, एनआरएनहरुसँग भएको रकमदेखि साना किसानसम्म रहको पैसा अव सरकारले ल्याउनु आवश्यक छ ।

० सरकारले त्यस्तो पहल गर्छ भन्ने लाग्छ तपाइँलाई ?

सरकारले त्यस्तो नीति ल्याउनै पर्दछ, धेरै नीति नियमलाई खुकुलो बनाउनु पर्दछ र सरकारले पहल गर्दछ भन्ने म विश्वास लिन्छु ।

० बैकहरुको दायित्व छैन ?

देशलाई स्वाबलम्वी कसरी बनाउने भन्ने सोचका लागि बैकहरुले नयाँ योजना ल्याउनु पर्दछ । रेमिट्यान्सबाट आर्थिक समृद्धि भन्दा पनि उत्पादन निर्यात गरेर आर्थिक समृद्धि तर्फ हामी लाग्नु पर्दछ । त्यसका लागि कृषि उत्पादनदेखि सानासाना कृषि उद्योगहरु खोल्ने काम समेत गर्नु पर्ने हुन्छ । आलु चिप्सदेखि बटरसम्मको उत्पादनमा हामी लाग्नु पर्दछ । अमूलको बटर बार्षिक १ अर्वको आयात गरिरहेका छौं । दालमोठजन्य बस्तुहरु २ अर्वको ल्याईरहेका छौं । ती सवै नेपालमा उत्पादन गर्न सक्ने गरी बैकहरुले लगानी गर्नु आवश्यक छ ।

० उत्पादनको कुरा गर्नु भो तर बैकहरु त्यसमा सहमत छन् त ?

हिजो के थियो भन्दा पनि भोली के गर्ने भन्ने हो । हामीहरुले त्यसमा छलफल गरिरहेका छौं । प्रदेश सरकारदेखि स्थानीय सरकारसम्म हामीले कुरा गरिरहेका छौं । विदेशबाट फर्कन सक्ने नेपाली युवाहरुलाई समेत उत्पादनशील कार्यमा लगाउने गरी १० देखि १५ लाखसम्मको सहुलियत कर्जा दिने योजना बनाईरहेका छौं । त्यत्तिमात्र होइन वैकहरुको छाता संगठन बैक तथा वित्तिय सस्था परिसंघ नेपालबाट हामी उहाँहरुलाई तालिम समेत प्रदान गरी आत्मनिर्भर बनाउने तर्फ पनि सोच बनाएका छौं । उहाँहरुले उत्पादन गरेको बस्तुलाई ब्राण्डिङ्ग गराउने काममा हामी लाग्ने छौं ।

० तर बैकहरु कृषिमा लगानी नै गर्न चाहँदैनन् भन्ने कुरा विगतले प्रष्ट पारिसकेको छ नि होइन र ?

यो कुरालाई अव बैकहरुको थियो भन्नु पर्दछ । म आफै अध्यक्ष भएको एनएमवी वैकले एक वर्ष अघिदेखि कृषिमा नै लगानी बढाएका छौं । १ नम्वर प्रदेशमा १० लाखसम्मको कर्जा निकै नै दिएका छौं । अव अरु वैक पनि सहमतमा आउनु हुन्छ । हामी निकै नै छलफल गरिरहेका छौं । यो हामी बैकहरुको पनि दायित्व हो भन्ने सोचले काम शुरु गर्दै थियौं कोभिड १९ शुरु भएकाले रोकियो ।

० मुलुकको आर्थिक समृद्धि गर्नका लागि उत्पादन बढाउनुको विकल्प नभएको र सीप किसाउने कुरा यहाँले गरिरहनु भएको छ तर बजारको अवस्था ऋणको अवस्था हेर्ने हो भने त निकै समस्या छ ?

मैले अघि पनि भने सरकारले बैकिङ्ग सिस्टममा नआएको पैसा परिचालन गर्न अवस्थाको सिर्जना गरिदिने हो भने गाउँसम्म पुगेर रकम जम्मा गर्न प्रोत्साहन गर्न र सहुलियत कर्जा ५ प्रतिशत दिन्छौं भन्ने ग्यारेण्टी सहित उत्पादित बस्तुको बजार ग्यारेण्टीको कुरा सरकारले गर्नु पर्दछ त्यसका लागि हामी सहयोग गर्न छौ ।

० त्यसो भए लकडाउनका कारण नेपाली बैकहरुलाई उत्पादनमा लगानी गर्न वातावरण बनायो भन्दा ठिक हुन्छ ?

एकदमै हुन्छ ,यो गर्नु नै पर्दछ । हामीसँग ग्राहक रहेमात्र हामी रहन्छौ भन्ने कुरा सवै बैकहरुले बुझेका छन् । लकडाउने एकदुई हप्तामा खुले पनि हामी पहिलेकै अवस्थामा पुग्नको धेरै नै समय लाग्ने देखिन्छ । अव ठूला लगानी आउने वातावरण बन्छ बन्दैन थाहा छैन तर सानासाना विशेष गरी कृषिजन्य उत्पादन लगानी गर्ने वातावरण बनिरहेको छ । किसान तथा विदेशबाट फर्कने भाईबहिनीहरुले यस्ता उद्योगहरु सहज रुपमा सञ्चालन गर्न सक्छन् । हाम्रो अवको प्राथमिकता भनेको यसमा नै हुन्छ ।

प्रतिक्रिया