शनिबार, वैशाख १५, २०८१

कोरोनाको कहरमा, सम्पदाका शोभाको कारुणिक अवस्था

नेपालखोज २०७७ वैशाख १४ गते १३:०८

भनिरहनु पर्दैन, सम्पदा तथा ऐतिहासिकताको शहर काठमाडौं उपत्यका । परापूर्वकालदेखि मठ, मन्दिर, पार्टी पौवा अनि सम्पदा नै सम्पदाको शहरका रुपमा विश्वभरि चिनिएको छ काठमाडौं उपत्यका । तात्कालिन समयमा निर्माण गरिएका ती सम्पदाहरुले काठमाडौंको बेग्लै पहिचान गराईरहेको छ । जुन आजसम्म पनि मूर्त अमूर्त सम्पदाकै कारण काठमाडौं शहर पर्यटकहरुका लागि उत्कृष्ट पर्यटन गन्तव्य स्थलका रुपमा रहँदै आएको छ ।

काठमाडौं शहरको इतिहासको परिचय कुनै शब्द वा लेखाईले होइन महानगर क्षेत्रभित्र रहेका ऐतिहासिक सम्पदाले मौन रुपले बर्षौदेखि दिईनै रहेका छन् । फलस्वरुप संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोको विश्व सम्पदा सुचीमा धेरै सम्पदाहरु सुचीकृत भएका छन् ।

विश्व सम्पदा र राष्ट्रिय सम्पदा गरी सयौंको संख्यामा रहेका यि ऐतिहासिक सम्पदाका क्षेत्रमा मानिससँगै पशुपंक्षीको समान सहभागीता रहने गर्दथ्यो । कुनै समय आन्तरिक तथा बाह्य पर्यटकको चाप हुने स्थान हाल सुनसान देखिन्छन् । लकडाउनका कारण अहिले मानिसको संख्या शुन्य छ भने पशुपंछी टुहुरा जस्तै देखिन्छन् ।

काठमाडौं उपत्यका मात्र होइन समग्र मुलुकसँगै विश्व नै अहिले नयाँ प्रजातिको कोरोना भाईरसका कारण लकडाउनको सामना गरिरहेको छ । जनावरबाटै मानिसमा सरेको भनिएको यो रोग विचरा ती चेतना नभएका बाँदर, कुकुरलाई के थाहा ? सम्पदाको शोभा बढाउने यी पशुपंछीलाई आहार बोकेर आउने मानिस अहिले बन्दाबन्दिका कारण घरभन्दा बाहिर निस्कन पाएका छैनन् । भक्तजन तथा पर्यटकको सहारामा बाँचेका जनावरका अभिभावक नै बन्दाबन्दिमा परेपछि भोको रहनु स्वभाविक नै हो ।

मुलुक लकडाउनमा भएको एक महिना वितिसकेको छ । आफै उत्पादन गरेर जीवन निर्वाह गर्ने मान्छेलाई त खानाको समस्या परिरहेको बेला बिचरा जनाबरले कहाँबाट पाउन् ?

मानवसँगै समग्र जनावर तथा पशुपन्छीको अभिभावकको दायित्व निर्वाह गर्नु पर्ने सरकरले स्थानीय सरकारलाई राहत वितरणर खानाको व्यवस्था गर्न निर्देशन दिएको थियो । स्थानीय सरकारको रुपमा रहेको काठमाडौं महानगरपालिकाले महानगरभित्र बसोबास गर्ने नागरिकहरुलाई राहत वितरण गरेसँगै जनावर तथा पशुपंछीलाई खाना वितरण गरी अभिभावकको भूमिका निर्वाह गरिरहेको छ । उपत्यका भित्रका स्थानीय सरकारले विश्व सम्पदा तथा राष्ट्रिय सम्पदामा सुचिकृत सम्पदा क्षेत्रमा रहेका जनावर तथा पशुपंछीलाई नियमित रुपमा खाना खुवाउदैँ आइरहेको छ ।

काठमाडौं महानगरपालिकाले पाशुपत क्षेत्र, स्वयम्भू, बौद्व, बसन्तपुर दरबार क्षेत्र लगायतका क्षेत्रमा रहेका जनावर तथा पशुपंछीलाई नियमित रुपमा खाना खुवाउँदै आइरहेको छ ।

कोरोना संक्रमणका कारण विश्वमा फैलिएको महामारी न्यूनिकरण गर्नका लागि लकडाउनको अवस्थामा कोही पनि भोकै नपुरुन् भन्ने उदेश्यले राहत उपलब्ध गराईरहेको वर्तमान अवस्थामा पशुहरु पनि भोकै नरहुन् भन्दै काठमाडौं महानगरपालिकाले मातहतका सबै वडालाई आहारको व्यवस्था गर्न निर्देशन दिएको भए पनि व्यवहारिक रुपमा पशुपंछीका लागि खासै वास्ता गरिएको देखिँदैन । तर पनि पशुपंक्षीलाई आहार खुवाउने काम राम्रोसंग भए नभएको विषयमा केहि सम्पदा र सार्वजनिक क्षेत्रको अवलोकन गर्दै चौपाया, बाँदर तथा पंक्षीहरुलाई आहार खुवाउने काम गरेको महानगरप्रमुख विद्यासुन्दर शाक्य बताउँछन् ।

काठमाडौं महानगरपालिकामा भएका ४ वटा बिश्व सम्पदा क्षेत्रमध्ये स्वयम्भू र पशुपति क्षेत्रमा बाँदरको संख्या धेरै छ भने बसन्तपुर र बौद्ध क्षेत्रमा परेवा धेरै छन् । महानगरसंगै केही व्यक्तिगत रुपमा र केही गैरसरकारी संघ संस्थाहरुले पनि पशुपंक्षीलाई आहारको व्यवस्था गरिरहेका छन् ।

काठमाडौं महानगरपालिकाका वडा कार्यालयले समेत जनावर तथा पशुपंछीलाई खाना खुवाउने काम गरिरहेका छन् । महानगरपालिकको वडा नं ११ ले लकडाउन शुरु भएदेखि नै खाना खुवाउने काम गरिरहेको र बाँदरको आहारामा पर्ने चना, विस्कुट, मुछेको पिठो, केरा, गाजर, तरकारीका साथै बजारमा उपलब्ध खाद्यान्न बिहान र बेलुका खुवाउदैँ आएको वडा नं ११ का अध्यक्ष हिरालाल तण्डुकारको भनाई रहेको छ ।
महानगरपालिकासँगै विभिन्न संघ संस्था तथा व्यक्ति स्वयमले समेत कुकुर तथा अन्य जनावरलाई खानाको व्यवस्था गर्दैआइरहेका छन् ।

लामो समयदेखि सामुदायिक कुकुरहरुको संरक्षण गर्दै आईरहेको स्नेहाज केयर सेण्टरले सुन्धारा, भृकुटी मण्डप लगायत काठमाडौ उपत्यका भित्र दैनिक करीव एक हजार सामुदायिक कुकुरलाई आहारा उपलब्ध गराउँदै आइरहेको छ । पशुपंछी संरक्षणका लागि प्रमुख दायित्व वोकेको कृषि तथा पशुपंछी विकास मन्त्रालयले पशुपंछीको सेवामा पूर्ण रुपमा वेवास्ता गरेको स्नेहाज केयरकी संस्थापक स्नेहा श्रेष्ठको आरोप छ ।

प्रतिक्रिया