शनिबार, वैशाख १३, २०८२

गायक ढकाल चलचित्र पार्श्व गायनमा जम्दै, ‘माया जदौ’ करोड बढी हेरियो

नेपालखोज २०७७ वैशाख २२ गते २०:०३

काठमाडौं । लोकप्रिय गायक रामकृष्ण ढकालको पछिल्लो गीत ‘माया जदौ’ करोड क्लबमा प्रवेश गरेको छ । लामो समयको अन्तराल पछि गायक ढकाल फेरि एकपटक चलचित्र पार्श्व गायनमा रुचीकर गीतमार्फत दर्शक तथा स्रोता माझ प्रस्तुत भएका छन् ।

गायक ढकालले ‘माया जदौ’ करोड कल्बमा प्रवेश गरेको अवसरमा फेसबुकमा लामो स्टाटस लेख्दै भनेका छन्, ‘मेरो स्वरमा रहेको चलचित्र हिजोआजका कुराको ‘माया जदौ’ बोलको गीत सफलतातिर अग्रसर हुँदै करोड क्लबमा प्रबेश गरेको छ । चलचित्र पक्कै सफल हुनेछ । सम्बन्धित सबैमा आभार तथा शुभकामना । लामो समयको अन्तरालमा फेरि एकपटक चलचित्र पार्श्व गायनमा रुचीकर गीत गाउने मौका मिल्यो चलचित्र हिजोआजका कुरामा । गीत लोकप्रिय पनि रहयो । शब्दकार आनन्द अधिकारी, संगीतकार दीपक शर्मा, चलचित्र निर्माता, तथा अभिनेता संन्तोष पन्त निर्देशक साकार पन्त लगायत सबै टिमप्रति आभार व्यक्त गर्दछु । स्वरमा साथ दिने मेलिना राईप्रति पनि आभार । अझ रोचक कुरा त मेरो आवाजमा रहेको यस गीतमा दिपाश्री, केदार घिमिरे, जितु नेपाल, संन्तोष पन्त ,गौरी मल्ल, रमा थपलिया, बसुन्धरा भुषाल, केकी अधिकारी, रिचा शर्मा, रिमा बिश्वकर्मा, जिविका कार्की, नीर शाह, लुनिभा तुलाधर, जयनन्द लामा, शिवहरी पौडेल, धिरेन शाक्य, भुवन चन्द्र, नवीन भट्टराई, शम्भुजित बास्कोटा, मिथिला शर्मा ,मदनकृष्ण श्रेष्ठ, दिनेश डिसी, गोपाल कायस्थ नम्रता श्रेष्ठ, नितेजजंग कुँवर रिंकु बज्राचार्य, यमन श्रेष्ठलगायत दर्जनौ कलाकारले अभिनय तथा नृत्य गरेको यों गीत आफैमा ऐतिहासिक छ । यति धेरै कलाकारलाई एकैपटक पार्श्व गायन गर्न पाउनुले निकै गौरवान्वित बनाएको छ ।’

चलचित्र ‘हिजोआजका कुरा’ को यस गीतमा गायक रामकृष्ण ढकाललाई सर्वाधिक लोकप्रिय गायिका मेलिना राईले स्वरमा साथ दिएकी छन् । टिकटकमा अझ बढी लोकप्रिय बन्न पुगेको गायक ढकालको ‘माया जदौ’ लाई युट्युवमा एक करोड भन्दा बढी पटक हेरिएको छ ।

साकार पन्तद्वारा पहिलो निर्देशित चलचित्र ‘हिजो आजका कुरा’को ‘माया जदौ’ गीतमा आनन्द अधिकारीको शब्द र दीपक शर्माको संगीत रहेको छ । यस गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् ।

कमेडी जनरामा निर्माण भएको यो चलचित्र वैशाख १२ गते नै प्रदर्शन हुने तय भएको भए पनि देशैभरी जारी लकडाउनका कारण प्रदर्शन मिति अनिश्चित बनेको छ ।

प्रतिक्रिया