प्रहरीमाथि हातपात गर्ने ४ चिनियाँ नागरिकलाई १० दिन हिरासतमा राख्न अनुमति
काठमाडौं । प्रहरीमाथि हातपात गर्ने चार जना चिनियाँ नागरिकलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रशासनले अनुमति दिएको छ ।
शक्रबार ती चिनियाँ नागरिकले सिंहदरबारको मुख्य गेट अगाडि प्रदर्शन गर्ने क्रममा प्रहरीसँग हातपात भएको थियो। स्वदेश फिर्ताको माग गर्दै प्रदर्शन गर्ने ४७ चिनियाँ नागरिक शुक्रबार पक्राउ परेका थिए । यसमध्य बाँकीलाई त्यही दिन राति छाडिएको थियो ।
आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौँले उनीहरुलाई १० दिन हिरासतमा राखेर अनुसनधान गर्न प्रहरीलाई अनुमति दिएको हो। चार जनालाई भने अभद्र व्यवहारमा मुद्दा चलाउन अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी श्याम ज्ञवालीले बताए ।
नेपालस्थित भिबो कम्पनीका प्रतिनिधिको जिम्मामा ४३ जनालाई छाडिएको थियो । पक्राउ परेका मध्ये ५ जना भिबो कम्पनीकै कर्मचारी हुन्। प्रदर्शन गर्न पुगेका उनीहरुलाई प्रहरीले फर्किन आग्रह गरेको थियो ।
अटेर गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो । सो क्रममा प्रहरी र चिनियाँ नागरिकबीच हात हालाहाल भएको थियो। सो झडपमा प्रहरी वृत्त सिंहदरबारका प्रहरी उपरीक्षक हरिबहादुर बस्नेतसहित दुई प्रहरीलाई चोट लागेको थियो। यस्तै चिनियाँ नागरिक पनि केहीलाई चोट लागेको थियो।

प्रतिक्रिया