मुलुकमा खाद्यान्न र औषधिको आयात बढ्यो

नेपालखोज २०७७ जेठ १ गते १३:४६

काठमाडौं । विश्वभर कोरोनोको सन्त्रास फैलिएको बेला नेपाल गत चैत्र ११ गतेदेखि पूर्ण रुपमा लकडाउनमा छ । यस क्रममा मुलुकमा खाद्यान्न र औषधिको आयात ह्वात्तै बढेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार लकडाउन सुरु भएको पहिलो साताको तुलनामा सातौं हप्ता खाद्यान्न आयात एक सय १४ प्रतिशतले बढेको छ ।

अभाव हुन नदिन आयात बढाएको र आयात बढाउन विभिन्न निकाय तथा व्यापारीसँग समन्वय गरिरहेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बताएका छन् । मन्त्रालयले आयात र ढुवानीका लागि निकायमा सहजीकरण गरेको छ ।

मन्त्रालयका अन्सार हाल फलफूलमा तीन सय ७६ प्रतिशत, औषधिको कच्चा पदार्थमा एक सय ७७ प्रतिशत र औषधिमा दुई सय ४५ प्रतिशतले आयात बढेको छ ।

लकडाउन अवधिमा मात्रै एक लाख ५९ हजार पाँच सय ६१ मेट्रिक टन खाद्यान्न आयात भएको मन्त्रालयको भनाइ छ ।
यो अवधिमा ५२ करोड ४३ लाख ८६ हजार रुपैयाँको औषधिका कच्चा पदार्थ र दुई अर्ब ५९ करोड ७२ लाख रुपैयाँको औषधि आयात भएको छ । दुग्धजन्य वस्तु ११ हजार एक सय २७ मेट्रिक टन आयात भएको छ ।

प्रतिक्रिया