अमेरिकामा ३ करोड ६० लाखले मागे बेरोजगारी भत्ता
काठमाडौँ । अमेरिकामा कोरोना भाइरसका कारण बेरोजगार हुनुपरेको भन्दै ३ करोड ६० लाखभन्दा बढीले बेरोजगार भत्ताका लागि फाराम भरेका छन् । पछिल्लो २ महिनामा बेरोजगार भत्ता माग गर्दै यतिधेरैले फारम भरेका हुन् । उनीहरुमध्ये झण्डै ३० लाखले पछिल्लो एक हप्तामा मात्रै फाराम भरेको अधिकारीहरुले जानकारी दिएका छन् ।
बेरोजगार भत्ताको दाबी गर्नेहरुको संख्या बढ्दै गएपछि सरकारले केही राज्यहरुमा व्यापारिक तथा व्यावसायिक गतिविधिलाई पुनः सञ्चालन गर्न अनुमति दिएको छ । कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि अहिले लाखौं मानिसले अमेरिकामा रोजगारी गुमाएको श्रम विभागले जनाएको छ ।
यति धेरै मानिस एकैचोटी रोजगारविहिन भएको र बेरोजगार भत्ता पनि यति धेरै मानिसले एकै पटक मागेको यो दुर्लभ घटना भएको अधिकारीहरुले बताएका छन् । बेरोजगार भत्ताका लागि फाराम भरेका मध्ये केहीले भने अहिले राहत प्राप्त गर्न निकै कठिनाई भइरहेको बताएका छन् ।
प्रतिक्रिया