बुधबार, वैशाख २६, २०८१

पर्यटकीय संरचना निर्माणमा वर्षौँदेखि भारतीय अवरोध

नेपालखोज २०७७ जेठ २ गते १६:०२

इलाम । भारतले पूर्वी पहाडको सीमावर्ती क्षेत्रमा पर्यटकीय संरचना निर्माण गर्न वर्षौँदेखि अवरोध गर्दै आएको छ ।

शृङ्हलीला पर्वतीय शृङ्खलामा अवस्थित इलाम, पाँचथर र ताप्लेजुङ जिल्लामा पर्ने सीमावर्ती पर्यटकीय क्षेत्रमा भारतले विगत तीन वर्षदेखि कुनै पनि संरचना बनाउन दिएको छैन । नेपालका अधिकांश पदमार्ग पश्चिम नेपाल केन्द्रित रहेको र पूर्वमा पर्यटकको उपस्थिति कमजोर रहेको निष्कर्ष पछि नेपाल पर्यटन बोर्डले यहाँ नयाँ पदमार्ग (ट्रेकिङ रुट) निर्माण थालेको थियो ।

तर भारतीय अवरोधले उक्त पदमार्ग निर्माणको भविष्य नै अन्योलमा परेको छ । इलामको सन्दकपुर तथा पाँचथरको फालोट क्षेत्रमा समेत पर्यटकीय पूर्वाधार निर्माणमा भारतीय पक्ष बाधक बन्दै आएको छ । मेची पहाडी क्षेत्र पर्यटन विकास समितिले दुई वर्षअघि सीमावर्ती क्षेत्रबाट पशुपतिनगर–कञ्चनजङ्घा पदमार्ग निर्माण थालेको थियो ।

इलामको पशुपतिनगरदेखि ताप्लेजुङको कञ्चनजङ्घा हिमालको दक्षिण बेसक्याम्पसम्म पुग्ने यो नयाँ पदमार्ग पर्यटकका लागि नयाँ गन्तव्य हुने समितिको निष्कर्ष थियो । तर भारतीय सीमा सुरक्षा बलले निरन्तर अवरोध गरेपछि पदमार्ग निर्माणकार्यले गति लिनसकेको छैन ।

दशगजा क्षेत्रभन्दा वरबाटै पदमार्ग निर्माण गर्न थालिए पनि भारतीय पक्षले अवरोध सिर्जना गर्दै आएको छ । पदमार्ग निर्माणमा गत वर्ष रु ६५ लाख बजेट विनियोजन थियो । गत वर्ष सहजरूपमा बजेट खर्च नभएपछि यस वर्ष बजेट नै नछुट्टिएको हो ।

निर्वाध नेपाली भूमिको प्रयोग
नेपालमा संरचना निर्माणमा अवरोध गरेको भारतले आफ्ना पर्यटन व्यवसायी तथा तेस्रो मुलुकका पर्यटकलाई भने नेपाली भूमि प्रयोग गर्न मद्दत गरेको छ ।

“भारतीयले हाम्रो भूमि र स्रोत साधनको प्रयोग गर्छन् । तेस्रो मुलुकका पर्यटकहरु हाम्रै बाटो हिँड्छन् । फाइदा भने भारत सरकार र भारतका पर्यटन व्यवसायीले उठाउँछन्”, राईले भने। दृश्यावलोकन, जैविक विविधता र धार्मिक हिसाबले अब्बल सन्दकपुरबाट भारतले मात्रै फाइदा उठाइरहेको छ ।

मेची पहाडी क्षेत्र पर्यटन विकास समितिका सूचना अधिकारी पौडल सामान्य पूर्वाधार मात्रै निर्माण गर्न सके पनि सीमालाई बलियो बनाउन मद्दत मिल्ने बताउँछन् ।

यस्तै रातो हाब्रे पाइने सीमा क्षेत्रमा समेत भारतले विभिन्न संरचना निर्माण गर्नुका साथै विद्युत विस्तार गरेको छ । यसले रातो हाब्रेको बासस्थानमा नकारात्मक प्रभाव परेको स्थानीयवासीको भनाइ छ ।

नेपालमा पर्यटक रोक्ने भारतीय रणनीति
नेपालमा पर्यटक आउनबाट रोक्ने रणनीतिसहित भारतीय पक्षले सीमामा विवाद सिर्जना गरिरहेको सरोकारवालाको बुझाइ छ ।

“पर्यटकलाई भारतमै होल्ड गराएर राख्ने योजनाअनुसार उनीहरुको रणनीति बनेको छ”, सूचना अधिकारी पौडेलले भने, “भारततर्फ सीमित संरचना र नेपालको तुलनामा कम आकर्षक पर्यटकीय स्थान छन् । हामीले प्रशस्तै संरचना बनाए त सबै नेपाल आइहाल्छन् । यसैले उनीहरुले सीमामा विवाद झिकेका हुन् ।” समितिले निर्माण गर्न लागेको उक्त पदमार्ग १९ दिनको बन्नेछ ।

 

प्रतिक्रिया