लकडाउन : १ खर्ब ६८ अर्बबराबरको क्षति
काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को जोखिमका कारण देशभर लागू भएको बन्दाबन्दी (लकडाउन) का कारण अर्थतन्त्रमा एक खर्ब ६८ अर्ब रुपैयाँबराबरको क्षति पुगेको तथ्यांक नेपाल राष्ट्र बैंकले निकालेको छ।
राष्ट्र बैंकले केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको पछिल्लो अनुमानसँग विभिन्न आर्थिक क्षेत्रको तुलना गर्दै यो तथ्यांक तयार गरेको हो। यसअनुसार लकडाउनका कारण अर्थतन्त्रमा प्रचलित मूल्यमा मापन गरिएको कुल गार्हस्थ्य उत्पादनमा करिव १ खर्ब ६८ अर्ब रुपैयाँबराबरको क्षति भएको प्रारम्भिक अनुमान छ।
कोरोना रोकथामका लागि गरिएको लकडाउनका कारण उद्योगधन्दा न्यून क्षमतामा सञ्चालित छन् भने आपूर्ति शृृंखला प्रभावित छ। ठूला आयोजनाहरुको निर्माण कार्य सुस्त भएको छ। सार्वजनिक यातायात ठप्प छ भने पर्यटन व्यवसाय पूर्ण रुपमा प्रभावित भएको छ।
गत आर्थिक वर्षको तुलनामा आर्थिक वृद्धिमा उल्लेख्य गिरावट आएको अनुमान सम्बद्ध निकायहरुको छ। विगत ३ वर्षमा औसत ७.३ प्रतिशत आर्थिक वृद्धि हासिल भएकोमा आर्थिक वर्ष २०७६–०७७ मा २.२८ प्रतिशतमात्र आर्थिक वृद्धि हुने केन्द्रीय तथ्यांक विभागको अनुमान छ।
कोरोनाको असर सुरु हुनुपूर्व ७ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धि हुन सक्ने प्रक्षेपण गरिएकोमा अर्थतन्त्रमा देखिएको असहज अवस्थाका कारण आर्थिक वृद्धि न्यून रहने देखिएको छ। २०७६ फागुनको तुलनामा चैतमा खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि १.६८ प्रतिशतले बढेको छ। फागुनमा मूल्यवृद्धि ०.६६ प्रतिशतमात्र थियो।
फागुनको तुलनामा चैतमा कुल निर्यात ३.९ प्रतिशतमा सीमित छ। फागुनमा कुल निर्यात ९.९ प्रतिशतले बढेको थियो। गत वर्षको सोही अवधिमा भने निर्यात ८.६ प्रतिशतले बढेको थियो।
त्यस्तै फागुनको तुलनामा चैतमा आयात ५१.६१ प्रतिशतले घटेको छ। नेपाल राष्ट्र बैंकका अनुसार फागुनमा १२० अर्ब ६० करोड रुपैयाँ बराबरको आयात भएकोमा चैतमा ५८ अर्ब ३० करोड रुपैयाँको मात्र भएको छ।
भ्रमण आयमा पनि फागुनको तुलनामा चैतमा ३.५ प्रतिशतले कमी आएको छ। फागुनमा भ्रमण आय ५.१ प्रतिशतले बढेकोमा चैतमा १.६ प्रतिशतले मात्र बढेको छ।
सरकारको राजस्व संकलन र खर्च पनि प्रभावित भएको छ। २०७६ चैतमा निक्षेप संकलन र कर्जा प्रवाह भने सामान्य छ। निक्षेपको भारित औसत व्याजदर सीमान्त घटेको छ भने कर्जाको व्याजदर स्थिर रहेको राष्ट्र बैंकले प्रतिवेदनमा उल्लेख गरेको छ।
प्रतिक्रिया