राहतमा कुहिएको चामल वितरण गरेको गुनासो, फर्मलाई कालो सूचीमा राख्न सिफारिस
कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकामा कुहिएको चामल आपूर्तिकर्ता फर्मलाई कालो सूचीमा राख्न सिफारिस गर्ने निर्णय गरेको छ ।
चामल आपूर्ति गर्ने ठाकुर ट्रेडलिंकलाई कालोसूचीमा राख्ने निर्णय गरेको हो । उपमहानगरभित्र कोरोना भाइरस नियन्त्रण तथा व्यवस्थापनका लागि जारी लकडाउनको समयमा राहत वितरण भइरहेका बेला कुहिएको चामल वितरणको गुनासो आएको थियो ।
कुहिएको चामल राहत दिएको गुनासो आएपछि उपमहानगरले ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो। उप–महानगरपालिकाले गठन गरेको समितिले आपूर्तिकर्ता ठाकुर ट्रेड लिंकलाई कारबाहीको सिफारिस गरेको पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।
उप–महानगरपालिकाबाट दोस्रो चरणको राहत आपूर्ति गर्ने ठेक्का धनगढीमा रहेको ठाकुर ट्रेड लिंकले लिएको थियो। उप–मकानगरका प्रवक्ता सन्तोष मुडभरीका अनुसार वडा नम्बर ५, ४ ,२ , र १ का लागि उपलब्ध गराएको चामलमध्ये २ सय क्वीन्टल गुणस्तरहीन रहेको भेटिएको बताए।
सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा १ को देहाय (ग) बमोजिम कालो सूचीअनुसार आपूर्तिकर्तालाई सुनुवाइको मौका प्रदान गरी कानुन बमोजिम कारबाहीको प्रक्रिया अघि बढाउने निर्णय भएको मुडभरीले जानकारी दिए ।
प्रतिक्रिया