बिहीबार, चैत १५, २०८०

कुमारी ट्रष्टद्वारा एक करोडको मेडिकल उपकरण हस्तान्तरण

नेपालखोज २०७७ जेठ ९ गते १७:४६

सुर्खेत । कुमारी ट्रष्ट काठमाडौँले कर्णाली प्रदेश अस्पतालसहित यहाँका १० जिल्ला अस्पताललाई रु एक करोडको मेडिकल उपकरण हस्तान्तरण गरेको छ ।

ट्रष्टका अध्यक्ष तथा पूर्वसभासद् राजीवविक्रम शाहले आज प्रदेश अस्पतालका निर्देशक डा डम्बर खड्कालाई उक्त बजेट बराबरको मेडिकल उपकरण हस्तान्तरण गरे । हस्तान्तरण कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोभिड–१९ को महामारीका बेला शाहले गरेको सहयोग राज्यका लागि महत्वपूर्ण हुने बताए ।

“अप्ठ्यारो परेका बेलाको सहयोगले ठूलो महत्व र अर्थ राख्दछ”, मुख्यमन्त्री शाहीले भने, “अर्थपूर्ण सहयोग गर्नुभएका पूर्वसभासद् शाहलाई हार्दिक ज्ञापन गर्न चाहान्छु ।” कर्णालीका ८० हजार नागरिक अहिले पनि भारतमा भएका र २०–२५ हजार यतिबेला नै आउन थालेका जनाउँदै उनले भारतबाट आउन सक्ने कोरोना सङ्क्रमणको जोखिमबाट कर्णालीलाई बचाउन सबै एक भएर महामारीको सामना गर्ने अभियानमा जोडिन आग्रह गरे।

शाहले लामो समयदेखि अमेरिकामा बस्दै आएका स्व प्रभाकर राणाकी छोरी माया राणाले पिताको वार्षिक पूण्य तिथिमा समाज सेवामा खर्चिने गरी ट्रष्टलाई आर्थिक सहयोग गरेको र त्यही स्रोतलाई कर्णालीका अस्पताल पूर्वाधारयुक्त बनाउने निर्णय बमोजिम सहयोग गरिएको जनाए।

“कर्णालीको विकट भूगोल र यहाँका नागरिकको स्वास्थ्य अवस्थालाई गम्भीरताका साथ हेरेर अहिले प्रदेश अस्पताललाई रु ७० लाख बराबरको मेडिकल सामग्री हस्तान्तरण गरेका छौँ”, उनले भने, “यहाँका १० जिल्ला अस्पताललाई रु तीन÷तीन लाखका दरले रु ३० लाखगरी यो प्रदेशलाई कूल रु एक करोडको मेडिकल उपकरण हस्तान्तरण गरिएको छ ।”

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान आफैँमा अब्बल भएकाले हाललाई केही सहयोग नभएको यद्यपि केही समयपछि एम्बुलेन्स सहयोग गर्ने उनको भनाइ थियो । अन्य प्रदेशभन्दा कर्णालीले बन्दाबन्दीलाई कडाइका साथ लिएर निकै ठूलो संवेदनशीलता अपनाएको कुराले आफूलाई गौरवान्वित बनाएको शाहले प्रतिक्रिया दिए ।

प्रदेश अस्पताल विकास समितिका सदस्य हरिमाया शर्माले प्रदेश अस्पतालमा भएको अभाव पूर्ति गर्न महत्वपूर्ण सहयोग पुगेको बताए । अस्पतालका निर्देशक डा खड्काले ट्रष्टले प्रदेश अस्पताल सुर्खेतलाई एक भेन्टिलेटरसहित पाँच आइसियु बेड, इसिजी मेसिन, प्यासेन्ट मनिटरलगायतका आवश्यक मेडिकल उपकरण प्राप्त भएको जनाए ।

प्रतिक्रिया