मंगलबार, वैशाख ४, २०८१

सगरमाथा दिवसमा यस्तो देखियो सगरमाथा

नेपालखोज २०७७ जेठ १६ गते १४:२३

सोलुखुम्बु । आज मे २९ अर्थात् अन्तरर्रािष्ट्रय सगरमाथा दिवस । सतसट्ठी वर्ष पहिले आजकै दिन सगरमाथाको शिखरमा मानव पाइला पुगेको सम्झनामा यो दिनलाई सगरमाथा दिवसको रुपमा मनाइन्छ । नेपाल सरकारले सन् २००८ देखि मे २९ लाई अन्तरर्रािष्ट्रय रुपमै यो दिवस मनाउन निर्णय गरेको थियो ।

सन् १९५३ मा नेपालका तेञ्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एडमण्ड हिलारीले पहिलोपटक सगरमाथा आरोहण गरेका थिए । त्यसपछि शुरु भएको आरोहणमा पछिल्ला दुई दशकमा निकै आकर्षण बढेको छ । पर्वतीय पर्यटनको क्षेत्रमा काम गर्नेहरुले यो दिनलाई विशेष रुपमा मनाउने गरिन्छ । सगरमाथाले नेपाललाई विश्वमाझ चिनाइरहेको छ भने मे २९ मानिस र सगरमाथाबीचको सामिप्यता बढाउने दिन हो ।

यो वर्षको वसन्त ऋतुमा सगरमाथा सहित नेपालका सबै हिमालहरु सुनसान बनेका छन् । विगत वर्षमा यो समय आरोहीको भीडभाड तथा चहलपल बाक्लो हुने सगरमाथा क्षेत्रसहितका हिमाल एवं हिमशृङ्खला यो वर्ष भने विश्वभर फैलिएको कोरोना महामारीका कारण सुनसान बनेको छ । कोरोना भाइरस सङ्क्रमणको डरले यात्रा रोकिंदा आरोहीहरु आउन सकेका छैनन् । सरकारले सबै हिमाल आरोहण कार्य यो मौसमका लागि बन्द गरेको छ । सगरमाथा आरोहणका क्रममा अहिलेसम्म विभिन्न कीर्तिमानी कायम भएको छ । आरोहण यात्रा शुरु भएयता अहिलेसम्म करिब १२ हजारभन्दा बढी स्वदेशी तथा विदेशीले सगरमाथा आरोहण गरिसकेका छन् ।

तीन महिना सगरमाथाको आधारशिविर भरिभराउ हुने, त्यस क्षेत्र वरपर सरसफाइ गर्ने लगायतको काम हुने भए पनि अहिले सबै कार्य ठप्प भएको पर्यटन व्यवसायी किताबसिं तामाङको भनाइ छ । विसं २०७२ को महाविनाशकारी भूकम्पले थलिएको आरोहण क्षेत्र क्रमैसँग माथि उठ्दै गएको भए पनि यो वर्ष सुनसान हुने यहाँका पर्यटन व्यवसायीसहित सिङ्गो राज्यलाई नै ठूलो नोक्सानी भएको छ । जसले गर्दा यस क्षेत्रका होटल व्यवसायसमेत धरासायी बनेको नाम्चेका होटल व्यवसायी लामाकाजी शेर्पाको भनाइ छ ।

प्रतिक्रिया