कोरोना : भारतबाट आउने क्रम बढेसँगै जोखिम उच्च
कञ्चनपुर । कञ्चनपुरको नाका हुँदै भारतबाट भित्रिएका नेपालीको कोरोना सङ्क्रमण परीक्षण नगरी बिहीबार सम्बन्धित पालिका पठाइएको छ । परीक्षण विनानै उनीहरूलाई नेपाल प्रवेश गराउँदा कोरोना सङ्क्रमणको जोखिम बढेको छ ।
दुई दिनसम्म भारतबाट यहाँको नाका हुँदै भित्रिएका नागरिकलाई भीमदत्तनगरस्थित बैजनाथ इन्जिनीयरिङ कलेजको क्वारेन्टिनमा राखेर कोरोना सङ्क्रमण परीक्षणपछि मात्रै सम्बन्धित पालिकाको जिम्मा लगाउने गरिएको थियो ।
सीमामा अलपत्र यात्रुको चाप बढेसँगै यहाँको क्वारेन्टिनमा जम्मा गरेर स्वास्थ्य परीक्षण नै नगरी ४२९ जनालाई सम्बन्धित पालिकामा पठाइएको छ । सम्बन्धित पालिकासितको समन्वय हुन नसक्दा १७ जना भने क्वारेन्टिनमै छन् । प्रहरीले बुधबार पनि ४०० भन्दा बढी नागरिकलाई यहाँबाट पठाएको थियो । वडा प्रहरी कार्यालय भीमदत्तनगरका प्रमुख प्रहरी निरीक्षक मोहनजङ्ग बुढथापाले भारतबाट आएका गोरखा, काठमाडौँ, सिन्धुपाल्चोक, रामेछाप र दैलेखलगायत जिल्लाका नागरिकलाई सम्बन्धित पालिकाको क्वारेन्टिनमा बस्ने गरी पठाइएको जानकारी दिए ।
कोभिड–१९ कञ्चनपुरका सम्पर्क व्यक्ति सिद्धराज भट्टले जनशक्ति अभाव र आरडिटी परीक्षणका लागि किटको समेत अभाव रहेको बताए । “पालिका र जिल्लामा गरी आरडिटी गर्न हामीसित ४०० थानमात्रै किट मौज्दात छ”, उनले भने, “हामीसित जनशक्ति छैन, सीमाबाट सुरक्षा निकायले ल्याउँछन्, परीक्षण गर्न आग्रह गरेर मात्रै गर्ने गरिएको छ ।” उनले भारतबाट आउने नेपालीलाई बिहीबारसम्म आरडिटी जाँचपछि मात्रै सम्बन्धित पालिकामा पठाउने काम भएको बताए । “हिजोमात्रै हामीले १३९ जनाको आरडिटी जाँच गरेका थियौँ”, उनले भने, “अहिलेसम्म कञ्चनपुरमा दुई हजार ६९७ जनाको आरडिटी परीक्षण गरिएको छ ।”
कोरोना परीक्षण नगरी भारतबाट आएका नागरिकलाई पठाउँदा कोरोनाको सङ्क्रमण जोखिम बढेको छ । सुदूरपश्चिमको प्रमुख नाका गड्डाचौकी र दोधारा चाँदनीदेखि ब्रह्मदेव क्षेत्रबाट अवैधरुपमा भित्रिने क्रम बढेको हो । दशगजामा अलपत्र अवस्थामा रहेका नेपालीलाई दोधारा चाँदनीको महाकाली नगरपालिकाले खानपिनको व्यवस्थासमेत गर्दै आएको छ । केही समययता सुदूरपश्चिम नाकाबाट भारतबाट घर फर्किनेको क्रम ह्वात्तै बढेको छ । यसअघि गत चैतमा सुदूरपश्चिममा भारतबाट मात्रै एक लाख ४३ हजार नागरिक घर फर्किएका थिए ।

प्रतिक्रिया