लकडाउनका बेला दशगजा मिचेर बाँध बनाउँदै भारत
काठमाडौँ । रौतहट जिल्लाको ईशानाथ नगरपालिका– १ बन्जरहा नजिक दशगजा मिचेर भारतले बाँध बनाउन सुरु गरेको छ।
नेपाल–भारत सीमामा लालबकैया नदीलाई छेक्न भारतीय पक्षबाट बाँध बाध्न सुरु भएको ईशनाथ नगरपालिकाका मेयर संतोष मेहताले जानकारी दिए।
उनले भने, ‘बाँध पहिले पनि थियो। तर, त्यसलाई करिब ७र८ फिट उत्तरतर्फ सारेर अग्लो बनाईंदैछ।’
बाँध निर्माण कार्यको स्थानीयस्तरमा विरोध भए पनि तत्कालै कुटनीतिक पहल गरी बाँध निर्माण रोक्न उनले माग गरेका छन्।’
यसअघि प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र स्थानीय जनप्रतिनिधिहरुको संयुक्त टोलीले भारतीय पक्षसँग कुराकानी गरेर बाँध निर्माण कार्य रोकाएको थियो। तर, अहिले लकडाउनका बेला भारतले पुनः बाँध निर्माण सुरु गरेको उनले बताए।
लालबकैया नदीको करिब एक किलोमिटर क्षेत्रमा भारतीय पक्षले बनाउन थालेको यो बाँधका कारण रौतहट क्षेत्र थप डुबानमा पर्ने मेयर मेहताको भनाई छ। उनका अनुसार सोमबार साँझ पुनः प्रमुख जिल्ला अधिकारीसहितको टोलीले त्यस क्षेत्रको अनुगमन गर्ने तयारीमा छ।
रौतहटबाट सांसद एवं नेकपा नेता प्रभु साहले भारतले बनाइरहेको बाँधको विरोध गरेका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ कोरोना महामारीको महासंकट र लकडाउनको संवेदनशील जटिलताबाट गुज्रिरहेको समयमा भारतीय पक्षले एकलौटी नेपाल९भारत सीमा क्षेत्रमा रहेको रौतहटको ईशनाथ नगरपालिका वडा नंबर १ बन्जरहामा रातारात पानीको बहाब समेत अवरुद्ध हुने गरी दशगजा क्षेत्रमा सडकको नाममा मजबूत बाँध बनाई रहेको घटनाप्रति सिंगो मुलुकको गम्भीर ध्यानाकर्षण हुन जरूरी छ । तसर्थ, यहाँ भारतीय पक्षद्वारा अवैधानिक एवं अमानवीय ढंगले एकलौटी रुपमा भईरहेको निर्माण कार्यलाई तुरुन्त रोक्न तथा यी र यस्ता गम्भीर चुनौतीपूर्ण विषयहरुलाई तत्काल उच्च स्तरको कुटनीतिक पहल मार्फ़त समाधान गर्न सम्बन्धित सबै पक्षहरुसंग जोडदार माग गर्दछु।
यसैबीच भारतीय पक्षले रुपन्देहीको रोहिणी गाउँपालिकाको सीमा क्षेत्रमा पनि दशगजा क्षेत्रमा सडकका नाममा बाँध निर्माण गरिरहेको छ। दशगजा क्षेत्र मिचेर नेपाली भूभाग डुब्ने गरी सडक बनाउन लागिएको भन्दै स्थानीयले आपत्ति प्रकट गरेका छन्।

प्रतिक्रिया