बिहीबार, वैशाख १३, २०८१

नेकपा सचिवालयले एमसीसीबारे निर्णय गर्न सकेन

नेपालखोज २०७७ जेठ १७ गते १३:३४

काठमाडौँ । संसदमा विचाराधीन एमसीसी परियोजनाबारे निर्णय गर्न बसेको सत्तारुढ दल नेकपाको सचिवालय बैठक निर्णय नगरी सकिएको छ।

प्रधानमन्त्री केपी ओलीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा एमसीसीबारे लामै छलफल भए पनि निर्णय भने भएन।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले एमसीसीको बारेमा सचिवालयमा व्यापक छलफल गरी पछि निर्णय गरिने बताएका छन्।

संसदमा दर्ता भएको तर पारित नभइसकेको उक्त परियोजना आगामी आवको बजेटमा समावेश भएको भन्दै नेकपाभित्र असन्तुष्टि बढेको छ।

आजको सचिवालय बैठकमा अर्थमन्त्री युवराज खतिवडा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्थायी कमिटी सदस्य भीम रावल पनि सहभागी थिए।

एमसीसीबारे अध्ययन गर्न यसअघि नेकपाले सचिवालय सदस्य झलनाथ खनालको संयोजकत्वमा स्थायी कमिटी सदस्यहरू रावल र ज्ञवाली सम्मिलित कार्यदल पनि बनाएको थियो।

गत माघमा गठित उक्त कार्यदलले यथास्थितिमा एमसिसी पारित गर्न नहुने सुझाव दिएको थियो। सरकारले संसदको यो अधिवेशनमा एमसिसी पारित गर्ने तयारी गरेको छ।

प्रतिक्रिया