मंगलबार, वैशाख ११, २०८१

अभिनेत्री कोइराला नेपालमा

नेपालखोज २०७७ जेठ २१ गते १४:२६

काठमाण्डौं । नेपाल भारत सीमा विवादबारे नेपाली राष्ट्रियताका पक्षमा सामाजिक सञ्जाल ट्वीटरमा दिएको अभिव्यक्तिले नेपालमा वाहवाही र भारतमा विवादित बनेकी नायिका मनीषा कोइराला यतिबेला स्वदेश फर्किएकी छन् ।

नायिका कोइराला मङ्गलबार रुपन्देहीको सीमा नाका भैरहवाको बेलहियाबाट नेपाल प्रवेश गरेकी हुन् । सपरिवारका साथ बेलहिया नाकाबाट स्वदेश प्रवेश गरेपछि उनी काठमाण्डौ प्रस्थान गर्ने बताइएको छ । उनीसँगै निजी गाडीमा परिवारका सदस्यसमेत रहेको बताइएको छ ।

भारतीय भूमिबाट नेपाल प्रवेश गर्नु पहिले सीमामा स्वास्थ्यकर्मीले अभिनेत्री कोइराला र उनका परिवारको स्वास्थ्य परीक्षण गरेका थिए । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले भने, ‘उहाँ बेलहिया नाकाबाट नेपाल आउनुभएको जानकारी पाएको हुँ तर कहाँ बस्नुभएको छ भन्ने जानकारी छैन ।’

नेपाली सेना पश्चिम पृतनाका प्रवक्ता प्रेम थापाले सेनालाई अभिनेत्री कोइरालासहितको परिवारको आगमन विषयमा कुनै जानकारी नभएको तर उहाँहरु काठमाण्डौ प्रस्थान गरेको सूचना भने पाएको जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले पनि कोइराला परिवार नेपाल प्रवेश गरेको पुष्टि गरेँ ।

प्रतिक्रिया