सुदूरपश्चिम नाकाबाट १८ दिनको अवधिमा करिब ७५ हजार नेपाली नेपाल भित्रिए

नेपालखोज २०७७ जेठ २२ गते ८:०२

काठमाडौं । कामका लागि भारतका विभिन्न शहर गएका र लामो लकडाउनले खान र बासको समस्या भई अलपत्र परेका नेपाली तथा भारतीयलाई आफ्नो देश जानआउन सहजताका लागि खुल्ला गरिएका सुदूरपश्चिमका मुख्य दुई नाकाबाट मंगलबार तीन हजार ५६७ जना नेपाली नागरिक नेपाल भित्रिएका छन् ।

एक हजार बढी भारतीय नागरिक आफ्नो देश फिर्ता गएका छन् । सुदूरपश्चिम प्रहरी कार्यालय, दिपायलका प्रहरी निरीक्षक जगदीश सिंह डाँगीका अनुसार मङ्गलबार साँझसम्म कञ्चनपुरको गड्डाचौकी नाकाबाट एक हजार ५७६ नेपाली भित्रिएका छन् भने ३७९ भारतीय नागरिक आफ्नो देश फिर्ता गएका छन् ।

त्यसैगरी, कैलालीको गौरीफन्टा नाकाबाट दुइ हजार १५९ नेपाली भित्रिएका छन् भने ६७१ भारतीय बाहिरिएका छन् । भारतबाट नेपाली आउने क्रम मङ्गलबार केही कम भए पनि भारत जानेको सङ्ख्या भने बढेको छ । योसँगै सुदूरपश्चिम प्रदेशका विभिन्न नाका भएर जेठ २ गतेयता नेपाल भित्रिने नेपालीको सङ्ख्या करिब ७५ हजार पुगेकोछ भने बाहिरिनेको सङ्ख्या दश हजार बढी पुगेको छ ।

सीमा प्रवेश गरेका नेपालीलाई विभिन्न जिल्लाका स्थानीय तहले सीमामै गाडी व्यवस्था गरी उद्धार गरी क्वारेन्टाइनमा राखेका छन् । भारतबाट दैनिक मानिस थपिँदै गएपछि स्थानीय तहले क्वारेन्टाइन व्यवस्थापनमा समस्या भएको बताएका छन् ।

गौरीगङ्गा नगरपालिकाका प्रमुख भीमबहादुर देउवाले क्वारेन्टाइन व्यवस्थापन को समस्यासँगै कोरोना सङ्क्रमित दैनिक देखिन थालेपछि आइसोलेसन व्यवस्थापनमा समेत समस्या आएको बताए । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया