बिहीबार, असार १२, २०८२

यस्तो रहनेछ अबको मौसम

नेपालखोज २०७७ जेठ ३१ गते १३:२७

काठमाडौँ । दुई दिन ढिलो गरेर नेपालमा शुक्रबार मनसुन भित्रिएिको छ । सामान्यतयाः जुन १० मा नेपालको पूर्वी भू–भागमा प्रवेश गर्ने मनसुन यसपटक २ दिन ढिला गरी १२ जुनमा प्रवेश गरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन प्रवेश गरेसँगै इलाम, पाँचथर, तेह्रथुम, ताप्लेजुङलगायतका पूर्वी पहाडी जिल्लामा वर्षा हुन थालेको छ ।

देशैभर मनसुन सक्रिय हुन भने अझै समय लाग्ने महाशाखाका मौसमविद् राजु प्रधानाङंगले नेपाल समयलाई जानकारी दिए । उनका अनुसार अबको ७/८ दिनमा देशैभर मनसुन सक्रिय हुनेछ ।

यो वर्षको मनसुनमा औसत वर्षा हुने मौसम विभागले प्रक्षेपण गरेको छ । दक्षिण एशियाली जलवायु दृष्टिकोण मञ्च ‘सास्कोप’ ले नेपालसहित समग्र दक्षिण एशियाको मनसुन विश्लेषण गर्दा मनसुनमा मुलुकभर औसत वर्षा हुने प्रक्षेपण गरिएको हो ।

अङ्ग्रेजी महिनाको जुन, जुलाई, अगष्ट र सेप्टेम्बरमा नेपालसहित दक्षिण एशियाका लागि मनसुन अवधि मानिन्छ।

सो चार महिनाको अवधिमा नेपालमा वार्षिक वर्षाको ८० प्रतिशतको हाराहारीमा पानी पर्ने गर्छ । मनसुन अवधिमा मुलुकको औसत वर्षाको मात्र एक हजार ४९६ दशमलव सात मिलिमिटर र काठमाडौँको वार्षिक औसत वर्षा एक हजार ४५४ दशमलव आठ मिलिमिटर हो।

यो वर्ष मनसुनमा कम वर्षा हुने भन्दैमा बाढीपहिरो जस्ता प्राकृतिक प्रकोपको जोखिम कम नहुने भएकाले सतर्क रहन महाशाखाले अपिल गरेको छ । २/४ घण्टा परेको मुसलधारे पानीले ठूलो विपत्ति निम्त्याउन सक्ने भएकाले सजग हुनु जरुरी छ ।

मौसम पूर्वानुमान महाशाखा अनुसार स्थानीय वायु, पश्चिमी वायु, पूर्व–पश्चिम बनेको न्युन चापीय रेखा र बंगालको खाडीमा रहेको निम्न चापीय प्रणालीका कारण आज देशका केही स्थानहरुमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आइतबार र सोमबार पनि देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया